• २०८१ भाद्र २४ सोमबार

प्रसिद्ध साहित्यकार डा. शर्माको निधन

नेपाली भाषामा झर्रोवादी आन्दोलनका प्रवर्तक एवम् प्रसिद्ध साहित्यकार डा. तारानाथ शर्माको आज बिहान काठमाडौँमा (३ फागुन २०७८) ८७ वर्षको उमेरमा निधन भएको छ ।
विसं २००७ साल असार ९ गते इलामको बरबोटेमा जन्मेर त्यहीँको संस्कृत पाठशालाबाट अध्ययन आरम्भ गरेका शर्माले भारतको दार्जिलिङ, बनारस, पटनाबाट क्रमशः आइए, स्नातक र स्नातकोत्तर गरेका थिए । बेलायतबाट भाषाविज्ञानमा स्नातकोत्तर गरेका स्व. शर्माले भाषाविज्ञानमै अमेरिकाबाट विद्यावारिधि गरेका थिए ।
उनले बनारसमा अध्ययन गर्दा २०१३ सालमा वल्लभमणि दाहाल, बालकृष्ण पोखरेल, चूडामणि रेग्मीसँग मिलेर भाषामा झर्रोवादी आन्दोलन चलाएका थिए । यस आन्दोलनले तारानाथ लगायत उनका आन्दोलनका सहभागीहरूलाई एकै झमटमा प्रसिद्धिको शिखरमा आरोहित गराएको थियो ।
समालोचना, निबन्ध र आख्यान तीनै विधामा सशक्त र समानरूपले कलम चलाउने स्व शर्माले आफ्ना नियात्रा मार्फत् नियात्रासाहित्यलाई चर्चित बनाएका थिए । उनको ‘घनघस्याको उकालो काट्दा’ नामक नियात्रा आज पनि नेपाली नियात्रासाहित्यमा सर्वाधिक पठित रचना हो । नियात्राकृति ‘बेलाइततिर बरालिँदा’ का लागि २०३१ सालको मदन पुरस्कार पाएका शर्मा २०५३ सालमा श्री लूनकरणदास–गङ्गादेवी चौधरी साहित्यकला मन्दिरद्वारा प्रदान गरिने ‘इतिहास शिरोमणि बाबुराम आचार्य शोधसम्मान’ बाट सम्मानित थिए । यसबाहेक उनी आदिकवि भानुभक्त आचार्य पुरस्कार, पृथ्वी प्रज्ञापुस्कार, साझापुरस्कार, रत्नश्री पदक, सर्वश्रेष्ठ पाठ्यपुस्तक लेखन पुरस्कारलगायत दर्जनौँ पुरस्कार र सम्मानहरूबाटसम्मानित थिए ।
‘बेलाइततिर बरालिँदा’ पाताल प्रवास, नेपालदेखि अमेरिका, नेपाली साहित्यको इतिहास, सम र उनका कृतिलगायत स्व. शर्माका पाँच दर्जन बढी कृति प्रकाशित छन् ।

स्व. शर्माका दुई छोरा र श्रीमती छन् ।