English Poem
जन्मिरहेछ एउटा कलिलो घाम
छरिरहेछ उज्यालो
क्रमशः भूगोलका पत्रपत्रभित्र
सुन्दर, मनोहर बनेको छ दृश्य- वातावरण
हृदय सुमसुम्याइरहेको छ हिमशैली पवनले
ऊर्जा फैलाइरहेको छ सप्तरङ्गी किरणले
आऊ, सुरू गरौँ हामी पनि
उषाको मिर्मिरेसँगै कर्मयोगको सहयात्रा
जन्मिनु, कर्म गर्नु र अन्त्यमा मर्नु
सविताको नियति हो र मनुष्यको पनि
जसरी सूर्यले
सृष्टिका यावत तरेलीहरूमा ऊर्जा छर्छ
दृष्टिका सम्पूर्ण परेलीहरूमा प्रकाश भर्छ
नीलो आकाशका काला धब्बाहरू भत्काउँछ
कर्म मात्र होइन सत्कर्म गर्छ
त्यसैगरी हामी पनि
जनजनमा उज्यालो छरौँ मानवता र सद्भावको
मनमनमा सन्देश भरौँ विश्वबन्धुत्व र भाइचाराको
झुमा, देउकी, कमैया, कमलरीको कुसंस्कार चुडाउँदै
दहेज प्रथा र बोक्सी मानसिकताको विकृति डढाउँदै
शंखघोष गरौँ अन्याय र दण्डहीनता विरुध्दको
प्रवर्धन गरौँ ’बसुधैव कुटुम्बकम’ को
आऊ, छिटोछिटो गरौँ
जसरी सूर्य विलीन हुनेछ क्षितिजमा
उज्यालो लीन हुनेछ प्रकृतिमा
त्यसैगरी हामी पनि त
मिल्नेछौँ पञ्चतत्वमा
र बिल्नेछौँ समयचक्रमा
अमरआत्मा लीन हुनेछ परमात्मामा
तसर्थ आफूले आफैँलाई चिनौँ
जीवनजगत्लाई जानौँ
उज्यालो खोजौँ र अन्धकारलाई चिरौँ
उज्यालो रोपौँ र उज्यालो फलाऔँ
उज्यालो पोखौँ र उज्यालो भरौँ ।
(सभापोखरी– १ सङ्खुवासभानिवासी चापागाईं नवोदित साहित्यकार हुन् ।)
[email protected]