काठमाडौं आफैंमा केही पनि हुँदै होइन - Aksharang
  • २०७८ कातिर्क १० बुधबार

काठमाडौं आफैंमा केही पनि हुँदै होइन

मिलन समीर

मिलन समीर

काठमाडौंको खाल्डो भनेको
सिङ्गो नेपालको भूगोल होइन
सिङ्गो नेपालको भूगोल भनेको
काठमाडौंको खाल्डो मात्रै त झन् हुँदै होइन ।

उहिल्यैदेखि काठमाडौंको खाल्डोमा खसेको
सिङ्गो नेपालको भूगोल निकै खोजियो
तर अहिलेसम्म पनि भेट्दै-भेटिएको छैन
आफ्नै देब्रे छातीमा दाहिने हात राखेर कसले भन्नसक्छ-
काठमाडौं द्वारा कर्णालीको गला रेटिएको छैन ?

सिला खोजे जस्तैगरि
सिङ्गो नेपालको भूगोलभरि
काठमाडौंको खाल्डो कहाँमात्रै खोजिएन ?
सियो खोजेको भए बरू सजिलै भेटिन्थ्यो होला
दुर्भाग्य ! अहिलेसम्म काठमाडौंको खाल्डो
कहिँकतै पनि भेटिएन ।

काठमाडौंको खाल्डोभित्र नभेटिएको
सिङ्गो नेपाली भूगोलको खोजीगर्न
काठमाडौंको खाल्डोबाट बाहिर निस्कनुपर्छ
सिङ्गो नेपाली भूगोल भित्र नभेटिएको
काठमाडौं खाल्डोको खोजीगर्न
काठमाडौंको खाल्डो भित्रै पस्नुपर्छ
आफुलाई ठालु सम्झिरहने काठमाडौंलाई
आजीवन आफ्नै तालुमा आलु फलाएर बसिरहेको बेला
प्रश्न गर्नै हुँदैन, सदैव चुपलागेर बस्नुपर्छ
चित्त नबुझेको कुरामा आँखा जुधाएर प्रश्न गर्नासाथ
काठमाडौंको नजरबाटै मोफसलकाहरूले खस्नुपर्छ
त्यसैले काठमाडौं भनेपछि
काठमाडौंको खाल्डो मात्रै हुनुपर्थ्यो
होइन भने सिङ्गो नेपाली भूगोलभित्र
काठमाडौंको अस्तित्वले छुनुपर्थ्यो ।

काठमाडौं आफैंमा केहीपनि हुँदै होइन …
काठमाडौं लाई “ काठमाडौं “ बनाएको
काठमाडौं आफैंले होइन
काठमाडौं लाई कब्जा गरेर बसिरहेका
काठमाडौं बाहिरका काठमाडौं बासीहरुले हो ,
जसको जरा गाडिएको छ-मोफसलको पनि मोफसलभित्र
काठमाडौं आफैं बिग्रेको होइन, बिगारिएको हो
बिनाको खोजीमा भौंतारिरहेको कस्तुरी मृगजस्तै
आफैंभित्रको असीमित क्षमतालाई चिन्नै नसकेर
काठमाडौंलाई चाहिनेभन्दा बढी भाउ दिइरहेको
मोफसलकै कारण काठमाडौंको फुर्ति बढिरहेको हो
काठमाडौंले मोफसललाई टेर्न छोडिरहेको हो
फुटेको आँखाले समेत हेर्न छोडिरहेको हो
त्यसैले त अहिलेसम्म पनि काठमाडौंको कुरुप अनुहारमा
सिङ्गो नेपाली भूगोलको सुन्दर आकृति कोरिदै कोरिएन
सिङ्गो नेपाली भूगोलको अँध्यारो अनुहारमा
काठमाडौंको उज्यालो चमक छरिदै छरिएन ।

आफुलाई फुटेका आँखाले समेत हेर्दै-नहेर्ने काठमाडौंलाई
मोफसलले पनि हेर्दै-नहेरिदिने हो भने
आफुलाई फिटिक्कै सुन्दै-नसुन्ने काठमाडौंलाई
मोफसलले पनि सुन्दै-नसुनिदिने हो भने
बाटोमा देखेर पनि बोल्दै-नबोल्ने काठमाडौंलाई
मोफसलले पनि देखेको-नदेखेझैँ गरि हिंडिदिने हो भने
आफुलाई पढ्दै-नपढ्ने काठमाडौंलाई
मोफसलले पनि पढ्दै-नपढिदिने हो भने
आफ्नो बारेमा कहिल्यै केही लेख्दै-नलेख्ने काठमाडौंलाई
मोफसलले पनि देख्दै-नदेखिदिने हो भने
आफ्नो पुरै वेवास्ता गर्ने काठमाडौंलाई
मोफसलले पनि कुनै वास्ता नगरिदिने हो भने
सर्पले काचुली छोडेर हिंडेजस्तै मोफसलले
काठमाडौंलाई ठाउँको-ठाउँ छोडेर हिंडिदिने हो भने
के हाल हुन्थ्यो होला काठमाडौंको ?
कस्तो हुन्थ्यो होला काठमाडौंको मन ?
साच्चै के गर्थ्यो होला काठमाडौंले ?

बतास जस्तै बतासिदै-बादल जस्तै बरालिदै
मोफसलको पनि मोफसलभित्र रूमलिरहेर
समय बिताउने उपक्रममा लागिरहेको भुइँमान्छे म
यही सोचेर चित्तबुझाई बसिरहेको छु-यतिबेला … ।


मिलन समीर (स्याङ्जा)
guptatara1977@gmail.com