• २०७९ चैत १२ आइतबार

स्तब्ध मन

मन गहिरे

मन गहिरे

म आकाश हेर्दै थिएँ
ऊ सागरको गहिराइ नाप्दै थियो
म आफ्नो अटल दृढतामा
अडिग थिएँ
ऊ चन्चल मनोहराको
पानीझैँ बग्दै थियो
भान हुन्थ्यो, ऊ कतै
उडेको बेतुकको घोडा जस्तै दौडिरहेको

म म थिएँ, ऊ ऊ थियो
उसका अभावका तोप गोलाहरू
म माथि बर्र्सन्थे, प्रहार हुन्थे
म चट्टान थिएँ
ऊ पगाल्न खोज्दै थियो
ऊ मेरो निर्भीकता हटाउने दावा गर्दथ्यो
म इज्जतको इन्द्रेणीमा रमाउन चाहन्थेँ
तर ऊ यौनका उतकुण्ठाहरूमा रमाउन खोज्थ्यो

ती जन्मौजन्म अनि
पुनर्जन्मका प्रतिबिम्बहरू
झल्किएका आशा ती त उसका आँखाहरू
सपनामै छलाङ्ग मारिरहेछन्
म विपनाको धरातल देखाउँछु
उसले देखेका सपनाका बिस्कुनहरू
सायद असरल्ल छन्,
भताभुङ्ग समाजका ऐनाहरू
म आदर्शको गान्धी बताउँछु
ऊ हिटलर अनि नाजी बताउँछ
घरी घरी ऊ ढिपी कस्ने अबोध जस्तै
आफ्नै प्रेमको इजलासमा
मलाई ठड्याइरहन्छ

त्यो बहसमा निस्तब्ध हुन्छु म
हेर्दाहेर्दै तासै तासको ताजमहल
गर्ल्याम्म ढलेको आभाष हुन्छ
हेर्दाहेर्दै यो पागलपन बाट
ऊ झल्यास्स बिउतिएझैँ लाग्दैछ
सायद अब ऊ कुनै नौलो संसार हेर्दै होला
फेरि आशातीत ती रहरहरू समेटेर भोलिको
भविस्य खोज्दै होला फेरि कुनै अनुहारमा !!


(तानसेन, पाल्पा निवासी मनगहिरे चर्चित कवि हुन् ।)
[email protected]