• २०८२ आश्विन ३०, बिहीबार

‘उत्स’ का पाँच मुक्तकहरु

बाबुराम न्यौपाने ‘उत्स’

बाबुराम न्यौपाने ‘उत्स’

गुलाफमा खसेको शीतजस्तो
धड्कनले गाएको गीतजस्तो
यस्तो अपूर्व होस् प्रेम
प्रेमकै हारमा पनि जितजस्तो।

गुलाफी अधरको बयान के गरौँ
आपसी कदरको बयान के गरौँ
प्रेमदिवस मजाक बनेको बेला
क्षणिक सदरको बयान के गरौँ ।

हृदयको पत्रमा नाम लेखेको होस्
प्रेमको दिव्य स्वरूप देखेको होस्
तब पो प्रेमको दिव्यलोक चम्कन्छ
जहाँ मायाले दुवाली छेकेको होस् ।

जुन प्रेममा गहिरो समर्पण हुन्छ
जुन हृदयले मनमुटुको तार छुन्छ
यदि यस्तो प्रेमको हत्या भयो भने
प्रेमको दुश्मन पनि कहालिँदै रुन्छ।

नशालु आँखा पोखेर टोलाएपछि
स्पर्श गरेर एकान्तमा लोलाएपछि
कसरी सक्छन् प्रेमचरी पर भाग्न
दिलले दिल पुकारेर बोलाएपछि ।


(दमक, झापा निवासी ‘उत्स’ चर्चित कवि हुन् ।)
[email protected]