नियति - Aksharang
  • २०७८ असोज १२ मङ्गलबार

नियति

रुद्र अधिकारी

रुद्र अधिकारी

संसारिक दृष्टिले अन्तर्पीडा भेट्न सक्दैनन् ।
खेलिएकाहरूले अरूसँग खेल्न सक्दैनन् ।।
मुस्कानभित्रको पीडा र क्रोधभित्रको प्रेम ।
जो कोहीले यसलाई देख्न र लेख्न सक्दैनन् ।।

सोच्नु नै पर्दैन स्वार्थ पूरा भएपछि तर्किन्छ ।
प्रेमीसँगै आफू खरानी बन्न चितामा सजिन्छ ।।
मान्छेभन्दा इमानदार त बरू कोरोना रहेछ ।
चाहनु मात्रै पर्छ पूर्ण समर्पित भइदिन्छ ।।

बाँधिसकेको प्रेमिल गाँठो फुकाउने खुबी छैन ।
संसार यस्तै हो भनी मन बुझाउने खुबी छैन ।।
भूकम्पले भत्काएको गाउँ जस्तो भएको छ मुटु ।
कोही बस्दैनन् तर नयाँ बस्ती बसाउने खुबी छैन ।।

मनको कुरा छर्लङ्गै देखाएको मात्रै हो ।
तन पनि टाढै राख्न लगाएको मात्रै हो ।।
सम्बन्धमा दूरी त मान्छेको मनमै थियो ।
कोरोनाले देखावटी हटाएको मात्रै हो ।।

चेपारे कुरामा फूलबुट्टा भरिदिए भयो ।
दुर्गन्धित तनमा अत्तर छरिदिए भयो ।।
आजकल असल बन्नु आवश्यक ठान्दैनन् ।
अरूको अगाडि अभिनय गरिदिए भयो ।।

विशालनगर काठमाडौँ