अचेल मुनाहरू पनि परदेश जान्छन्
अलिकति आमाले खाँदेको गुन्द्रुक
एक पोको ताइचिन चिउरा
श्रीमानले दिएको एक अँगालो माया
छोराछोरीको कलिला अनुहारको याद
अनि हत्केला भरिका भाग्यका रेखाहरू बोकेर
सुन्दर भविष्य खोज्न घर छाड्छन् मुनाहरू
म पनि तिनै मध्येकी एक हुँ
यतिवेला
मरूभूमिमा म पसिनाको वर्षा गराउँदैछु
रोप्दैछु बाध्यताको बिरूवा
र कल्पिँदैछु सपनाको मीठो आगत
हिँड्ने वेलाको रातो टीका
साइतको जोर घडा
गलामा फूलमाला र खादा
आशीर्वाद र शुभकामनाहरू थिए
अहो बाध्यताले कसरी मक्काउँछ मान्छेलाई
उड्ने वेला
जहाजभन्दा धेर मन उड्यो
आखाँभरि छोराछोरीको तस्बिर नाचिरह्यो
मुटुभरि गाउँको माया बग्यो
यता त उस्तो फुर्सद हुन्न
झुक्किएर आउने फुर्सदमा
कहिले पछाडि फर्की हेर्छु
कहिले आउने अगाडि हेर्छु
मरूभूमिमा आफ्नो पैतालाले महसुस गर्छु
तातो बालुवा
तातो पानी
झन्, धेरै भतभत पोल्ने व्यावहारहरू
तैपनि मरूभूमिमा बगेको पसिनाले
केही प्यास बुझेका छन् आफ्ना
केही रहर मेटिएका छन् आफन्तको
केही उज्याला भएका छन् सपना
यथार्थमा म
बनाइरहेछु मरूभूमिमा हरियाली
हरपल बेचिरहेकी हुन्छु श्रम
त्यसवेला लाग्छ
यो हरियाली आफ्नै माटोमा रोप्न पाएको भए ?
हो, अनि त मुटु भक्कानिएर आउँछ ।
(न्योपाने चर्चित साहित्यकार हुन् ।)
[email protected]