• २०८१ माघ ११ शुक्रबार

बुटपालिस

शैलेन्द्र साकार

शैलेन्द्र साकार

बिहान झ्यालबाट रमाइलो सूर्य हेर्न अभ्यस्त आँखामा
कालो सूर्य उदाएको छ
हामीले सडकभरि, सडकहरूमाथि सम्पूर्ण घरका भित्ताहरूमा
आफ्नो कायरतालाई संस्कृतिको मकुन्डो छोपेर हिँडिरहेको
यो इतिहास- प्रिय भीडमाथि
जताततै हस्ताक्षर गरेका छौँ ।
मान्छेहरूले यो बिर्सने छैनन्
कोही हामीसित छ ।
काठमाडौँको अल्छे- अपराधी मुर्दा- बिहानमा
उसकै आफ्नो आलो चिहानमाथि
कुनै चुपचाप, निर्दोष, सग्ला औँलाहरूले
कोपरेर उठाएको छ एउटा सम्पूर्ण सहर ।
एउटा तिख्खर कालो छायाँ तन्किएर परसम्म फैलिरहेछ ।
मलाई अरू केही भन्नु छैन, मान्छेहरूले सम्झने छन्
देशको बृहत् स्वार्थको सामुन्ने
आफ्नो भोक, गरिबी, बेकारी र असमानताका
सा-साना प्रश्नहरू उठाउने यो पुस्ताले
आज सही कविताको थालनी गरेको छ ।

सहरभरि एउटा बौलाहा हात्ती हिँडिरहेछ ।
ऊ बोल्न सकिरहेको छैन आफूलाई मन पर्ने कुनै फूलको नाम
ऊ गाउन सक्तैन मन परेको कुनै गीतको टुक्रा
हेर्न सक्तैन टाउको उठाएर आकाश ।
गुनगुन मात्र गर्छ, भयले काम्दो हात उठाएर
स्वस्ति मात्र गर्छ,
ऊ कतै गएर भन्न सक्तैन
आफूले देखेको कुरा
मान्छेहरूले यसलाई शान्तिभङ्गको आरोप लगाउने छन् ।
सहरभित्र एउटा बौलाहा हात्ती घुमिरहेछ ।


शैलेन्द्र साकार