समाचार

एउटा गहिरो अनुभूति हुन्छ
जब सबै भुलिएका यादहरू
क्षितिज र सपनाको सामीप्यबाट
मलाई सम्झाउन खोज्छन्,
त्यो हिलोको सुगन्ध, र ती धुला बाटाहरू
हामीले राज गरेका ती चउरहरू
क्यारेमका गोटीहरू, सिसाका गिलासहरू
अनि ती छरिएका बगैचाहरू
जहाँ आज कुनै फूल फुल्दैनन ।
अनि म हराउँछु त्यो मिठो आभाससँगै
जब सम्झन्छु ती हराएका शब्दहरू
जुन मैले कहिल्लै बोल्न सकिनँ, भन्न सकिनँ
धिर्मिराउदै रहेका सपनाहरूलाइ
झझल्काइदिने ती अन्तर्धुनहरू
जुन कहिल्यै गुनगुनाउन सकिनँ ।
अनि
जब मिस्सिसिपीले
मेरो अस्तित्वलाई जिस्क्याउन थाल्छ,
मैले भन्न नसकेका शब्दहरू
मैले गुनगुनाउन नसकेका धुनहरू
मिस्सिसिपीका अवाजमा लुकेको पाउँछु,
म एउटा नयाँ जीवनको अनुभूति गर्दछु
आँखा रसाउँछन्, र म त्यहीँ डुब्दछु
तब स्वतन्त्र चरीझैँ म भित्रभित्रै कराउँछु
म मिस्सिसिपीका स्वरमा पूर्णरूपले हराउँछु ।
पारस रेग्मी, भद्रपुर, झापा, नेपाल
हाल: ब्याटन राैज, लुजियाना, अमेरिका ।