• २०८१ माघ ९ बुधबार

थारु भाषासाहित्य र संस्कृतिको प्रवद्र्धन गरिने

काठमाडौँ/१७ पुस २०७८

१० बुँदे घोषणापत्र जारी गर्दै छैठौँ राष्ट्रिय थारू साहित्य सम्मेलन कैलालीमा सम्पन्न भएको छ । कैलालीको कृष्णपुर नगरपालिका–५ सिंहपुरमा फागुन १२ देखि १४ गतेसम्म सञ्चालित सम्मेलनमा थारू भाषा, साहित्य, संस्कृतिको विकासका लागि थारू साहित्यिक सङ्घसंस्था, भाषाप्रेमी, लेखक, प्रकाशक, सम्पादकको सहकार्य गतिविधि गर्ने प्रतिबद्धता जनाइएको छ ।

साथै थारू मातृभाषामा पठनपाठन कार्यान्वयनका लागि थारूबाहुल्य पालिकाका विद्यालयमा पठनपाठनका लागि सहकार्य गर्ने, थारू लोकसाहित्य तथा लोकसंस्कृतिको संरक्षण र प्रवद्र्धनसँगै दस्तावेजीकरणका लागि कार्य अगाडि बढाउने, आख्यान विधाका स्रष्टालाई आकर्षित गर्ने कार्यक्रम सञ्चालन गरिने भएको छ ।

थारू लेखक सङ्घ नेपाल, थारू कल्याणकारिणी सभा कञ्चनपुरको आयोजना, सिंहपुर युवा क्लब, गोचाली परिवार कञ्चनपुरको सहआयोजना, कृष्णपुर नगरपालिका तथा सोही पालिकाको ५ र ६ नं. वडा एवं एआईपीपीको सहकार्यमा भएको तीन दिने कार्यक्रममा करिब २ सयभन्दा बढी थारू साहित्यकारहरूको जमघट थियो ।

थारू लेखक सङ्घ नेपालद्वारा स्थापित थारू भाषा र साहित्यको क्षेत्रमा महत्त्वपूर्ण योगदान दिने स्रष्टालाई सम्मान र पुरस्कारका लागि अक्षयकोष रकम बढाउने सम्मेलनले निर्णय गरेको छ । थारू भाषाको विकासका लागि आफ्नो भाषा बोल्ने, लेख्ने र छाप्ने, छपाउने काममा आएको तीव्रतालाई निरन्तरता दिने र सिर्जनशील लेखनलाई प्रोत्साहन गरिने घोषणापत्रमा उल्लेख छ ।

थरुहट क्षेत्रका प्रत्येक पालिकालाई थारू भाषा, साहित्य र संस्कृतिको संरक्षण, विकासका लागि बजेट विनियोजन गर्न लगाउनका लागि दबाब दिने, साहित्य सम्मेलनको स्मारिका प्रकाशित गर्ने निर्णय गरिएको छ । साथै आगामी सातौँ राष्ट्रिय थारू साहित्य सम्मेलनको आयोजना बाँके जिल्लामा २०७९ फागुनमा गरिने जानकारी थारू लेखक सङ्घ नेपालका केन्द्रीय अध्यक्ष डा कृष्णराज सर्वहारीले दिए ।