सुख- दुखः सब सम हुन्छ
जब एक दुई बोतल उड्छ
बूढी पनि तरूनी देख्छ
जब ऊ मदले मस्त हुन्छ ।
पैसाको पनि जोहो हुन्छ
जब मनमा तिर्खा जाग्छ
घरकी बूढीपनि उर्वशी देख्छ
जब ऊ मदले मस्त हुन्छ ।
नमिठो पनि मीठो हुन्छ
सितन छेउमा पाए पुग्छ
भटमास पनि काजु देख्छ
जब ऊ मदले मस्त हुन्छ ।
कालोलाई पनि सेतो देख्छ
सबतिर इन्द्रेणी झल्किन्छ
नजाने पनि अङ्ग्रेजी बोल्छ
जब ऊ मदले मस्त हुन्छ
गाह्रो- साह्रो ती सब बिर्सन्छ
जोस निकाली ऊ उफ्रिन्छ
भाव निकाली भाषण गर्छ
जब ऊ मदले मस्त हुन्छ ।
गरिबी आफ्नो ऊ बिर्सिन्छ
श्रीमतीलाई रानी हौ भन्छ
मुखले उनलाई सब किन्दिन्छ
जब ऊ मदले मस्त हुन्छ ।
गीत र सायरी गाउन थाल्छ
टेबुल ठटाई तबला बजाउँछ
भावुक भएर आँसु निकाल्छ
जब ऊ मदले मस्त रहन्छ ।
जब सब नाटक गरेर सक्छ
रित्तो गिलासमा औँला घुमाउँछ
त्यहीँ सोफामा मस्त निदाउँछ
जब ऊ मदले मस्त रहन्छ ।
(भर्जिनिया, अमेरिकानिवासी उपाध्याय सक्रिय कवि हुन् ।)
[email protected]