कथा

प्रभातमा बटुलिने
ती सारा रश्मि सूर्यको
हर साँझमा समेटिने
छटा मीठो छ चन्द्रको !!
धरासित म सोधौँ कि
कति अनन्त छ्यौ भनी ?
सागरसित नै बोलूँ कि
कति महान् छ्यौ त नि !!
यस्तै प्रश्न गर्छु सुन म
त्यो पवनसित नै पनि
दिलको भाव कस्तो छ
मित्र- सखा तिम्रो भनी ।।
माटो मेरो उर्वर बनी
फलोस् फुलोस मेरो भूमि
नेपालीको मुहारमा
हाँसो खुलोस् हरदम रमी !!
कति विचित्रको मन
हरपल नयाँ खोजी रहने
सद्भाव सुखद साथ यो
हृदयले रोजी रहने
माटैसित प्रीति गाँसी
एउटा कथा म लेखूँ कि
गुराँसको रङ्ग चोरी
देशलाई चिठी कारूँ कि !!
हिमालका हर शैलको
कथा कोर्न नि मन थियो
तेत्तीस कोटी ईश्वरलाई
भाकल गर्ने रहर थियो ।।
किन जलको धनी भूमि
काकाकुलझै बनिरह्यो
प्रकृतिले भरिपूर्ण यो
मेरो भूमि यस्तो पो भयो !!
एकान्तमा तारा माझ
बस्ने ठूलो धोको मनमा
सुटुक्कगै चन्द्रसित
बात् मार्ने रहर जीवनमा ।।
हरपल मीठा तरङ्गले
मनको भाव रमाइरह्यो
देशको माया छातीभरि
हरदम यसै झुलिरह्यो ।।
हिमालमा पुगौंकी
यति सुन्दर छ्यौ भन्न
पहाडलाई सोधौँ कि
खनिज नै राख्यौ टन्न ।।
तराईसँग बोलौँ कि त
फलेकी यसरी कति
तिमी जगत रक्षार्थ छ्यौ
सधैँ उर्वर बनेकी भनी ।।
हे देशका सहिद, त्यागी
सन्त,नेतागण सबै
देशलाई जीवन ठान्ने
सारा देश भक्तहरू नै ।।
कर्म गरेर देशको माटो
उर्वर पार्ने कृषकहरू
देशका लागि रगत- पसिना
बगाउने सारा मनहरू
मेरो मनको बगैँचामा
हजार कोटी फूल फुलून्
नेपाललाई तीन कोटी
नेपालीले माया गरून् ।।
कर्म गरेर निधारमा
मोती फलाउन सकौँ
विश्वभरि हिमालको
नाम उच्च राख्न सकौँ !!
(काफ्ले सक्रिय साहित्यकार हुन् ।)
[email protected]