• २०८१ फागुन ६ मङ्गलबार

स्मृतिका पानाहरूमा

प्रतीक ढकाल

प्रतीक ढकाल

१. कलिला स्मृतिका धमिला डोबहरू
साल, महिना, गते, बार र स्थानबारे मलाई केही पनि थाहा छैन तर पनि मेरो जीवनको पहिलो स्मृति आमासँगै जोडिएको छ । आमासँग बालकको पहिलो स्मृति जोडिनु स्वाभाविकै पनि लाग्छ- तर मेरो स्मृति अलि फरक र अस्वाभाविक किसिमले जोडिएको छ । काइँली फुपू, जन्तरी फुपू र आमा डोकामा भारी बोकेर कतै पहाडी बाटोमा हिँड्दै हुनुहुन्थ्यो; म रुँदैरुँदै उहाँहरूलाई नै पछ्याइरहेको थिएँ । नाङ्गा खुट्टामा ढुङ्गा बिझाएर हिँड्नै नसकिरहेको अवस्था थियो मेरो । यत्तिकैमा म बुरूक्क उफ्रिएर भित्तामा उम्रिएको एउटा बुटोको हाँगो समातेर उचालिई आमाले बोकिराखेको डोकोमा खुत्रुक्क बसेको याद छ ।
त्यस वेलाको स्मृतिले त आमा फटाफट हिँडिरहनुभएको थियो तर मैले बहादुरीपूर्वक बुटो समातेर आमाको डोकामा हाम फालेको भन्ठान्छ- तर अहिले सोच्छु आमाले आफू थापिएर मलाई डोकोमा चढ्ने मौका दिनुभएको रहेछ । यो घटना कहाँ भएको हो र हामी कता जान हिँडेका थियौँ भन्ने विषयमा मलाई केही पनि थाहा छैन । तर अहिले आएर समय, काल र घटनाक्रमलाई मिलाएर हेर्दा हामी भुटानबाट बसाइँ हिँडेका रहेछौँ ।
अहिले भुटानले डेढलाखभन्दा बढी ‘नेपालीभाषी’ भुटानीहरूलाई अत्याचारै गरेर लखेट्यो तर त्यो वेला त बसाइँ सर्न पनि थिम्पुको अनुमति चाहिन्थ्यो रे । पछि हजुरबा अविकेशर ढकालको मुखबाट धेरैपटक सुन्ने मौका पाइयो- घर, खेत, वस्तुभाउ र अन्य सबै चल-अचल सम्पत्ति नै सस्तो मोलमा, अझ भनौँ कौडीकै भाउमा आफन्तहरूकै बीचमा लेनदेन गरेर हामी खुसुक्क भागेर बसाइँ सरेका रहेछौँ ।
हजुरबाका सन्तान- छ बहिनी छोरी र एकभाइ मात्र छोरा । घरमा अरू लोग्नेमान्छेको अभावमा एउटाले घर र एउटाले पातलको गोठको रेखदेख गरिरहनु परेको स्थिति रहेछ । छोरो घरमा भए बाबु गोठमा र छोरो गोठमा भए बाबु घरमा बसेर दुवैतर्फको काम चलाउँदै आइएको परिस्थिति रहेछ । यसरी सामान्य घर- गृहस्थी चलिरहेका वेलामा अकस्मात् हल्ला चलेछ- अब भुटानमा ‘एक घर:  एक सैनिकको नीति लागु हुनेछ र प्रत्येक घरबाट एक भाइ छोरो सेनामा भर्ती हुनु अनिवार्य हुनेछ । हजुरबाले कुनै राजनीति, कूटनीति र शासन व्यवस्थाको कुरो बुझेर होइन, आफ्नै लाटो हिसाबले सोच्नुभएछ- एक भाइ छोरो छ, त्यसलाई भुटानको सेनामा भर्ती गराएर गाईको मासु खाने बनाउनु हुँदैन । बरू यहाँबाट बसाइँ सर्नु नै उत्तम हुनेछ । तर बसाइँ सर्न त सजिलै पाइन्न, केन्द्र सरकारको अनुमति लिनुपर्छ । अब कसरी बसाइँ सर्ने त ? अनि माथि नै भनिएझैँ धनसम्पत्ति सबै कौडीको भाउमा छोडेर आफूहरू २/४ दिनअघि नै तल भुटानकै कालिखोला भन्ने ठाउँमा आएर आफन्तकोमा बस्नुभएको रहेछ । र, आमा फुपूहरूलाई चाहिँ नुन खेप्न जानेजस्तो बहाना बनाएर आफ्ना पछिपछि आउने प्रबन्ध मिलाउनु भएको रहेछ । र, यही प्रसङ्गमा भिरालो बाटोका भित्तामा उम्रेका खरूकीका सप्रेका पोथ्राहरू वा यस्तै अन्य केही झारपात समातेर म आमाको डोकोमा चढेको हुनुपर्छ ।
त्यसपछि के भयो- मलाई केही पनि सम्झना छैन बीचका कुराहरू । तर एकैचोटि रेल चढेको कुरो याद छ । म २०१६ सालमा जन्मिएको र २०१९ सालमा त हामी झापाको तत्कालीन जयपुर बुधबारे गाउँ पञ्चायतमा बसाइँ सरेर आइसकेको हुनाले यी सम्झनाहरू मेरो उमेर तीन वर्ष पुगेका वेला वा त्योभन्दा पनि अगाडिका हुनुपर्छ ।
हो, रेल चढेको याद छ तर कहाँबाट चढेका र कहाँ ओर्लेका थियौँ भन्ने केही याद छैन । कति मात्र याद छ भने- सुरूमा त गल्र्याङढ्याक् गल्र्याङढ्याक् गर्दै रेल कुद्यो तर बस्दै गएपछि त रेलचाहिँ स्थिर भयो र रूखहरू पो पछाडितिर दगुर्न थाले । मैले कसैलाई सोधेको पनि सम्झना छ- यी रूखहरू किन कुदेका भनेर । कसलाई सोधेको थिएँ र कसले जवाफ दियो, म यकिन साथ भन्न सक्तिनँ । तर आमाले नै जवाफ दिनुभएको थियो शायद- रूख जहाँको तहीँ हुन्छन् तर रेल कुदेर यस्तो भएको हो भन्ने खालको । त्यसपछिको अरू कुनै कुरो याद छैन ।
त्यसपछि याद भएको कुरो धेरै महत्त्वपूर्ण छ जसले हामीलाई झापामा टेक्ने आधार दिएको थियो । मैले थाहा पाउँदा हामी झापा शनिश्चरेको बाह्रघरे भन्ने ठाउँमा हामीले नाताले ‘मावलीबा’ भन्नुपर्ने हाल स्वर्गीय दाताराम अधिकारीको आँगनमा थियौँ । परिवारका सबै सदस्य जम्मा भइसकेका थियौँ- हजुरबा, हजुरआमा, बुवा, आमा, मेरा दुइटी दिदी, म र मेरो भाइ अनि काइँली, जन्तरी र कान्छी फुपू गरी जम्मा ११ जना मावलीबाको खोल्मामुनिको खाली ठाउँमा बस्न थालिसकेका थियौँ । हजुरबा र मावलीबा कमाउन उपयुक्त हुने जग्गाको खोजीमा लाग्नुभयो । ‘जग्गाको अलिकति दस्तुर नबुझाईकन कमाउन पाइँदैन; कति पैसा लिएर आएका छौ त बाहुनबा ?’ भन्ने शैलीको प्रश्न मावलीबा दाताराम अधिकारीले सोध्नुभएको र मेरा हजुरबाले उहाँकी पनि आमालाई सम्बोधन गर्दै- ‘भाउजू, मेरो सिरिखुरी सप्पै यही हो, रातबिरात गर्दै भागेर आएको हुनाले यहाँभन्दा बढी जुटाउनै सकिनँ’ भनेर एउटा पोको खोलेर छन्छनी बज्ने कम्पनीका ढ्याक सिकुवामा हार लगाएर गनेको र जम्मा २२०० भयो भनेर मिलाएर थुपारेको याद छ ।
त्यसपछि मावलीबा र हजुरबा धेरै दिनसम्म जग्गाको खोजीमा लाग्नुभयो । हामी मावलीबाकै आँगनमा खेल्न थाल्यौँ । मावलीबाकी छोरी लच्छिमा दिदी र ख्याम दाइले हामीलाई ओक्कल- दोक्कल र भेडीगाँठो खेल्न सिकाउनुभयो । भात खाइसकेपछि गाईवस्तु खोलेर वनतिर चराउन लैजाने चलन थियो- म पनि लच्छिमा दिदीसँगै गोठालो जान थालेँ ।

२. बासको टुङ्गो लागेपछि
केही दिनपछि हाम्रो परिवार मावलीबाको खोल्मा छोडेर अलि माथि ‘जयपुर’ भन्ने ठाउँमा सर्यो । आठराईतिर बस्ने भुवानीशङ्कर सिवाकोटी भन्ने मान्छेले ओगटेर राखेको नौ बिघा जग्गा प्रतिबिघा १० मन धान बुझाउने गरी कुतमा कमाउने कुरो मिलेको रहेछ । एकदिन पुरानो याक्साजस्तो लाग्ने घरको आँगनमा जग्गाधनी भुवानीशङ्कर सिवाकोटी, दाताराम मावलीबा, हाम्रा हजुरबा, धनपति कँडुवाल, नन्दलाल घिमिरेजस्ता मानिसहरू जम्मा भएर ‘जग्गाधनीले त्यत्तिकै दपेटेर निकाल्न पनि नपाइने र मोहीले पनि कुत बुझाउन आनाकानी गर्न पनि नपाइने’ भन्ने शैलीको दोहोरो समझदारीपत्र भयो र पहिलो वर्षको बालीबापत जग्गाधनीलाई ९०० कम्पनी छन्छनी गनेर बुझाएको मलाई याद छ । यसबाट थाहा हुन्छ त्यसवेला धानको मूल्य प्रतिमन (४० केजी) नेरू. १० रहेछ ।
तर खेतीयोग्य जग्गा त कतै पनि थिएन- सबै वन मात्रै थियो । अब हाम्रो पूरा परिवार नै वन फाँड्न कस्सियो । हजुरबा त झन् भूत बराबर नै हुनुहुन्थ्यो यस मामिलामा । १३ वर्षको उमेरमा ताप्लेजुङको घरबाट भागेर एक्लै भुटान पसी उतै ४२ वर्ष बिताएर नाति- नातिनासमेत लिएर आउँदा उहाँ ५५ वर्षको भइसक्नुभएको थियो । तर पनि जोस- जाँगर अठारवर्षे युवाको जस्तो थियो । उहाँहरू दिनभरि रूख काट्नुहुन्थ्यो । बुट्यान फाँड्नु हुन्थ्यो र आगो लगाएर गोरू जोत्न मिल्ने मेलो निकाल्नु हुन्थ्यो । औलोको बिगबिगी थियो । यतातिर त देखाउँदा पनि औलो सर्छ भन्ने मान्यता थियो । मधेश (विशेष गरी झापा) गएर ‘एक सेर चामल किन्यो भने बाँचुञ्जेल खान पुगेर किरिया गर्नसमेत पुग्छ’ भन्ने भनाइ खुबै प्रचलित थियो । तर त्यस्तोमा पनि मेरो परिवार नडराईकन वन फाँडेर जग्गा निकाल्न उद्यत थियो । हजुरबा, बुवा, फुपूहरू त्यसवेलाको एक मोहोर जत्रा ठूला- ठूला ‘निमाक्वाइन’ कि यस्तै के भनिने पहेँला- पहेँला गोलीहरू आँखासमेत फुस्रा हुनेगरी बडो कष्टले घुटुक्क पार्दै निल्नुहुन्थ्यो र त्यही नै औलोबाट जोगिने एक मात्र उपाय हो भन्ने ठान्नुहुन्थ्यो । झुल हालेर सुत्नुपर्छ भन्ने सामान्य चेतना नभएका कारणले त्यस्तो गर्मीमा पनि घरवरपर आगो बालेर सुत्नुहुन्थ्यो । धूवाँ भएको ठाउँमा लामखुट्टे आउदैनन् भन्ने लाग्थ्यो उहाँहरूलाई । तर पनि बिहान उठ्दा लामखुट्टेले नटोकेको कुनै ठाउँ नै हुँदैनथ्यो- अनुहारमा ।
सायद त्यसवेला झुल किन्न पनि पो पाइँदैनथ्यो कि ! मलाई थाहा हुन सकेन ।
जे होस्, समयले साथ दियो, भाग्यले साथ दियो र हाम्रो परिवारको कृषिभूमि पनि विस्तार हुँदै गयो । रातदिन फाँड्दै आगो लगाउँदै गरेपछि त वनको पनि केही नलाग्दो रहेछ र क्रमशः हाम्रो खेती लगाउने ठाउँ बढ्दै गयो ।
पहिलो धानबाली लगाइयो- २०१९ सालमा । पानी परेको मौका छोपेर लगाइएको धान कसरी सप्रियो भने हामी केटाकेटी त धान काटेका नरूवाभित्र पनि हराउँथ्यौँ । ठूला मान्छेहरू पनि दुवै हात माथि उठाएर धान काट्थे । म चारवर्ष पनि नटेकेको मान्छे हँसिया लिएर नरूवासँग मिसिएको मल्लिँडो काट्न जान्थेँ । अलि धेरै भएपछि मुठो पनि पार्थें र टाट्नाका कलिला पाडा- बाछाहरूका लागि नरम घाँस जम्मा पार्थें ।
नलभित्रै म नहराऊँ भन्नका लागि आमाले सिकाउनु भएको कुरो खुब याद गरिरहन्थेँ । नलभित्रै हराइयो र निस्कने बाटो पत्तो लागेन भने कसैलाई बोलाउँदै धानको नरूवा वा बाली जेमा पसिएको छ- त्यसैका बोटलाई बेस्सरी हल्लाउनू अनि अरूले देख्छन् र लिन आउँछन् भनेर सिकाउनु भएको थियो आमाले । म आफैँले पनि धेरैपटक यसरी उद्धारित हुनुपरेको छ । के गर्ने, सानै झारले पनि डुबाइहाल्थे मलाई त । साह्रै नै सानो थिएँ क्यारे !
त्यसवेला सर्प पनि कति लाग्थे भने हलोको लुँडी फाल्दासमेत सर्प नै झर्थे । हाम्रा हातमा जहिल्यै पनि एउटा लौरो हुन्थ्यो नै- सर्प धपाउने ।
गोमन र ठूला आकारका धामनलाई त जसले जहाँ देखे पनि कुटेरै मार्ने चलन थियो त्यति वेला- तर ती साना आकारका हर्हरे, छिर्केमिर्केलाई त ठूला मान्छेले वास्तै गर्दैनथे । हामी साना मान्छेले चाहिँ त्यस्तैलाई मारेर चित्त बुझाउथ्यौँ । तर मारीसाध्य नै थिएनन् सर्पहरू ।
पहिलो र दोस्रो वर्षको कमाइले नै अब आफ्नै जग्गा किन्नुपर्छ भन्ने चर्चा चल्दै जानथालेको वेला हामीले कुतमा लिएको जग्गाभित्रै कसैले आराधरान थापेर काठ चिर्न थालेछ । यो कुरो थाहा भएपछि हजुरबा र बुवाले ती काठ काट्ने मान्छेहरूलाई चाहिँ केही पनि भन्नुभएन र उसको कामले निरन्तरता पायो । तर कटाउने आदेश दिनेसँग चाहिँ झगडै पर्यो । ‘तेरो जग्गा हो र फुर्ती लगाउँछस् काँठा’- त्यसले भन्यो । ‘यो काठको एक टुक्रो छोएर मात्रै जा त, तँलाई त्यहीँ ठाउँको ठाउँ निभाइदिन्छु ।’ हजुरबाले भन्नुभएको अहिले पनि याद छ मलाई । प्रायः हजुरबाकै पुच्छर भएर हिँड्ने हुनाले हजुरबासँग जोडिएका धेरै कुराहरू थाहा पाउँथेँ म ।
वनैवन थियो सबैतिर । अलि परपरचाहिँ अलिक बाक्लै गाउँहरू पनि थिए । तर ठ्याक्कै हाम्रो छाप्रो भएको मारापुरे पैनी भएको ठाउँतिर चाहिँ हाम्रो मात्रै घर थियो । घरको पूर्वतिर बुढासुनारको घर थियो । उनले सुनका गहनाहरू बनाउँथे । अलि तल सवीर साशङ्करको घर थियो- उनलाई चाहिँ सबैले कि त काइँलोकामी कि त ‘चौकिदार’ भन्ने गर्थे । तिनका घरमुनि धनपति कँडुवाल र नन्दलाल घिमिरेको घर थियो । छेउमै थपलिया, चुडाल, विमली, प्रसाईं, सिवाकोटी आदि कुमाईं थरका मान्छेहरूको बाहुल्य थियो । कुमाईंबस्तीका ती पुराना घरवालाहरूले हामीलाई नयाँ भनेर हेपेका हुँदा रहेछन् । पश्चिमतिर घर भएका थामबहादुर लिम्बू र जन्तरे राईले भने हामीलाई हेप्दैनथे तर अरूले चाहिँ हेप्नै खोज्थे रे । त्यसैले किन बसाइँ सरेर यहाँ आउनुभएको भनेर कसैले सोध्यो भने हजुरबाले बडो अनौठो उत्तर दिनुहुन्थ्यो- ‘भोटाङमा भोटेले खुपै हेपे । एकदिन त फौदारी खेल्नै भनेर आएछन्- आफ्नै आँगनमा । मेरो पालो खुकुरी झिकेर छपाछपी छप्काउन थालेको आठ जनालाई त्यहीँ ढालेँछु । अब परेन त फसात् ? अनि त्यैँ आङ्नामा खाल्डो खनेर गाडिराखेर राति नै देश छोडेर भागेको- लाल्टिन बालेर ।’
काँल्दिदी र जन्तरी दिदीले कहिलेकाहीँ भनेको सुन्थेँ- ‘बाले यो झुटो कुरो किन गर्नुपरेको होला ! मान्छेले त ज्यानमारा रै’छ भनेर बुझ्लान् फेरि । खालि नचाहिँदो गफ लाउनुहुन्छ– त्यस्तो कथेको कुरो किन भन्नुपर्छ र ?’
हजुरबा भन्नुहुन्थ्यो–‘तिमेर्ले कुरो बुझेका छैनौ । यी कोखामा दाँत भएका मान्छेहरूसित कुरा गर्दा यस्तै लाटो रिस भएको मान्छे रै’छ, यसलाई जिस्क्याउनु हुँदैन भन्ने पार्नुपर्छ । नत्र यिनीहरूले गरिखान दिँदैनन् । यो जग्गा अब राम्रो भइसकेको छ र सबैका आँखा पर्न थालेका छन् । हामीलाई यहाँ कसैले चिन्दैन । त्यसैले सुरूमै जस्तो परिचय बनायो पछिसम्म पनि त्यही कायम हुन्छ । तिमेर्ले पनि साथीहरूसित कुरा गर्दा हाम्रा बाले त मान्छे काटेका हुन् भन्नुपर्छ, बुझ्यौ ?’
फुपूहरूलाई पनि हामी ‘दिदी’ नै भन्थ्यौँ । कान्छी दिदी, जन्तरी दिदी र काँल्दिदी फुपू हुनुहुन्थ्यो भने ठूल्दिदी र माल्दिदीचाँहि मेरा दिदीहरू । उहाँहरूले कतै यो कुरा भन्नुभयो वा भन्नुभएन त थाहा भएन तर एकदिन जन्तरी दिदीलाई जिस्क्याउन खोज्ने एउटा गोठालो केटालाई हजुरबाले हातमा नाङ्गो खुकुरी लिएर जब एक बिहानको बाटो पूरै लखेट्नुभयो– तब हजुरबाको छवि नै सोझो, मनमा कुनै पाप नभएको तर अत्याचारका विरुद्धमा चाहिँ तुरुन्तै हतियार उठाइहाल्ने मूर्खमूर्ख व्यक्तिका रूपमा चित्रित हुनथाल्यो । हजुरबाको गुनासो लिएर मानिसहरू बाह्रघरे मावलीबा दाताराम अधिकारीकहाँ पनि पुग्दा रहेछन् । दाताराम अधिकारी भन्नेबित्तिकै त्यस समयको एकदमै सामाजिक व्यक्तित्व र प्रतिष्ठित नाम रहेछ । उहाँले पनि भनिदिनुहुँदो रहेछ–‘बाहुनबा सोझा छन् तर साह्रै खतरनाक छन् है– होस गर्नू । ती बूढाले बरु गर्धन थाप्लान् तर अन्याय सहन जानेका छैनन् । त्यस्ता सोझा मान्छेसँग इमान–जमानको काम गर्नुपर्छ । छिर्के लगाएको वा पेटमा कपट राखेको थाहा पाए भने त काट्न बेर लाउँदैनन् । लिम्बू गाउँमा हुर्केका मान्छे हुन्, लिम्बू कुरा पूरै बोल्छन्– ज्यादै सुरा छन् ।’
जोसँग हारगुहार गर्न गएको हो उनैले नै तिनलाई नजिस्क्याउनू भनेर सिकाएर पठाएपछि त अब कसले हेप्ने हाम्रो परिवारलाई ? बिस्तारै हजुरबाको छवि उज्ज्वल हुँदै गयो । जयपुरमा स्कुल स्थापना गर्ने कुरामा हजुरबा पनि लाग्नुभयो । जेठाबा भनिने कृष्णप्रसाद ओली, माइलाबा भनिने जयनारायण ओली, गाउँकै प्रतिष्ठित व्यक्तित्वहरू टेकबहादुर बोहोरा, नारायणप्रसाद पोखरेल, गणेश निरौला, भोटु ओली, चन्द्रप्रसाद प्रसाईं, नन्दलाल बजगाईंजस्ता मान्छेहरूले पनि हजुरबालाई ‘सिधा र असल मान्छे’ मा गन्न थाले र सामाजिक कामहरू गर्नुपर्दा पनि सुरूदेखि नै उहाँलाई खोज्न पनि थाले ।
त्यही समयको सेरोफेरोमा जन्तरी दिदीको विवाह भयो– सेतीपानीका पौडेल खलकको केटोसित । अब त परिचयको क्षेत्र पनि विस्तार हुँदैगयो र हजुरबाको ‘अविकेशर ढकाल’ भन्ने नाम त कता हरायो कता– औलो लाग्ने ठाउँमा पनि नडराईकन बसेको मान्छे भनेर होला सबैले ‘औलेनी बाबै’ भनेर बोलाउन थाले । समाजका जुनसुकै बैठक, छलफल र कार्यक्रमहरूमा औलेनीबाबैको उपस्थिति अनिवार्य हुनथाल्यो ।
जयपुरमा प्राइमरी स्कूल खोल्ने कुरो चलिरहेको वेला एकदिन आफ्नै आँगनमा हाम्रा हजुरबाले माइला ओलीबालाई भनेको सुनेँ– ‘गाउँमै इस्कुल खुल्छ र मेरो यो नाति पिउसाले पनि घरको भात खा’र पढ्न पाउँछ भने म पनि १० मन धान चन्डा दिन्छु । म आफूले पनि पढ्न पाइनँ, यसका बाबुले पनि पढ्न पाएन । यो पिउसालाई चैँ इस्कुलै पढाउने रहर छ । लौ मङ्सिरमा दिने गरी मेरो नाममा पनि लेख्नोस्– १० मन धान ।’
हजुरबाले समेत लागिमेली गरेर रोपेको यही स्कुलको शिशुकक्षाको विद्यार्थी बन्न पुगेको थिएँ म– वि.सं.२०२३ सालको कुनै बिहान ।

३. फागुने मकै
त्यो वेला त्यस क्षेत्रमा एक बाली धान मात्र लगाइन्थ्यो र अरू समयमा खेत त्यत्तिकै खाली छोडिन्थ्यो । बाँझो खेतमा सयौँ गाईवस्तुहरू चरिरहेका देखिन्थे । कतै कुनै बाली नहुने हुनाले गोठालाहरूलाई पनि ढुक्क हुन्थ्यो र एक ठाउँमा जम्मा भएर खेलेर बस्थे । तुलफूलहरू लगाएको ठाउँलाई ‘कोठेबारी’ भनिन्थ्यो र प्रायः कोठेबारीहरू चिर्पट गाडेर बारिएका हुनाले वस्तुभाउ पस्ने सम्भावनै हुँदैनथ्यो । गोठालाहरूको काम खेल्ने मात्र हुन्थ्यो । यस्तो खेतीको प्रचलन नै नभएको ठाउँमा आफ्नो खेतजति जम्मै जोतेर फागुनमै मकै छर्नुभयो हजुरबाले । बारबेरा नभएको हुनाले मकैका पिपिरामा पनि वस्तुभाउ चर्न थालेछन् । हजुरबाले त्यो दिन हजारौँ गाईवस्तुलाई लखेटेर धेरै टाढा पुर्याई दिनुभयो । गोठालाहरूलाई आपत् पर्यो आफ्ना वस्तुभाउ खोज्न । भोलिपल्ट त सबै गाउँलेहरू हजुरबालाई घेर्न आइहाले । ‘मेरो गाई हरायो पैसा तिर् । मेरो गोरु हरायो- पैसा तिर्’ भन्नेहरूको आवाज चर्को थियो । हजुरबाले एकछिन त कुरै गर्नुभयो–‘मैले मेरो खेतमा बाली लगाउन पाउने कि नपाउने ? यी गोठालाहरू किन आएका वस्तुसँग, यिनले हेर्नुपर्छ कि पर्दैन ?’ भन्दै ।
तर यही वेला समूहकै बीचबाट कसैले भन्यो–‘किन जान्ने भएर मकै छर्नुपरेको त ? यहाँ कसैले मकै छर्दैनन् । अब तिम्रो बाली कसरी जोगिन्छ ?’
‘मैले सधैँ यो सिजनमा मकै छरेरै यो उमेर पकाएको मान्छे हुँ । यहाँ हुन्छ कि हुँदैन भनेर टडाई (ट्राई) गर्न पनि यसपालि छरेँ । भयो भने त सबैलाई फाइदै हुन्छ । यसमा नोक्सान के छ हँ ?’ हजुरबाले पनि कडै स्वरमा सम्झाउनुभयो । ‘तिम्रा मकैबारीमा म वस्तु चराउँछु । तिमीले के गर्न सक्छौ ?’ त्यही मान्छेले फेरि बखेडा झिक्यो । ‘हेर्, आठ जना भोटेलाई आफैँले खुकुरीले गिँडेर आफ्नै आँगनमा खाल्डो खनेर गाडेर भोटाङ छोडेर आएको हुँ । यहाँका त सबैलाई छप्काएर पनि लाल्टिनमा एक पावा मट्टितेल नबाल्दै म मेची तरिसक्छु । तँ गाई चराउने मेरो मकैबारीमा ?’
यति भनेर झ्वाँक्किएर फुत्त भित्र पस्नुभएका हजुरबा त हातमा भयङ्कर ठूलो खुकुरी नचाउँदै पो बाहिर निस्कनुभयो । ‘कहाँ गयो त्यो ?’ भनेर खोज्दाखोज्दै सबै मान्छे भाग्न थाले । सबैलाई लखेटेर मारापुरे पैनीपारिको पनि ठाडो बाटो कटाएर मात्र फर्किनुभयो । घर फर्केपछि हजुरआमाले गाली गर्दै भन्नुभयो–‘ए नि बरै, सप्पैले मूर्ख भन्ने भए अब ! के गरेको यस्तो ? कसैले लु काट् न त भनेर थापिएको भए के गनुहुन्थ्यो ?’
‘तँ नकरा । उस्तै परे काट्नु पनि पर्छ । नत्र यहाँ टिक्न सकिँदैन ।’
त्यसपछि हाम्रो मकैबारीमा कसैका पनि वस्तुभाउ पसेनन् । गोठालाहरू चनाखा देखिन थाले । बारबेरै नहुँदा पनि चार–पाँच बिघामा लगाएको मकैखेती सबै जोगियो । फल्न पनि उधुमै फल्यो– सबै बोटमा तीन–चार घोगा लागे । ती जो–जो झगडा गर्न आएका थिए– सबैका घरमा पोलीखान हरिया मकै पनि पठाइदिनुभयो हजुरबाले ।
यसरी झापाको जयपुर बुधबारेमा फागुनमा मकै छर्ने प्रचलनको सुरुवात भयो– २०२० सालको फागुनमा ।
ओहो, अब त ‘औलेनी बाबै’ फेरि सबैका हाइहाई हुनुभयो ।


(ढकाल स्थापित साहित्यकार हुन् ।)
[email protected]