• २०७९ असोज २० बिहीबार

ताराबाजी लै लै…

रमण घिमिरे

रमण घिमिरे

नाटक सुरु हुँदा थोरै द्विविधा हुन्छ । किशोर- किशोरीहरू बच्चाले गर्ने हाउभाउ गरिरहेका हुन्छन्, एकदमै केटाकेटी । त्यस वेला लाग्छ- कतै यी सबै सुस्त मनस्थितिका त होइनन् ? तर मञ्चनको गति अघि बढ्दै जान्छ र यो रहस्य खुल्छ । रबोध हुन्छ- यी सुस्त मनस्थितिका होइनन्, विलक्षण अभिनय गर्ने रङ्कर्मी हुन् ।

कुञ्ज नाटकघरमा चलिरहेको आरोहण गुरुकुलको नाटक ‘ताराबाजी लै लै…’ को प्रसङ्ग हो यो । नाटक दुई उमेर समूहबीच विभक्त छ । अभिनेता र शिक्षिका उही हुन् । तर प्राथमिक तह र निम्न माध्यमिक तहमा पढ्ने- पढाउने उही विद्यार्थी र शिक्षिकाद्वारा नाटकको कथावस्तु अघि बढ्छ ।

नाटक हेरिरहँदा सायद सबैलाई एउटा कुराले समान अनुभूति हुन्छ- त्यो के हो भने आफूले छोडेर आएको विद्यालय र त्यहाँ विद्यार्थीले गर्ने चकचके गतिविधि । नाटकले अधिकांशलाई अतीतमा पुर्याउँछ । निर्देशक भन्छन्- ‘यहाँ हामी आफ्नै जीवनका कुरा भन्छौँ । त्यसैले केही कथाहरू विद्यालय जीवनका हुनु स्वाभाविक हो । त्यो जीवनको महत्त्वपूर्ण समय हो । त्यसपछि हामी बच्चाबाट अलि हुर्किन्छौँ, रमाइला खेल छोडेर गम्भीर हुनथाल्छौँ, स्वतन्त्रता छुट्न थाल्छ र हामी नियम- कानुनबाट, अपेक्षाबाट बाँधिन थाल्छौँ । अनि मित्रता सुरु हुन्छ, जुन हामी बाँचुञ्जेल रहन सक्छ । …हामी सबै यी कालखण्डहरू भोगेर आएका हौँ ।’

प्रसिद्ध नर्वेली निर्देशक एवम् अभिनय शिक्षक स्व. मोर्टन क्रोगले यस नाटकको पहिलो प्रदर्शनीमा भनेको कुरा हुन् यी । १६ वर्षअघि उनले भनेको कुरा आज पनि यथावत् छ र युगौँअघि पनि यस्तै थियो । हामी सानो छँदा यस्ता ससाना क्षणहरू आइरहन्छन् विद्यार्थीकालमा । अल्लारे बदमासी, प्रेम, सानातिना कुलतहरूलाई पार गर्दै विद्यालयबाट उच्चविद्यालयमा जाँँदा हाम्रो बुद्धि, सोचाइ र दृष्टिकोणमा धेरै परिर्वतन भइसकेको हुन्छ । तर हामीले विद्यालयमा छँदा अनजानमा गरेका क्रियाकलापहरूलाई समीक्षा गर्यो भने, ती हाम्रा मार्गदर्शन पनि बन्न सक्छन् र जीवनयात्राको गतिलो पाठ पनि ।

नाटक हेर्दै गर्दा त्यस समय आफूले गरेका उपद्रो मात्र होइन, शिक्षकका स्वभाव र पढाउने (राम्रो–नराम्रो) शैली, सहपाठीहरूसँगको मित्रता सिनेमाको रिलजस्तो घुमिरहन्छ ।

यो एक अलिखित नाटक हो । रङ्गमञ्च प्रशिक्षणका क्रममा बुनिएका घटना र संवाद हुन् । अलिखित नाटक यति सशक्त र मनोरञ्जक हुन्छ भन्ने कुराको ‘ताराबाजी लै लै…’ एउटा उदाहरण हो ।

नाटकका बारेमा भनिएको छ- केटाकेटीबाट हुर्किने क्रममा हामीले भोगेका क्षण र हामीवरिपरिका घटनाहरू यस नाटकमा समाविष्ट छन् । …हाम्रा कलाकारहरूले आफ्नो जीवनका क्षणहरू यस नाटकमा फरक शैलीमा प्रस्तुत गरेका छन् ।

यसबाहेक यस नाटकमा आवद्ध अभिनेता- अभिनेत्रीले जुन अभिनय गरेका छन्- यो आफैँमा प्रशंसनीय कार्य हो । दुई फरकफरक उमेर र बौद्धिक समूहको अभिनय उही विद्यार्थी र शिक्षिकाले गर्नु आफैँमा चुनौतीपूर्ण कार्य हो । सबै कलाकारले यो चुनौती पूरा गरेका छन् ।

खालि केही कुरा आम सिनेमाहरूमा जस्तै नाटकमा गरिहाल्नु उचित नहोला कि जस्तो लाग्छ । जस्तो: चुरोट र रक्सी खाएको दृश्य या दुवै खल्तीमा हात हालेर गन्दा औँलाहरू एघार हुन्छन् भन्ने संवादमा आएको कुरा । हो यस्ता प्रसङ्गहरू विद्यालय र बाहिर पनि यस उमेरमा हुन्छन् । तर सबै कुराहरू नाटकमा राख्नु ? सायद आवश्यक हुँदैन ।


रमण घिमिरे
[email protected]


खुसीको रहस्य

मायाको छायाँमा

याद

ब्रह्मनिष्ठा