जीवन
सुरु हुन्छ रित्तो कागज भएर
इन्द्रेणी अनुभवका बहुरङ्गी रङहरू सँगालेर
कसैले कोर्छौं कविता
हार्दिकताको कलेजी रङले
कसैले बुन्छौँ आख्यान
सम्बन्ध, सङ्घर्ष र नागबेली यात्राका रङ्गीबिरङ्गी धागोले
कोही अभिव्यक्त हुन्छौँ समयको रङ्गमञ्चमा
जीवन्त नाटकजस्तो भएर
जीवन भन्नु पनि त
आखिर नाटक नै त हो
मात्र पात्रहरू बदलिरहन्छन्
बाँकी त सब युगौँदेखि यथावत चलिरहेछ आफ्नै लयमा ।
बतासले सुसेलेझैँ रूखका पातहरूमा
गतिशीलताको नूतन गीत
हरेक बिहान
शीतले पोतेझैँ फूलका पत्रहरूमा
उपस्थितिको चम्किलो चिह्न
हरेक समयले पोतेर जान्छ
परिचयको एउटा भिन्न पोट्रेट
बिहान- साँझ, साँझ- बिहान भएर
अविच्छिन्न बगिरहेछ समय- नदी
जलमग्न आँखाहरू
या कलेटी परेका बगर- ओठहरू
स्फटिक हिमाली मुस्कानहरू
या उत्साही पहाडी बेगहरू
हरिया तराई रहरहरू या ध्यानस्थ बुद्ध दहहरू
सबैसबै प्रतिविम्ब हुन् जिउँदो समयका ।
बग्दा बग्दै सग्लिन्छ खोलो
हिँड्दाहिँड्दै पहिलिन्छ बाटो
टिकटिक टिकटिक धड्की रहेछ पृथ्वी अविश्रान्त
महिनौँदेखि रक्तअल्पताले पहेँलिएको अनुहारजस्तो दूबो
पिएपछि घामपानीको पोषिलो हार्दिकता
गाढा हरियो प्रेम बनेर झाँगिएको छ
धरतीको छातिभरी
सर्पले काँचुली फेरेझैँ
पहिरिँदै छन् नाङ्गा रुखहरूले हरिया वस्त्र
मन्दमन्द मुस्काइरहेका फूलहरूलाई चुम्दै
परिवेशभरि घुमिरहेछ वासन्ती हावा
ए बन्द कोठामा कविता लेखिरहेको कवि !
झ्यालबाट बाहिर हेर
तिम्रो कल्पनाभन्दा पनि सुन्दर तस्बिर बनेर
मुस्कुराइरहेछ प्रकृति तिम्रो सामुन्ने।
(टेक्सस, अमेरिकानिवासी सुमन चर्चित कवि हुन् ।)
[email protected]