• २०८१ असोज २९ मङ्गलबार

प्रवासी- मन

वसन्त श्रेष्ठ

वसन्त श्रेष्ठ

‘धेरै पढेर ठूलो मान्छे बन्नुपर्छ’
बुबा सधैँ सम्झाउने गर्थे
आमा भन्थिन्- ‘ज्ञानी हुनू अनि ठूलो जागिर खानू’
म ठूलो मान्छे बन्न गाउँबाट सहर पसेँ
साँघुरो गल्लीको साँघुरो कोठामा
गाउँकै दाइहरूसँग कोचिएर बसेँ
दिनभर काम, रातमा कलेज गएर पढेँ
भो क, तिर्सना र चाहनालाई टुप्पीमा बाँधेर पढेँ

पढ्दै जाँदा
व्यावहारिक ज्ञान र राजनीतिका ज्ञान पनि पढियो
नैतिक शिक्षाका ठेली पढियो
सामाजिक शिक्षाका गह्रुङ्गा पुस्तक पनि पढियो
विद्यार्थीका हक अधिकारको वकालत गरियो
अन्याय र अत्याचार विरूद्ध जुलुस निकालियो
समानता र स्वाधीनताका ठूल्ठूला नारा लाइयो
साँच्चि भनौँ  भने
आफ्नो पढाइसँगै अरूका दुःख पनि बोक्दै हिँडियो
आफ्नो कलमसँगै दीनदुःखीका व्यथा पनि लेखियो

तर
बाबुले भनेझैँ  ठूलो मान्छे बन्न सकिएन
आमाले सोचेझैँ  ठूलो जागिर पनि खान सकिएन

देशको मुहार फेर्न नसकेपछि
आमा- बाबुको सदिच्छा पूरा गर्न नसकेपछि
आफू र आफ्नो परिवारका लागि
अहिले म प्रवासमा छु
दिनभर मिहिनेत गर्छु
सहयोगी बन्ने कोसिस गर्छु
माटोको भार र ज्ञानको सारमा
मातृभूमिको गौरव बोकेर हिँड्ने गर्छु
प्रवासमा माटोको माया धेरै लाग्दो रहेछ
छुटेको आमा र बाबाको प्यार बल्झेर आउँदो रहेछ
जब देश दुख्ने गर्छ म भित्रैदेखि रूने गर्छु
जब देशवासी रूने गर्छ
म एकतमासले रूने गर्छु
छोडेर आएकाको यत्रो किन माया लाग्छ
नदेखेको देशवासीको प्यार किन बढ्दै जान्छ
मलाई थाहा छैन
प्रवासमा देशको किन माया धेरै लाग्छ
प्रवासमा देशवासीको किन माया धेरै लाग्छ

जबजब म देश दुखेको सुन्छु
तबतब मेरो हृदय पग्लन थाल्छ र आँखा बाट झर्ने गर्छ
जबजब देशवासीको पीडा र व्यथा सुन्छु
तबतब मल्हमपट्टी लाइदिन जान मन लाग्छ
गाउँमा मात्र दुःख, व्यथा र पीडा
किन हुन्छ भन्ने प्रश्न सुन्दा
गाउँको व्यथा बोक्न जान मन लाग्छ

तर म एक निरीह नेपाली
आँसु सिरानीमा भिजाउनु अनि
परिवारको छाक कटाएर
केही सहयोग पठाउनुबाहेक
के पो गर्न सक्छु र ?

भूकम्पमा सकेको केही परिश्रम पठाएँ
त्यो कहाँ गयो थाहा भएन
लत्ता कपडा पठाएँ
त्यो पनि गाउँका ठूलाठालुले नै खोसेछन्
स्कुलको छानोको लागि जस्ता पठाएँ
त्यो पनि कसैको गोदाममा थुप्रिएका छन् रे

भूकम्प पीडित त जाडोमा पनि अझै
खाली टहरामा पो छन् रे
बच्चाहरू अझै खुल्ला चौरमा पढ्छन रे
गाउँमा अझै अनिकाल र महामारी बढ्दै छ रे
दुःख त गरिबको भागमा मात्र पो छ कि क्या हो
सरकार त गाउँमा जाँदैजाँदैन रे
अचेल सरकार त छ कि छैन बत्ती बालेर खोज्नुपर्छ रे
देशको दुःखले प्रदेशमा पीडा बढ्दो रहेछ
देशवासीको बिजोक र व्यथाले प्रवासी- मन रूदोरहेछ

देश त नयाँ नेपाल भयो भन्थे
नयाँ संविधान आयो भन्ने पनि सुन्थेँ
अब दुःखीका नौलो सूर्य उदायो भन्थे
विकासका पखेटा लाग्ने भो
यस्तैयस्तै पो सुन्ने गर्थें

खै के पो भएछ
तर वर्षौं बित्दा पनि
देश त उही पहिलाकै जस्तो पो रहेछ
सबैसबैले भने
दण्डहीनताको जरो अझ उखेलिएनछ
भ्रष्टाचारको बिउ अझ मासिएनछ
गुन्डाको राज अझै कायमै रहेछ
देश फर्कने युवाका सपना तुहिन पो थालेछ

उता देशमा त
स्थिति उही, परिस्थिति उस्तै पो रहेछ
भ्रष्टाचारीहरू फेरि हाकिम पो बनेछन्
बलात्कारीहरू शिक्षक बनेर उपदेश दिने भएछन्
गुन्डाहरू सुरक्षाका ठेकेदार बनेर
देशको सुरक्षा गर्दा पो रहेछन्

इमानदार, नैतिकवान र निस्वार्थी नेता कोही भएनछ
आफूभन्दा अरूको
परिवारको भन्दा समाजको
अनि आफ्नोभन्दा देशको सोच्ने नेता जन्मेन छन्
त्यसैले मलाई थाहा छैन
नुनको सोझो गरेर खाने असल मान्छे
किन सधैँ भोका भए
मिहनेती र इमानदार मान्छे
किन सधैँसधैँ नाङ्गा भए

थाहा छैन
मजदुरहरू कहिले खुसी र सुखी हुन्छन्
ज्यामीहरू कहिले पेटभरि खान पाउछन्
विद्यार्थीहरू निःशुल्क कहिले स्कुल जान सक्छन्
अनि महिलाहरू निर्धक्क भएर काममा जान सक्छन्

सधैँ सत्यको जित हुने विश्वासमा
सधैँ असल मानिस बन्ने दौडमा
जँघार तरेँ, समरमा दौडेँ अनि विश्वासमा तैरिरहेँ
तर आजसम्म पनि सबैभन्दा पछिको पछि नै रहेँ
सत्यलाई चिर्न अँध्यारो बादल फोड्न अनवरत लागिरहेँ

सत्य र असत्यको लडाइँमा सत्यको जित हुन्छ भन्थे
असल र खराबको लडाइँमा सधैँ असलको जित हुन्छ भन्थे
तर थाहा छैन कुन समय र कुन जुगमा आउने हो

अनि म जहिले पनि मेरा बुबा र आमालाई सम्झने गर्छु
अनि प्रश्न गर्ने गर्छु
म कहिलेसम्म असल र इमानदार मान्छे
पीडित बनेको साक्षी बनिरहूँ ?
अनि यो देशमा निजी स्वार्थी नेताहरूको
कहिलेसम्म नौटङ्की हेर्न विवश बनिरहूँ
प्रश्न बनेको आज करिब चार दशक लाग्दा पनि
प्रश्न निरूत्तर नै बनिरहेकोछ ।


(हाल भर्जिनिया, अमेरिका निवासी श्रेष्ठ चर्चित साहित्यकार हुन् ।)
[email protected]