• २०८१ फागुन ३ शनिवार

भीडमा एउटा बिरूवा

कृष्णनील कार्की

कृष्णनील कार्की

बिरूवा दिनभरि झोक्रिरह्यो घामको काखमा
सहवासको सुम्सुमाइमा माटाको तातो स्पर्श
दिनौँ मान्छेबाट चिथोरिएको
एउटा लज्जित समयको मर्म

रातभरि रून्छ मर्न लागेको भविष्य
वर्तमान भने आफूमै व्यस्त
कसरी बुझ्छ होला ?
प्रगति प्रगति भनेर चिच्याइरहेको नारा
भविष्यको अन्धकूपमा गएर शब्दहीन हुन्छ भनेर

हरियाली सिर्जनाको खेतमा होस्
अथवा मनका कुना- कोप्चाका भित्ताहरूमा
हाँसेर कहिले आउँला धरातलमा
अशोक वाटिकाको मोहमा अल्झिएर ।


कृष्णनील कार्की (विश्वनाथ, असम, भारत)
knkarki [email protected]