निहुरिएर उमेर काटिरहेकी छे
र हात लागेको छ
एकमुठ्ठी हरियो घाँस ।
बेखबर छे, आफ्नो रुप
आधाशीर उचालेर
बाहिर आउन खोज्छन् छातीहरु
निधारको पसिना तप्प तप्त खसिरहन्छ
जसरी खस्छन् उसका रहरहरु भुइँमा ।
उखेलिएर घाँसको जरा
जब अलिकति माटो मुखमा पर्छ
थुक्छे पर्तिर जीवन नमीठो भोग्नुको स्वाद,
उभिएर कम्मरमा हात राख्छे
माथि रुखतिर हेर्छे
चराहरु उड्छन् र खिस्स हाँस्छे,
कुइनो कम्मरमै राखेर
हँसियाको धारसँग फुटेका औंलाहरु मिलाउँछे ।
घामसँग बोल्छे सँङ्गिनीसँग बोलेजस्तो ।
खै के सम्झन्छे
पढ्न नजानेको उसको जीवनको पुस्तक
आफ्ना पहेंला दात या ऐना नहेरेको अनुहार
सुन्न नभ्याएको गीत
कि औधी दुख्न थालेको कम्मरको औषधी ?
हतारिन्छे एकाएक
घाँस बटारेर डोरी बनाउँछे
मुठा पार्छे जिन्दगीको एकदिन,
बच्चालाई काँधमा राखेजस्तो
मायाले घाँसका मुठा उठाउँछे र कुद्छे ।
किन कुदेकी हो त्यसरी
पक्कै सम्झी होली
स्कुलबाट फर्किएका नानीहरुको भोक
ढिलो गरेको निहुँमा
लोग्नेको अनुहारमा फुल्ने कालो गुलाफ
या गाइको खोविल्टे भुँडी ।
यो घाँसयात्राले बाटो तय गर्छ
घर, बारी र मन्दिरसम्मको
धर्मले कमाएकी छे
घाँसै घाँसको टाउको र हरिया खुशीहरु ।
ज्योति जङ्गल (जङ्गल चर्चित साहित्यकार हुन् ।)
[email protected]