• २०८१ माघ ११ शुक्रबार

चार मुक्तक

रूद्र अधिकारी

रूद्र अधिकारी

१.
मुटुमा जाने बाटो एकतर्फी बने पनि ।
स्वार्थीलाई थाहा हुन्छ बाटो निस्कने पनि ।
वास्तविक प्रेमीले मौनता पनि बुझ्छन्,
नाटक गर्नेले चाहिँ बुझ्दैनन् भने पनि ।
२.
आगो नलगाईकन आफैँ बल्ने केही छैन ।
फालेको चीज जमिनमा नखस्ने केही छैन ।
आखिर बाँच्नु त हामीलाई जमिनमा नै पर्छ,
पौडिन जान्दैमा घमन्ड गर्नपर्ने केही छैन ।
३.
व्यावहारिक नबनी मनको कुरा छान्ने गर्छौं ।
आफू भलो त जगत् भलोको सिद्धान्त मान्ने गर्छौं ।
अरू कसैलाई खराब कसरी ठान्न मिल्छ र ?
खराब हामी हौँ सबैलाई असल ठान्ने गर्छौं ।
४.
मुटुको क्षमतासम्म त चोट थापेको हो ।
लगातार आएपछि नियत बुझेको हो ।
कहिलेकाहीँ जम्काभेट हुने नै रहेछ,
स्वार्थीको नजिक नै नपरौँ त भनेको हो ।


(अधिकारी चर्चित साहित्यकार हुन् ।)
[email protected]