• २०८१ बैशाख १९ बुधबार

उद्घोष

डा. शान्तिमाया गिरी

डा. शान्तिमाया गिरी

आदर्श गृहिणी बन्ने लोभले
पतिको शक्ति र सम्पत्ति प्रतिको गौरवबोधले
कहिल्यै गएन मन
शिक्षा, सीप र सृजनातिर

उनैको सुख संरक्षणको आडमा
निमोठि दिएँ नैसर्गिक स्वतन्त्रता
बेवास्ता गरिदिएँ नारी स्वाधीनता
कमजोर पारिदिएँ आफ्नै दक्षता, र अरू थुप्रैथुप्रै…..

भइदिएँ बेपत्ता
घरभित्रकै साँघुरो संसारमा
खुम्चिदिएँ घरकै हेरिविचारमा
अल्झिदिएँ लालाबालामा
समय पोखिँ रहेँ भात-भान्छामा

उही पुरानो रवाफमा
सुखको अज्ञानी स्वादलिँदै
बसेकी थिएँ वैभवशाली पिँजडामा
कहिल्यै दुखिन म कुनै पनि अभावमा

उनैले दिलाएको धरापिलो सुखसयल माथि
परनिर्भरताको ताज लगाएर
मख्ख परेको मेरो मूर्ख अक्कलमा
झन् हावी भएछ तडक भडकको चाहना

शत प्रतिशत निर्भर बनिसकेछु म उनैमाथि
गौरवबोध गरिरहेँ उनकै संरक्षण र कमाइ माथि
रमाउन थालेँ म उनकै साथ, सहयोग र निर्णयमा
विकसित हुनै दिइन मैले कुनै पनि व्यावहारिक सक्रियता ममा
थुनिँदै गएछन् म भित्रका फराकिला सोँच
सृजना र चेतनाका मुहानहरू
अघि नै मरिसकेछन् स्वजीविका भावनाहरू

ठिक..
ठिक त्यसैबेला
मौसम बदलियो अचानक
इतिहास हेरेर टोलाएँ म
पीडा देखेर भयभीत भएँ म
वर्तमान देखेर कहालिएँ म

बल्ल,
बल्ल बोध भयो मलाई
स्वतन्त्र, स्वावलम्बी, आत्मविश्वासी हुनुको महत्व
हिम्मतिलो र जिम्मेवारी वहनको महत्व

सधैँ अरूकै मुख ताकेर
हक पर्खेर खुसी खोज्नुभन्दा
नैसर्गिक स्वतन्त्रताको चाहनाले
ज्ञान, सीप र शिक्षाको ज्योति बाल्न
प्रेरित गरिरहेछ अचेल मलाई ।

मभित्र हुर्किएका पुरूष निर्भर प्रवृत्तिलाई
लखेट्न खोज्दैछु म
पितृसत्तात्मक संस्कृतिको बलियो पर्खालमा
सामाजिक, आर्थिक र राजनीतिक चेतनाको घनले हानेर
एउटै सम्म मैदान बनाउने उपकरण खोज्दैछु म
नारी उत्थानका पनि थुप्रै बिस्कुनहरू सुकाएर
पुरूषले बोकेको जिम्मेवारीको सिङ्गै भागबाट
आधा हिस्सा आफ्ना लागि पनि छुट्याएर
परिवार प्रतिको अनेक जिम्मेवारीले थिचिएको पुरूषलाई
खुकुलो स्थानमा ल्याउनु छ
नारी सशिक्तिकरणको दिपावली गरेर
उद्घोष गर्नुछ
पुरूष समान जोश जाँगर र हिम्मत ।


डा. शान्तिमाया गिरी
[email protected]