पारिजात स्मृति भवनबाट नयाँ बजार तिर मोडिई ऊ ।
खुट्टा एक रत्ती पनि अगाडि बढिरहेको थिएन । आफूसँग भएको एउटा जीवित मुटु नै त्यतै छोडेर आए जस्तो अनुभूती भो उसलाई । आँखा अगाडि आएर “राज” को मायाले बाटो छेकिरह्यो । कति कुराहरू भन्न बाकी नै थिए तर समय नै पुगेन । छोरा बुझ्ने भैसकेको थियो । धेरै कुराहरू राजलाइ शेयर गर्छु र मज्जाले रून्छु आजै हो मौका भन्ने योजनामा थिइ ऊ तर छोरा सामुन्ने थियो ।अन्त्स्चेतना भित्र बर्सौँ देखि दबिएर रहेका अव्यक्त कुराहरूको पहाड थियो उसको छाती भित्र । मन्दिर फर्किएर जाँदा छोराले अनेक प्रश्न गर्यो । त्यो अन्कल को हुन ? तपाईं किन रूनु भएको ? उहाँ तपाईंको बच्चा बेलाको साथी हो ? आदि आदि । नेपाल आएपछि केहि दिन त ऊ अलमल्लिएकी थिई । लगभग नौ बर्ष भित्र जिन्दगीमा आएको परिवर्तनलाइ उसले स्वीकार गर्दै अगाडि बढीरहि ।
आउने बाटो अझैसम्म अज्ञात नै थियो ।
ऊ सँग अस्ट्रेलियाको पि आर त थियो तर त्यही पि आर सबैथोक होइन रहेछ भनेर बुझ्दै गई । केही सोचेर राखेका आँसु थिए छातीको दह भित्र । बेस्सरी रोइ राजसँग आज । अतीतले पहिलो चोटि यसरी कोपर्यो कि यति बिचलित ऊ कहिले पनि भएकि थिइन ।
बैनीको बिहे भैसकेको थियो । बालाजुको सिग्देल परिवारसँग । ज्वाइँ रास्ट्र बैंकमा अधिकृत थिए । बैनीको मागी बिहे भएको थियो । उसो त प्रेम विवाहमा ऊ विश्वास राख्दैन थी । रिटायर्ड बुबालाई यसो तेसो भनेर उ चित्त पनि दुखाउन चाहन्नथी । अब जे भने पनि आमासँग नै हो । मायालाई एउटा खेद थियो मनमा कि बुबाले नै आफूलाइ जबर्जस्ति अस्ट्रेलिया पठाउनु भएको भन्ने कुराले । म्हेपीबाट आएपछि उसको अनुहारमा छाएको एउटा नमीठो न्यास्रो आमाले देखिन । आसुले धोएको आखाको डिल अलि सुन्निएको थियो ।
जिन्दगीले यो नौ बर्षमा उसलाई यसरी लखेटेर लग्यो कि आफ्नो प्रेमको बारेमा समेत कहिले सोच्नै भ्याइन । राजसँगको आजको एक्कासि भेटले जिन्दगीको उसको पहिलो प्रेमको बन्द ढोका फेरि उघारीयो । अतीतको एउटा सुनौलो उज्यालो आँखामा छायो । ऊ पुलकित भइरहि । घर पुगे पछि उही आफ्नो पुरानो कोठामा एकछिन सोचमग्न भई । आज राजलाई भेट्ने कुनै योजना पनि थिएन तर सन्जोगले भेटायो एक्लै कोठामा चुकुल हालेर सोचिरहेकी थिइ । ढोका ढक् ढक् गर्यो । उसले चुकुल खोलिदीइ । आमा भित्र पसिन ।
“आज तिम्लाइ हेर्न केटा आउँदै छन्”
“को केटा ! मलाई किन हेर्न आउनी ममी ?”
“बिहे गर्न”
“के भन्नुहुन्छ दिमाग त ठिक छ तपाईंको ममी ?”
“मेरो दिमाग बिल्कुल ठिक छ । छोरालाई यहि छोडेर जाऊ उसलाइ हामी यहि हुर्काउँछौँ बढाउँछौँ पढाउँछौँ । तिमी बिहे गरेर दुलहा सहित अस्ट्रेलिया जाऊ । हामी तिम्रो साथ छौँ ।
“तपाईंलाई आफ्नो छोरीको माया लाग्छ भने मलाई पनि मेरो छोराको माया लाग्छ्नी ममी । म नाबालक छोरालाइ एक्लै छोडेर कसरी बिहे गरि जाऊँ ? के भन्छ मलाई इन्द्रले पनि । जो सँग म लिभ इन रिलेसनमा छु ।”
“तिम्ले अहिलेसम्म कसैसँग कानुन त बिहे त गरेकी छैनौ नी ?
“छैन”
“हामीले यो छोरा कसको हो भनेर सोधपुछ गरेका पनि छैनौ । हाम्रो एक गल्तीको कारण तिमीले सधैं किन दुःख पाउने ? तिम्रो जीवन तिम्रो अधिकार हो छोरी “मेरो जीवन मेरो अधिकार भनेर त्यतिबेला किन सोच्नु भएन ?
“अब बिगतमा गएर किन पछुताउने ? अहिले पनि के बिग्रेको छ ?
– आखिर त्यो दिन मायालाइ हेर्न एउटा केटा घरमा आयो ।
– के हामी बिहे गर्दै छौँ ?
– म कसरी भन्न सक्छु ?
– म तपाईलाई कस्तो लाग्यो ?
– पहिलो पटक भेट्दैछु सङ्गत नगरी कसरी भनुँ ?
– के अब हामी सङ्गत गर्न सक्छौ ?
– के को लागि सङ्गत गर्ने ? बिहेको लागि हो भने म त छोराकी आमा हुँ र बिहे भनेको एक पटक हुन्छ
– थाहा छ तपाईंको छोरा छ
– अनि के को लागि मलाई हेर्न आउनु भएको ?
– तपाईलाई अस्ट्रेलिया पढ्न जाँदा मेरो बाबाले बीस लाख ऋण हालि दिनु भएको थियो । त्यो पैसा अझै सम्म फिर्ता पाएको छैनौ हामी पेपर म्यारिज गर्छौ र डिपेन्डेन भिसामा म तपाईंसँग अस्ट्रेलिया जान्छु र उतै काम गर्छु । तपाईहरूले त्यो पैसा हामीलाई फिर्ता गरिरहनु पर्दैन । वास्तविकता यहि हो ।
एउटा नमीठो सपना देखेर एक्कासि ब्युँझिए जस्तो लाग्यो मायालाई । वास्तविकता त्यो पो रहेछ । मानिस आखिर जता गए पनि जहाँ रहे पनि यथार्थ उसैसँग हिडिरहन्छ । छोरा अब अस्ट्रेलिया नजाने भयो । बीस लाख ऋणको कारण काखको छोरालाई छोडेर माया अस्ट्रेलिया जाने भै । पेपर म्यारिज सकियो । छोरालाइ नजिकैको बोर्डिङ स्कुलमा भर्ना गरेको भोलिपल्ट ऊ अस्ट्रेलिया उडी ।
छोरालाइ जुन बोर्डिङमा उसले भर्ना गरेकी थिइ त्यही स्कुलको प्रीन्सिपल थियो राज । तर मायालाई यो कुरा थाहा थिएन । आफ्नो प्रेमिकाले केहि नभनी गएकोमा राजलाई दुःख लाग्यो ।
अस्ट्रेलियाको सिडनी एयर्पोर्ट झरेर सेन्टर पुगि र पारामाटाको लागि रेल चढि । साँझ परिसकेको थियो ।
पारामाटा पुग्दा बेलुकीको नौ बजिरहेको थियो । कोठामा पुग्दा फेरि उ अचम्मित भै । इन्द्रसँग फेरि त्यो जापानीज केटी यासिरा साथमा थिई । उसलाई देख्नासाथ यासिरा खुसी भै र हग गरि । उनीहरूले त्यो दिन रमाइलो गरे । वाइन पिए । नेपाल बाट लिएर गएको केही कोसेली सबैले बाडि चुडि खाए । धेरै समयपछि भेट्न् पाउदा यासिरा मायासँग खुसी थिइ । डाइनिङ्ग टेबुलमा बसेर तिनै जनाले खाना खाँदै गर्दा यासिराले इन्द्रलाइ ओठमा चुम्बन गरि । त्यो देखेर मायालाई इन्द्र प्रति घृणा लाग्यो । आखिर त्यत्रो समय सँगै बसेको आफ्नो हक लागेको पुरूषले आफ्नै अगाडि अर्की केटीलाई माया गर्दा मायाको छाती जल्नु स्वाभाविक पनि थियो ।
उसले हपार्न सक्थी इन्द्रलाइ तर त्यसो गरिन ।
उसले बुझेकी थिइ जिन्दगीको नियती । चुपचापले बसि । खाना खाई । वाइन पिइ । रूम सफा गरि । इन्द्र यसिरासँग गफिन थाल्यो वाइनको मातमा । म नेपाल गएपछि ऊ यता आएकी रहिछ । म नभए पछि इन्द्रले उसलाई यता बोलाएछ । आखिर पुरूषहरू किन एक्लै सुत्न सक्तैनन हँ ? कस्तो जात हो यो पुरूष ? स्त्री भोगका लागि मात्रै जन्मेका हुन त पुरूष ? मायाको मन त्यो रात धेरै दुख्यो । उस्तै थियो रात जस्तो अघिपछि । हिजो आफ्नो छोरा थियो । स्नेहले कर्ली कपाल सुमसुम्याउदै छोराको निन्द्रा बोलाए पछी मात्रै उ निदाउँथी तर आज उही एक्लै पुरानो भान्सा कोठामा छे । समय पनि पृथ्वी जस्तै गोलो छ । घुमिरहन्छ फनफनी ।
धेरै दिन पछि पिएर होकि । वाइनले उसका गाला नि राता भए । यासिरा र इन्द्र सँगै सुते । माया भान्सामा एक्लै । सुरूका दिनको याद आयो उसलाई । यासिरा र इन्द्र ओछ्यानमा चलेको आवाज सुन्थी उ । जति कोल्टे फर्किए पनि निन्द्रा आइरहेको थिएन ।
ऊ कल्पना गर्थी इन्द्र आइदिए पनि हुन्थ्यो । नभन्दै रातको १ बजे इन्द्रले ढोका ढक् ढक्यायो । उसले चुकुल खोली । बत्ती बाली । इन्द्र अगाडि देखि । वाइनको मातमा थिइ ऊ केही भनिन । फेरि फर्किएर ओछ्यानमा सुति । इन्द्रले बिस्तारै साउती गर्यो – “तिमी रिसाकी”?
असरल्ल परेको मायाको कालो लामो कपाल सम्हाल्दै इन्द्र उसको छेउमा पल्टियो ।
– यासिरा भोलि जान्छे
– स्त्री बिना एक्लै सुत्न सक्नु हुन्न तपाईं ?
– यासिरा मेरी पुरानी प्रेमीका हो । तिमी भन्दा पहिला मैले उसलाई भेटेको । म प्रती पहिलो हक त उसको हो नि । यता नर्थस्वरमा जागिर मिलेको छ उसलाई त्यसैले मैले नै जापानबाट आऊ भनेको बिचरी उसको के गल्ती ?।
–गल्ति त मेरो थियो नि कसैले आऊ भन्दा आउने जाऊ भन्दा जाने अलिकति लाज लागेन तपाईलाई कि मेरै अगाडि उसको ओठमा म्वाई खानलाई ? मलाई देखाउनु जरूरी थियो ? मान्छे के पशु हो र ? के सोच्नुहुन्छ हँ आफुले आफैँलाई?”
धेरै सती सावित्री नबन । यही भान्सा कोठा हो जो तिमी तिम्रो आफन्त पर्नी हरी हो कि ह्यारी भन्ने मनुष्यसँग सुतेकी । अरूलाइ चरीत्र सिकाउनु पहिले आफ्नो चरीत्र तिर पनि ध्यान दिनु नि किन वाहियात बकबक गर्नु !
–सरि इन्द्र मेरो आँखा खोल्दियौ
दुवैको चर्को आवाज सुनेपछि पल्लो कोठामा सुतेकी यासिराले ढोका खोल्नु भनी । तीनै जना वाइनको मातमा थिए । सबै एकै ठाउमा सुते । झगडा तत्काल अन्त भो । झगडा के कारणले भयो र कसरी साम्य भयो । मनुष्य यौनको भोक लिएर बाँचेको हुन्छ।
ती तीनकै भोक तृप्ती सँगै झगडाको पनि अन्त भो ।
भोलि देखि यासिरा एक घन्टाको बाटो हुँदै नर्थस्वरमा काममा जान थाली ।
इन्द्रले बैन्कस्टाउनको मिप्रो कम्पनीमा काम पायो ।
माया आफ्नै पुरानो रेस्टुरेन्टमा काममा फर्की । केही दिन समय चुपचापले बगिरह्यो जसरी बहन्छ बर्षा सकिए पछिको नदी ।
निशब्द बग्छ यो । कुनै दिन किनारालाइ भत्काएको र उदन्डता मच्चाएको बिर्सन्छ उसले । तीनै जना कामबाट थाकेर आउँथे ।
मिलेर खाना बनाउँथे । मिलेरै ग्रोसरी किन्थे । मिलेर खान्थे । दैनिक रमाइलो गर्थे वाइन पिउँथे । इन्द्र दुवैमा बराबर बाडिन थाल्यो । लाज र सन्कोच हराए । आखिर मान्छे हुन । मिलेर बस्नुको विकल्प देखेनन् तिनीहरूले । यति मिल्दै गएकी ती तीनको ओछ्यान पनि एकै भए । सोच्दा अचम्म लाग्छ तर यथार्थ त यहि थियो ।
यासिरा अब नर्थस्वर डेरा नसर्ने भै ।
माया, यासिरा र इन्द्र सँगै बस्न थाले । मन मिलेपछि अन्य कुराहरु सामान्य लाग्छन् । दुई स्त्री साथी एउटा पुरूष एकै कोठामा सँगै बस्नु अरूलाइ देख्दा त शायद असमान्य लाग्यो होला तर उनीहरूले यसलाइ सामान्य ढंगले लिए ।
जीवनमा कतिपय घटनाहरू सुरूमा असमान्य लाग्छन तर पछि तिनै कुराहरू सँग समन्वित हुन्छ मान्छे । लाखौ ऋण गरेर अस्ट्रेलिया पुगेकी माया यो दश बर्षको दौरानमा उसले आफूलाई कति परिवर्तन गर्न सकि त्यो उसैलाई थाहा होला ।
बालक छोरा छोडेर आउनु पर्दाको पीडा उसले सहि । हजूरबुबा हजूराआमाको काखमा छोडेर आउँदा पनि घरी घरी काम गर्दा ऊ झल्यास्स हुन्थी । उसले काखको छोरा किन छोडेर आइ ? ऊ आफैँलाइ प्रश्न गर्छे तर उत्तर पाउँदिन । जसले ऋण दियो उसैको छोरासँग उसले अदालतमा गएर पेपर म्यारिज गरि । अब केही दिनमा उसले आफ्नो कानुनी लोग्नेलाई भिषा प्रोसेसिङ्गका लागि पेपर पठाउँदै छे । सिर्फ अस्ट्रेलिया झिकाइ दिनु मात्रै जिम्मेवारी थियो उसको । त्यसपछिको तपसिलका कुराहरू केटो आफैँले जानोस ।
यही शर्तमा पेपर म्यारिज दर्ता गरिएको थियो ।
मायाले यो घटना आफ्नो रूम पार्टनर इन्द्रलाई भनेको थिइन । यो भनिरहनु उसले आवश्यक पनि ठानिन । यो मायाको आफ्नो निजि कुरा पनि थियो ।यतिका समयसम्म कमाएको पैसा खासै बचेको पनि थिएन । अरूले दुई दुई ठाउमा फुल टाइम काम गर्थे तर मायाले गर्न सकिन । कमाएको जति पैसा कलेज फि कोठा भाडा र खानामै खर्च भयो । उ आउँदा चौध लाख खर्च लागेको सुनेकी थी उसले तर पछि ब्याज जोडदा बीस लाख पुगेको रहेछ ।
उता काठमाडौबाट उसको कानुनी लोग्नेले पेपर छिटो पठाउ भनेर दबाब दिन थाल्यो । र घरबाट उसकी आमाले जतिसक्तो पेपर बनाएर पठाइदेउ भनिरहेकी थिइन । एक दिन ऊ आफू पढेको कलेज गई सिफारिस ल्याउन र बाँकी अन्य कागजात तयार पारी । पोस्ट गरेर पठाउदा धेरै समय लाग्ने हुदा एकजना चिनेकी साथी नेपाल जाँदै थिइन उनकै हातमा डिपेन्डेन भिसा प्रोसेसका लागि कागजपत्र पठाइदिई ।
यासिराले मायाको लागि पनि उतै आफ्नो अफिसमा काम खोजिन । अब हरेक दिन दुवै पारामाटा बाट नर्थस्वर धाउन थाले ।
एकदिन हर्स्टभिलमा काम छ भनी यासिराले । दुवैजना त्यही ओर्लिए । शुक्रबारको दिन थियो । यासिराको एकजना पुरानो नेपाली केटा साथी रहेछ। आज त्यही रमाइलो गर्नेकुरा भयो ।
बेलुकी भएपछि हरि पनि त्यहाँ आयो एक्कासि । यासिराको जुन नेपाली साथी थियो त्यो साथीको साथी पो रहेछ हरि जसले मायालाई एक महिना आफ्नो रूममा राखेको थियो । हरि लागू औषधीमा जेल परेको थाहा थियो मायालाई । तर जेलबाट निस्केको थाहा थिएन । मायालाई देख्ना साथ हरिले आफ्नी प्रेमीकालाइ हग गर्यो र भन्यो “हाम्रो छोरा कत्रो भो ?”
मायाले केहि भन्न सकिन । ऊ चुपचापले बसि । यासिरा भान्सामा केहि पकाउन थाली । माया, हरि र उपनिवेश गफिन थाले । हरि र माया बिच त्यस्तो झगडा पनि भएको थिएन । कलेज अपाएक परेर ऊ पारामाटा सरेकी थिइ । जे भए पनि ऊ त्यो अतीतलाई बिर्सन चाहन्थी । तर घरीघरी त्यही अतीतले उसलाई कतै न कतैबाट घेरा हाल्थ्यो । “आज शुक्रबार रमाइलो गर्नी होइन “हरिले मायाको आखामा आँखा जुधाउदै अनुरोध गर्यो । उपनिवेशले सपिङ्ग मलबाट वाइन किनेर ल्यायो ।
उपनिवेश र हरि लंगौटिया साथी रहेछन् । आज था भो यासिरालाई । एक्छिन पछी यासिराको मोबाइलमा इन्द्रको फोन आयो । इन्द्र आज बेलुकी बैन्क्सटाउन साथीको मा बस्नी भनेर । इन्द्र पारामाटा नआउने भए पछि यासिरा र माया पनि आज हर्स्टभिलमै बस्ने भए ।
साझ रमाइलो भो ।
अघिपछि सबै जना आ आफ्नै काममा व्यस्त आज शुक्रबार हो उनीहरूले अलिकति रमाइलो गर्ने दिन त्यो पनि काम सकेर फर्किएपछि ।
हप्तान्तमा बैक एकाउन्टमा पैसा हालिदिन्छ कम्पनीले । शुक्रबार सबैको एकाउन्टमा तलब जम्मा भैसकेको हुन्छ । उनीहरू नौ बजेसम्म वाइन पिएर रमाइलो गरे ।
नौ बजेपछि रेल स्टेशन नजिक रहेको रात्रीकालिन पबमा गए ।
यासिरालाइ अघि कोठामै पिएको वाइन लागिसकेको थियो । त्यहाँ पब पुगेपछि पनि चारैजनाले फेरि फुल एक एक गिलास बियर पिए ।
यासिरा डान्स गर्न थाली नसामा । केहि बेरपछी उपनिवेश लाई पनि सँगै नचाउन थाली । दुवै मस्तले म्युजिकको आनन्द लिन थाले । हरि पनि फ्लोरमा बियरको बोतल लिएर नाच्न थाल्यो ।
माया पनि हरिसँगै नाच्न थाली । दुवै आनन्द विभोरले नाचे ।
उनीहरू त्यताबाट फेरि टाउनहल तिर गए । फेरि अर्को पबमा छिरे । यासिरा एक गिलास बियर पिउदै नाच्न थाली । उपनिवेश र हरि पोकर खेल्न थाले । उपनिवेशले दुईसय डलर हार्यो । आज हरिलाइ खुब दाऊ लागिरहेको थियो । अचानक उसलाइ पाँच हजार डलरको ज्याकपोट पर्यो । सब हल्ला खल्ला भो । रमाइलो गरे उनीहरूले । जितेको रमाइलोमा हरिले मायालाइ बोक्यो । दुवै खुसी भए । उपनिवेश र यासिरा हर्स्टभिल गए रूममा । हरिले उपनिवेशलाइ पाँच शय जिताउरी दियो । हरि र माया आफ्नै पुरानो कोठामा गए ट्याक्सि चढेर । आकाशबाट मिर्मेरे उज्यालो धरती तिर खसिरहेको थियो ।
कोठा पुगेपछि –
“आइ लभ यु माया” हरिले स्नेह पूर्वक मायालाइ अँगालो हाल्यो । मानौँ उसले मायालाई धेरै बर्ष पछि भेट्न् पाएको छ । रातभरको निद्रा मायाका आँखा उदास र राता थिए । डान्स क्लबमा हरि सँगै नाच्दा खोइ कसो कसो आज हरिको निकै माया लाग्यो उसलाई । हरि धेरै बोलिरह्यो माया चुपचाप बसिरही ।
पहिलाको भन्दा उसको बानिमा धेरै परिवर्तन पाई उसले । आज देखायो उसले आफ्नो परिपक्वता र साँचो मायाको अनुभूति । उसले पहिले जस्तो कुनै बहाना बाजी गरेन । उज्यालो भैसकेको थियो । आज उसले त्यत्रो पैसा जित्यो र पनि त्यस्तो खुसी प्रकट गरेन । बरू जितेको सबै पैसा मायालाई पो राख्न दियो ।
मायाले सम्झी हरि धेरै सुध्रेसके छ । उनीहरूले बिगतका तिता मीठा कुरा गर्दै गए सम्झिदै गए । बिहान बितेको पत्तो भएन । अलिकति सँगै निदाए । अलिकति सँगै सपना देखे । अलिकति केही खाने कुरा बनाए । सँगै खाए । हरिले बिगतको आफ्नो जान अन्जान बस भएको भुल र गल्तिलाइ माफी दिन आग्रह गर्यो । मायाले पनि आफ्नो सहानुभूति प्रकट गरि । निन्द्राले छोप्दै गयो । सँगै निदाए ।
कोठामै छिर्यो कलिलो घामको किरण । शनिबार थियो । काममा जानुपर्थो मायालाई । ऊ उठेर फ्रेस भई । हरि बिउझिएको थिएन । उसलाइ केही खानेकुरा बनाइ दिएर मात्रै काममा जाने सोची उसले । भान्सामा हेरि । चामल दाल तेल जुस तरकारी मरमसला केही थिएन । रित्तै थियो किचन । ग्यास चुलो वरिपरि साङ्ला हिडिरहेका थिए । धेरै दिन अगाडि उसले भात पकाएको रहेछ । खान नभ्याएको हो कि खानै छोडेको हो । भान्सामा पुरानो जुठो असरल्ल देखि । माया हुदा उसले यो भान्सा कस्तो सफा राख्थी ।
भान्सा देखेर माया लाग्यो हरिको । ऊ फेरि हरि तिर फर्की । हरि गहिरो निद्रामा थियोे । अघि सबै पैसा मायालाई राख्न दिएको थियो उसले । ओछ्यान छेउको पाइन्ट छामेर हेरि त्यहाँ गुटखाको प्याकेट थियो । कहिँ कतै कोठामा लागू पदार्थ भेटिन्छ कि भनेर खोजी उसले तर कतै देखिन । अब हरि सुध्रिएकोमा उसलाई पक्का भयो । खुसी भइ । उ ग्रोसरी किन्न भनेर सरि हिल्स निस्किई ।
ढोका उदाङ्ग छोडेर जानु भन्दा एक छिनमा फर्किनी त हो भनेर उसले बाहीरबाट ताल्चा मारि । रूममा एक्लै मस्तले निदाइरहेको थियो हरि । कोठा र सरि हिल्स मार्टको दुरि दस मिनेटको मात्रै थियो ।
माया निस्किए पछी रोडबाट आएको गाडीको हर्नले हरि निन्द्रा बाट एक्कासि ब्युझियो । आँखा खोल्दा माया रूममा नदेखेपछि । उ जुरुक्क उठेर ढोकामा आयो । ढोका तान्यो । बाहिर बाट ताल्चा मारिएको थाहा पायो । ऊ चिसो भयो । मायाले आफूलाइ लुटेको सम्झियो । हिजो राती ज्याकपोट परेको सबै पैसा उसलाई नै राख्न दिनु गल्ती सम्झ्यो उसले । मायाको मोबाइलमा धेरै पटक फोन गर्यो तर उठेन । बाहिरबाट ताला मारेर मायाले आफूलाइ धोका दिएको सम्झियो उसले ।
माया सरिहिल्स मार्ट बाट ग्रोसरी किनेर बाहिर आउँदै थिइ । पुलिस तैनाथ थिए गेटमा । प्रहरी फोर्सले समाते र गाडीमा लिएर गए ।
लक्ष्मण सिटौला
[email protected]