गजल

जब झर्छ धर्तीमा
घामको धुन
फूलहरू खुसीले नाच्छन् यता-उता
वृक्षहरू मुस्काउँछन् फर्किएर माथितिर
जीवजन्तुहरू उफ्रिन्छन् गदगद भएर
रमाइलो हुन्छ
घमाइलो हुँदा यो धर्ती
नबजेर पनि सुनिन्छ
नसुनिएर पनि बज्छ
देखिन्छ यो
उडिरहन्छ मन
र महसुस भइरहन्छ घामको धुन
चराहरू चिरबिर गरिरहन्छन्
उडिरहन्छन् घामकै पखेटा लाएर
धुनले मन चङ्गा पार्छन्,
माहुरीहरू, पुतलीहरू भुनभुनाइरहन्छन्
घामको धुनमा
बाच्छी, पाठीहरू उफ्रिरहन्छन्
घामको धुनमा
बादल आउँछ
छोप्छ घरि
हावा चल्छ
चिसो थप्छ अलि
पानी पर्छ
आफ्नै राग अलाप्छ फेरि
रोकिँदैन घामको धुन
त्यही धुन हेर्न
त्यही धुन सुन्न
त्यही धुन चुम्न
जब धर्ती फोडेर हुन्छ अङ्कुरण
जब हाँगाबाट निस्कन्छन् कोपिलाहरू
र कोपिलाबाट निस्कन्छन् फूलहरू
हिमाल पग्लिएर जब बग्छ नदी
रङहरू आकाशतिर लाग्छन्
धर्तीबाट इन्द्रेणी पुल हुँदै,
म बोकेर घाम
गाँसेर माया
उडिरहन्छु सुन्दै घामको धुन
घामको धुन अरू कसैले पनि सुन्छन् कि
म मात्रै हो सुन्ने ?
(हाल टिमिन्स, क्यानडानिवासी गौतम चर्चित कवि हुन् । उनी नेपाली साहित्य समाज क्यानडाको दुई कार्यकाल अध्यक्ष रहिसकेका छन् ।)
[email protected]