• २०८१ चैत १२ बुधबार

अनेसासका पुरस्कारहरू प्रदान

काठमाडौँ  १० फागुन, २०७८

अनेसास (अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज) बोर्ड अफ ट्रस्टी पुरस्कार समितिले आयोजना गरेको सर्वोत्कृष्ट पुस्तक पुरस्कार- २०२१ वितरण कार्यक्रममा ११ जना सर्जकहरू पुरस्कृत भएका छन् । अनेसासले सन् २००३ देखि हरेक दुई-दुई वर्षमा प्रदान गर्दै आएका यी पुरस्कारहरू कोभिडको महामारीका कारण यस वर्ष एकैचोटि प्रदान गरिएको छ ‘मैदारो’ उपन्यासका लागि भूपेन्द्र खड्का ‘भूपिन’ लाई अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार- २०२१ का लागि २१ सय अमेरिकी डलर नगद पुरस्कार, प्रमाणपत्र र अनेसासको आजीवन सदस्यताको प्रमाणपत्र प्रदान गरिएको छ ।

यसै गरी सन् २०२१ मा स्थापना भएको माधव घिमिरे सर्वोत्कृष्ट काव्यपुरस्कार २०२१ बाट ‘आमा किरणहरूको छालमा’ कवितासङ्ग्र्हका लागि गीता कार्की र ‘वीर्य जमिन’ कवितासङ्ग्र्हका लागि बादल चाम्लिङलाई जनही एक हजार अमेरिकी डलर, अनेसास होमनाथ सुवेदी सर्वोत्कृष्ट डायस्पोरा वाङ्मय पुरस्कारबाट ‘वासदेखि पुनर्वाससम्म’ संस्मरण निबन्धसङ्ग्रहका लागि डा. लक्ष्मीनारायण ढकाललाई ११ सय अमेरिकी प्रदान गरिएको हो ।

११ सय अमेरिकी डलरको ‘अनेसास दिल- लीला बस्नेत सर्वोत्कृष्ट डायस्पोरा’ पुरस्कार ‘लेखककी छोरी’ कथासङ्ग्र्हका लागि जेएन दाहाल पुरस्कृत भएका छन् ।
अनेसास श्याम- इन्दिरा कार्की सर्वोत्कृष्ट निबन्ध पुरस्कारबाट ‘पत्थरको देवता’ निबन्धसङ्ग्रहका लागि विद्याप्रसाद घिमिरलाई एक हजार अमेरिकी डलर तथा ‘मरीचिका’ कथाकृतिका लागि महेश थापा एक हजार अमेरिकी डलरको ‘अनेसास पदम विश्वकर्मा सर्वोत्कृष्ट कथा पुरस्कार’ प्रदान गरिएको छ ।
यस्तै एक हजार अमेरिकी डलरको ‘अनेसास प्रा. डिल्लीराम तिम्सिना सर्वोत्कृष्ट उपन्यास पुरस्कार- २०२१’ बाट ‘निर्वेद’ उपन्यासका लागि शैलेन्द्र अधिकारी एवम् एक हजार अमेरिकी डलरकै अनेसास सीता शर्मा सर्वोत्कृष्ट समालोचना- संस्कृति पुरस्कार- २०२१ बाट संस्कृति अनुसन्धाताद्वय डा गोविन्द आचार्य तथा अशोक थारू संयुक्त रूपमा पुरस्कृत भएका छन् । पाँच सय अमेरिकी डलरको अनेसास लक्ष्मण सत्याल सर्वोत्कृष्ट गीत- गजल-हाइकु- मुक्तक पुरस्कार टीका आत्रेय पौडेललाई पुरस्कृत गरिएको छ ।

अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार अनेसासका ट्रस्टीहरूको सदस्यता शुल्कको बैङ्क व्याजबाट हरेक दुई वर्षमा प्रदान गरिन्छ । यस पुरस्कारको राशि १५ सय अमेरिकी डलर रहेकामा सन् २०१९ देखि दुई हजार डलर र यस वर्षदेखि दुई हजार एक सय डलर हुने गरी पुरस्कार समितिका अध्यक्ष प्रा. डा. गोपी उप्रेतीले थप रकम सौजन्य गरेका हुन् । राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनको लगत्तै अनेसासले सन् २०२१ देखि प्रदान गर्ने गरी घोषणा गरेको माधव घिमिरे सर्वोत्कृष्ट काव्यपुरस्कार राशिका प्रायोजक बिओटीका अध्यक्ष गीता खत्री तथा ट्रस्टी डा. चूडामणि खनाल हुन् ।

यसै गरी अनेसासका संस्थापक होमनाथ सुवेदीको सम्मानमा सन् २०२१ देखि सञ्चालन गर्न थालिएको अनेसास होमनाथ सुवेदी सर्वोत्कृष्ट डायस्पोरा वाङ्मय पुरस्कारको सौजन्यकर्ता अनेसास बोर्ड अफ ट्रस्टिजका सल्लाहकार रोहिणी शर्मा हुन् । सन् २०१९ देखि प्रदान गर्न थालिएको अनेसास दिल–लीला बस्नेत सर्वोत्कृष्ट डायस्पोरा पुस्तक पुरस्कारको सौजन्यकर्ता अनेसासका पूर्व केन्द्रीय अध्यक्ष एवम् ट्रस्टी जापान निवासी डा. कुमार बस्नेत हुन् । प्रवासमा रहेका नेपाली सर्जकलाई नेपाली साहित्य लेखनमा अभिप्रेरित गर्ने उद्देश्यले डा बस्नेतले आफ्ना पितामाताको स्मृतिमा यो पुरस्कारको सौजन्य गरेका हुन् ।

सर्वोत्कृष्ट उपन्यासका लागि प्रदान गरिने पुरस्कारको सौजन्य बिओटीका पूर्व उपाध्यक्ष, पुरस्कार समितिका पूर्वअध्यक्ष एवम् बिओटीका पूर्व प्रमुख सल्लाहकार सुमन तिम्सिनाले गरेका हुन् भने सर्वोत्कृष्ट कथाका लागि बिओटीका उपाध्यक्ष पदम विश्वकर्माले पुरस्कारको सौजन्य गरेका हुन् ।
निबन्ध विधाका लागि प्रदान गरिने पुरस्कार बिओटीका पूर्व अध्यक्ष एवं प्रमुख सल्लाहकार डा. श्याम कार्कीले प्रायोजन गरेका हुन् भने समालोचना, संस्कृति विधाको सर्वोत्कृष्ट कृतिका लागि प्रदान गरिने पुरस्कार बिओटीका सल्लाहकार रोहिणी शर्माले प्रायोजन गरेका हुन् ।

गजल, मुक्तक, हाइकू र गीत विधाका सर्वोत्कृष्ट पुस्तकका लागि प्रदान गरिने अनेसास लक्ष्मण सत्याल सर्वोत्कृष्ट पुरस्कार बिओटीका उपाध्यक्ष पुरु सुवेदी र उनकी धर्मपत्नी कल्पना सुवेदीले सौजन्य गरेका हुन् ।

पुरस्कार वितरण समारोहमा बोल्दै प्रमुख अतिथि प्रा. डा. सावित्री कक्षपतिले अनेसासले प्रवासबाट नेपाली भाषा साहित्यको समृद्धि र विस्तारमा समर्पित भावले कार्य गरिरहेकोमा अनेसासप्रति एक आजीवन सदस्यका हैसियतले आफू गौरवान्वित भएको बताइन् । उनले कोभिडको महामारीका दुई वर्षमा पनि अत्यन्त सक्रिय भएर हरेक हप्ता कार्यक्रम गरिरहने अनेसासका प्रवासमा सङ्घर्ष गरी जीवनयापन गरिरहेका नेपालीहरूले भाषा साहित्यप्रति समर्पित भएर लागिरहेकोमा प्रसंसा गरिन् ।

कार्यक्रमका सभापति बिओटी अध्यक्ष गीता खत्रीले बिओटीको नयाँ कार्यसमितिको गठनलगत्तै बसेको बैठकले दुई कुरामा सुधार गर्ने लक्ष्य लिएको बताउँदै दुईमध्येको एक पुरस्कारको व्यवस्थापनलाई सुधार गरेको र अब अनेसासको भवन खरिदमा सक्रिय भइरहेको बताइन् । संस्थापक अध्यक्ष होमनाथ सुवेदीले संस्थाको ३१ वर्षको इतिहासमा सुधारात्मक कार्य गर्दै संस्था अघि बढिरहेकामा सबैप्रति धन्यवाद व्यक्त गरे ।

कार्यक्रममा बिओटीका प्रमुख सल्लाहकार डा. श्याम कार्की, बिओटी सल्लाहकार प्रा.डा. खगेन्द्रप्रसाद लुइँटेल, केन्द्रीय सल्लाहकार राम खत्री, केन्द्रीय अध्यक्ष प्रकाश पौडेल ‘माइला’, केन्द्रीय वरिष्ठ उपाध्यक्ष गोवद्र्धन पूजा, केन्द्रीय महासचिव सर्वज्ञ वाग्ले, पुरस्कारका प्रायोजकहरू सुमन तिम्सिना, रोहिणी शर्मा र डा. चूडामणि खनालले पुरस्कृत सबै स्रष्टाहरूलाई बधाई ज्ञापन गरे । पुरस्कार समितिका अध्यक्ष प्रा. डा. गोपी उप्रेती, मूल्याङ्कन समितिका तर्फबाट लीला लुइँटेलले मन्तव्य राखेको कार्यक्रममा पुरस्कृत स्रष्टाहरू गीता कार्की र बादलदेवी चाम्लिङले कविता वाचन गरे भने गजल पुरस्कार विजेता टीका आत्रेय पौडेलले गजल वाचन गरिन् । स्रष्टाहरू भूपेन्द्र खड्का ‘भूपिन’, महेश थापा, डा. लक्ष्मीनारायण ढकाल, जेएन दाहाल, शैलेन्द्र अधिकारी र विद्याप्रसाद घिमिरेले आफ्नो लेखनका पृष्ठभूमिबारे बताए । बिओटी सचिव शिव लामिछानेद्वारा सञ्चालित कार्यक्रममा बिओटी उपाध्यक्षद्वय पदम विश्वकर्मा तथा पुरु सुवेदीले क्रमशः स्वागत मन्तव्य र धन्यवाद ज्ञापन गरेका थिए ।