• २०८१ असोज २४ बिहीबार

आँखाहरू…

रस्मिला कवाङ 'रश्मि'

रस्मिला कवाङ 'रश्मि'

सपना नदेख्ने को होला र ?
मनभरि रहर फुलाउँदै
हिँडेका थिए अविरल यात्रामा
विश्राम गर्न चाहदैनन्
गन्तव्य अझै टाढा छ
भाग्यका रेखाहरू
खोज्दैछन् हत्केलामा
मनमा दुखाइ बोक्दै
हारजितसँग जुहारी खेल्दैछन्
तर,
अहं आशाहरू मर्दैनन्
आँट डगमगाउँदैन
अझै जीवित छन्
कष्टभित्र डढेका
ती अनुहारहरू
गहिरिएर त हेर !
आँसु मात्र छैनन्
ती एकजोर आँखाहरूमा !

ऐनामा हेर्दा होस्
या त आफैँलाई
अनुहारका चाउरिपन हेर्छन्
मिलेका आँखीभौँ
ओठका लालीहरू हेर्छन्
केशका रङहरू नियाल्छन्
खै त नि ती आँखाहरू ?
जसले हेर्न सक्छन्
सङ्घर्षका कथाहरू
लडेका सिँढीहरू
बिझेका शब्दहरू
हत्केलाका फुटेका रेखाहरू
गुमेका विश्वासहरू !

अस्त- व्यस्त यो समयमा
अनगिन्ती छन्
दृश्यहरू
परिकल्पनाहरू
भविष्यहरू
बाटाहरू
अनि हेर्ने आँखाहरू
अफसोच !
दृश्यविहीन छन्
अन्यायविरूद्ध लड्नेहरूका
बुलन्द आवाजहरू
स्वतन्त्रताका पङ्खहरू
भौतिकवादभित्र रुमल्लिएका छन्
आधुनिक हेराइहरू
कति आँखाहरू त
चस्माका पर्दाभित्र छन्

हेर्नकै लागि मात्र हेर्ने
देख्नकै लागि मात्र देख्ने
अहं,
त्यस्तो नजर हुनु हुँदैन
हेरेपछि देख्नुपर्छ
देखेपछि बोल्नुपर्छ
अनि मात्र छरपस्ट हुन्छ
आँखाहरूका भाका
आँसुका मोलहरू
साँच्चै !
नहेरीकनै देखेका
पात्रहरू, परिवेशहरू
सपनाहरू, भविष्यहरू
अनि अनुहारहरू
मनको आकाशमा अट्नुपर्छ
आँखा र मनको धरातल
उस्तैउस्तै हुनुपर्छ
किनभने,
दृश्यहरू आँखामा बस्छन्
त्यसैले,
आँखाले झुट अनि जालझेल
अविश्वासहरूबीच पनि
स्पस्ट छायाँ देख्नुपर्छ
देखेपछि झनै नियाल्नुपर्छ।


रस्मिला कवाङ ‘रश्मि’
[email protected]