यसपालीको दशैँमा
चराहरुले उत्सवमनाएनन्
हिउँचुलीको गर्वले हिमाल मुस्कुराएन
व्यासमुनि जस्ता पहाडहरु मौन रहे
आकाशको चाल्नीबाट चुहेको
घामको प्रकाश र पहेँलो जमरासंगै
लहलहाउँदो आमाको आशिवार्द
सिउरिन्छु शिरमा
भन्न मन लागिरहेछ
आमा !
राता अछेता टाँसेर निधारभरी
नपठाउनु मलाई युद्धमा
आमा
नपठाउनु …आमा !
पोहोर साल
फुलमानलाई उसकी आमाले
दही संगै चिरायु मुछेर
राता अक्षता निधारभरी टाँसिदिएकी थिइन्
बर्ष दिन नबित्दै
गोधुलीको निधारबाट बग्यो
रातो झरना र जून सागरमा खस्यो …
यसपालीको दशैँमा उसकी आमा
आँशुले मुछेका सेता अक्षता
परेवालाई छरेर आागनमा
बलेँसी भिजेकी छिन्
राता अछेता टाँसेर निधारभरी
मलाई युद्धमा नपठाउनु आमा
यसपालीको दशैँमा
एक बिटो कलम र
निलो मसी दिएर
परदेश पठाउनु
आघौँ आउँदा
हराएको देशलिएर आउने छु
जुनतार ओढेर निदाउने
झुलन लिएर आउने छु
राता अछेता टाँसेर निधारभरी
मलाई युद्धमा नपठाउनु आमा
हो ! नपठाउनु
एक बिटो कलम दिएर
परदेश पठाउनु !!
गीता कार्की
[email protected]