• २०८१ श्रावाण ११ शुक्रबार

हिसाब

संसार नेपाली

संसार नेपाली

हरि सर गणित विषयका नाम चलेका शिक्षक हुन् । सहरका विभिन्न स्कुल, कलेजमा अध्यापन गर्नेे उनलाई नचिन्ने विध्यार्थी कमै होलान् । उनीकहाँ ट्युसन पढ्न आउने विध्यार्थीको सानोतिनो घुइँचोनै लाग्ने गर्छ । सहरभरि अब्बल शिक्षकका रूपमा ख्याति कमाएका उनले पैसा पनि प्रशस्तै कमाएका छन् । २५ वर्षे शिक्षण पेसाबाटै उनले घर, गाडी इत्यादी धेरै कुरा जोडिसके । तर पनि एउटा कुराको अभावले भने उनलाई अझैसम्म पिरोलिरहेको छ, त्यो हो आफ्नो वंश धान्ने एउटा छोरो ! हरि सरका ४ सन्तान छन, ४ ओटै छोरी । जेठी छोरी त लगभग बिहे नै गर्ने उमेर पुगिसकी । कान्छी पनि ५ कक्षामा पढ्ने भसकी । हरि सर आफैँ पनि उमेरले ४५ कटिसके । तर पनि उनमा छोरोको चाहना अझै सेलाएको छैन ।

केहि महिना यता, हिजोआज हरि सर निक्कै खुसी देखिन्छन् । कारण, उनकी मेडम पूनः गर्भवती भएकी छिन् । ढिलै भएपनि आफ्नो हिसाब मिल्न लागेकोमा सर प्रफुल्ल छ्न् । नहुन् पनि कसरी  ? यही हिसाब मिलाउन उनले के मात्र गरेनन् ? उहिले गाउँमा दर्जनौँपटक कूलपूजा गरे, पछि देशभरका अनेकौँ मठमन्दिर धाए, त्यसबाट पनि केही नभएपछि नानाथरि विधि, आसन र फर्मुलाको पनि प्रयोग गरे । तर अहँ, कतैबाट केहि पार लागेन । यत्तिका वर्षपछि अनेकौँ  हिट एन्ड ट्रायल पश्चात् अन्ततः आज आएर उनको X र Y को योगफल मिलेको छ, X + Y अर्थात X प्लस Y क्रोमोसोम । सिटी स्क्यानले पनि नतिजा भेरिफाई गरिसकेको छ ।

एकाबिहानै कलेजमा पढाइरहेका बेला मोबाइलको घन्टी बज्यो । हरि सर हतारहतार कक्षाबाट निस्के र फोन उठाए । हस्पिटलबाट फोन गरेकी छोरीले उनलाई तुरून्तै आउन भनी । हरि सर हस्याङ्फस्याङ गर्दै त्यहाँबाट निस्किए र गाडी हुइँकाउँदै हस्पिटलतिर लागे । बाटाभरि उनका मनमा अनेक तर्कनाहरू खेल्न थाले । उनकी मेडमको सामान्य समयपूर्व सात महिनामै डेलिभरी हुन लागिरहेको थियो । पहिले पनि धेरै बच्चा पाइसकेकी, त्यसमाथि उमेर पनि छिप्पिसकेकाले डेलिभरी जटिल हुन सक्नेबारे डाक्टरले उनलाई पहिल्यै जानकारी गराएका थिए । मनमा अनेकौँ डर, चिन्ता बोकी हरि सर हस्पिटल पुगे । हस्पिटलको आईसीयु कक्षमा उनकी मेडम प्रसव वेदनाले छट्पटाइरहेकी थिईन् । ढोकाबाहिर कुरूवा बसिरहेका उनका छोरीहरू निकै हतास देखिन्थे । हरि सरले छोरीहरूसँगै बसी ईश्वरको प्रार्थना गरे ।

केहीबेरमा ढोका खुल्यो, भित्रबाट डाक्टर निस्किए । उनको अनुहारमा नैराश्यता प्रस्ट झल्किएको थियो । छिनभरमै छोरीहरू ड्वाँड्वाँ रून थाले । हरि सर छाँगाबाट खसेजस्ता भए । उनकी मेडमले उनका लागि छोरो त जन्माइछन् तर अत्यधिक रक्तस्रावका कारण आफ्नै ज्यान गुमाउन पुगिछन् । यता समय अगावै जन्मिएको नवजात शिशुले सास फेर्न नसकेपछि उसलाई भेन्टिलेटरमा राखिएछ तर केहि मिनेटमै शिशुको पनि मृत्यु भएछ । डाक्टरले यो सब सुनाइरहँदा हरि सरले आफुलाई सम्हाल्न सकेनन् र थचक्कै भुइँमा पछारिए । उनका आँखा अगाडि अतीतका दृश्यहरू झल्झली नाच्न थाले । वर्षौँ पहिलेका दृश्यहरू, जब उनले छोरा पाउने लोभका कारण आफ्नी मेडमलाई बारम्बार गर्भवती बनाइरहे । त्यस्तै केहि वर्षअघिका दृश्यहरू, जब उनले फेरि त्यही लोभका कारण मेडमलाई सहरको हस्पिटलमा लगि जबर्जस्ती गर्भपतन गराइरहे, बारम्बार, लगातार …

हरि सरलाई आफैँ प्रति घृणा जागेर आयो । उनलाई आफुले गरेका पापहरूप्रति गहिरो पश्चाताप पनि भयो । तर अब धेरै ढिला भैसकेको थियो । उनको पुत्रलाभको लालसाले उनकी श्रीमतीले ज्यानै गुमाइन् । छोरीहरूले आफ्ना आमा गुमाए । र उनी आफुले X र Y को योग मिलाउने चक्करमा ठूलो वियोग व्यहोरे । यसरी गणितका अब्बल शिक्षक कहलिएका हरि सर जिन्दगीको हिसाबमा भने नराम्रोसँग फेल भए ।


–संसार नेपाली