• २०८१ बैशाख ४ मङ्गलबार

सपनाको गजलसङ्ग्रह ‘जीवनको रहस्य’ सार्वजनिक

काठमाडौँ, १२ फागुन, २०७८

युवा गजलकार सपना न्यौपानेद्वारा लिखित ‘जीवनको रहस्य’ गजलसङ्ग्रह बुधबार सार्वजनिक गरिएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा विशिष्ट व्यक्तिहरूले न्यौपानेको गजलकारिताबारे विशेष चर्चा गरेका थिए । न्यौपानेको ‘जीवनको रहस्य’ पहिलो कृति हो ।

कार्यक्रममा गजलकार वियोगी बुढाथोकी, डा. रामप्रसाद दाहाल, उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवाली, रोशन थापा, सन्ध्या पहाडी, राजेन्द्र केसी र सुभद्रा न्यौपानेले संयुक्तरूपमा गजलसङ्ग्रह ‘जीवनको रहस्य’ को विमोचन गरेका थिए । ग्लोबल प्रिन्ट कनेक्सनले बजारमा ल्याएको यस सङ्ग्रहको प्रकाशक सुभद्रा न्यौपाने हुन् ।

सन्ध्या पहाडीको अध्यक्षता तथा वियोगी बुढाथोकीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा ज्ञाननिष्ठ ज्ञवालीले पुस्तकको समीक्षा गरेका थिए ।