• २०८१ माघ २७ आइतबार

किन ?

म्यामराज राई

म्यामराज राई

विश्वमा फूलहरूको सम्मेलन हुने मिति तय भयो । विभिन्न देशका राष्ट्रिय फूलहरूको सौन्दर्यले सभाहल मग मगायो । एउटा बेग्लै छटा बन्यो ।
अन्तरर्राष्ट्रिय स्तरमा आफू राष्ट्रिय फूलको नाताले आफ्नो देशको प्रतिनिधित्व गर्न पाउँदा आ-आफ्नो देशप्रति गर्व गरे । सबै दङ्ग थिए । सहभागीहरू मध्ये जापानी साकुरा र नेपाली लालीगुराँस केही निकट भए । उनीहरूको फुल्ने याम एउटै । बसाइ लहरै थियो । काने खुशी गर्न थाले ।
“कति राम्री छ्यौ ! ऋतुराज वसन्तको आगमनमा फुल्छ्यौ ।” साकुराले लालीगुराँसलाई फुर्काई ।

“तिमीमा पनि कम सुन्दरता चाहिं छैन । सार्वजनिक पार्कहरूमा ढकमक्क वैंशालु जवानीसँंगै वसन्तलाई स्वागत तथा बिदाई गर्न समेत भ्याउँछ्यौ । सबै जापानीले देख्न पाउँंछन् । तिम्रो नाममा हानामी (साकुरा फुलेको बगैंचा वा पार्कमा हेर्न जानु) समय छुट्याउँछन् । फोटो खिच्छन् । माया गर्छन् ।” लालीगुराँसले आफूलाई पनि आफ्ना देशबासीले यसैगरे हुन्थ्यो भन्ने आशयमा साकुरालाई भाग्यमानी ठहर्याई ।

साकुराले राष्ट्रिय फूल भएपछि त्यो त सामान्य कुरा सोची । फेरि आफू गलत हो कि लागेर प्रतिप्रश्न तुरुन्त गरी, “अँ… त्यो त हो । साँच्चै ! तिम्रो देशमा पार्कहरू छैनन् र ? किन जङ्गल र भिरमा मात्र फुल्छ्यौ ?”
लालीगुराँसले मुटुमाथि ढुङ्गा राखी मुख खोली, “पार्कहरू भएर के गर्नु ?मलाई भेट्ने बित्तिकै कान बटार्दिन्छन् । हात खुट्टा भाँचि दिन्छन् । मुन्टो निमोठ्छन् । भाग्दा भाग्दै त्यहाँ पुगें । तर जहाँ पुगे पनि मेरा देशकाले भेटे, मलाई छोड्दैनन् ।”

लालीगुराँस थप बोल्दा बोल्दै भक्कानिई,” फुल्न छोडौं, वसन्तले जिस्काइ हाल्छ । फुलौं, मानव आकृतिका दानवहरूले मेरो वैंशमै हत्या गर्छन् ।”


म्यामराज राई, भोजपुर, हाल, जापान
[email protected]