के हो सत्य भनेर आज मनमा आयो कडा प्रश्न यो
के हो धर्म अधर्म पाप ननिको चिन्ता बिहानै भयो
मान्छे नै अवतार सार रचना मान्छे सबै देवता
मान्छेको भ्रम एक हुन्छ मनमा जान्दैन ऊ सत्यता
मान्छेमा करुणा दया मनुजता आए धरा स्वर्ग हो
मान्छेमा ममता बढी सरलता पाए सबै दुःख गो
ब्रह्मा मानिस हो अनेक मसिहा अल्लाह हो राम हो
मान्छे बुद्ध विशुद्ध मन्दिर बुझौँ आकाशको घाम हो
मान्छे मस्जिद हो खुदा हरि शशी मान्छे बुझे चर्च हो
मान्छे नानक हो कथा गजल हो पैसा उही खर्च हो
को हो आस्तिक ? जो बनेर सविता चम्किन्छ कल्याणमा
मान्छेको हितमा झरेर पसिना लम्किन्छ ऊ लोकमा
प्रेमी प्रेम गरेर पुग्छ झुपडी कल्याणकारी बनी
खोली नैन हिसाब गर्छ हितमा कर्तव्य मेरो भनी
मान्छे चेत खुले रमे भुवनमा दाता विधाता उही
मान्छेको उपकार धर्म बुझियो अध्यात्म मान्छे दुई
सारा स्रोत लगाउनू मुलुकको निर्माणमा चेतको
खोली चक्षु बुझेर सार भवको विज्ञानको खेतको
सच्चा नास्तिक हुन्छ आज घरमा संस्कार विज्ञानले
मान्छे बुद्ध हुनेछ कर्म गतिलो अभ्यासले ध्यानले !
धनराज गिरी
[email protected]