म भरि हुर्किएको छ उज्यालो
घामझैं फैलिएका छन् सपनाहरू
आकाश भएर टांगिएको छ सफलता
भगवान जस्तो मै भित्र हुर्किएको छ खुशी
र नदीझैं संग्लिएका छन् तमाम सम्बन्धहरू
अँध्यारो नदेखेको होइन
हिर्काउन नखोजेको होइन चिसो सिरेटोले
बेलाबेलामा असिना खसेको सुन्छु
दुःख बर्सिन्छन् हिउँजस्तो पटक पटक
ठाउँ कुठाउँ अभावको झरी दर्किन्छ
र, पनि निर्धक्क छु
बेपरवाह हिडिरहेछु जीवनसँग
म भरि हुर्किएको उज्यालोले
मलाई यी सबबाट टाढा राखेको छ
र म निस्फिक्री छु जीवनसँग ।
आमा हुनुहुन्छ,
र म भरि हुर्किएको छ जीवनको उज्यालो ।
(लोहनी चर्चित कवि तथा साहित्यकार हुन् ।)
[email protected]