वसन्तवेला

काठमाडौँ ५ फाल्गुन २०७८
२०७८ फागुन ४ गते साङ्गीतिक जगतका हस्तिहरूको परिचय समेटिएको साहित्यकार नगेन्द्रराज रेग्मीको ‘कालजयी आवाजहरू’ नामक कृति सार्वजनिक भएको छ । प्यासिफिक पब्लिकेसनद्वारा प्रकाशित यस पुस्तकमा नेपाली साङ्गीतिक जगतका २२ प्रतिभाहरूको परिचय र प्रवृत्ति समेटिएको छ ।
रानुदेवी, कर्म योन्जन, दिलमाया खाती साथै मानबहादुर मुखिया, वासु शशी, रत्नशम्शेर थापा, नगेन्द्र थापा, यादव खरेल, अमरसिंह गिरी, कालीप्रसाद रिजाल, क्षेत्रप्रताप अधिकारी, हरिभक्त कटुवाल, हेम हमाल, शरण प्रधान आदि गीतकार तथा गणेश रसिक, अरुणा लामा, कुमार सुब्बा, जितेन्द्र बर्देवा, योगेश वैद्य, प्रेमध्वज प्रधान, शान्ति ठटाल, बच्चुकैलाशजस्ता गायक-सङ्गीतकारका घटनाहरू छोटकरीमा उल्लेख गरिएको छ ।
खोटाङमा जन्मिएर काठमाडौँलाई कार्यथलो बनाउँदै आएका रेग्मीका ‘खोटाङ जिल्लाको साहित्यिक रुपरेखा २०५३’ र ४२ जना साहित्यकारहरूको अन्तर्वार्ता ‘स्रष्टासंवाद- २०५९’ प्रकाशित छन् ।