उसको जिन्दगी
आज सार्वजनिक स्थलमा
प्रदर्शनको लागि टाँगिएको छ ।
कोही आउँछन्
र दुई पैसा दिन्छन्
हजारको फोटो खिचेर लैजान्छन् ।
कोही आउँछन्
र एक प्याकेट खाना दिन्छन्
एउटा सिङ्गो चलचित्र बनाएर लैजान्छन् ।
बचेखुचेको स्वाभिमान
सबै- सबै खोसेर लैजान्छन्
केही थान कपडाको साटो ।
फूलजस्तो निश्छल जिन्दगी उसको
हिमालजस्तो अटल शिर
पर्वतजस्तो मजबुत छाती उसको
श्रमको गन्धले भिजेका
वलिष्ठ पाखुरा उसका
इज्जत, प्रतिष्ठा र स्वावलम्बनको कसीमा
जँचेको कर्मशील जिन्दगी
यसैगरी एकदिन आएथ्यो समय
परिस्थितिहरूको एक भयानक ग्याङ लिएर
र यसै गरी छिनेर लगेको थियो-
क्यामराले घोचेको
येट्युबरहरूले चपाएको
कविको सघन संवेदनाले पुरिएको
धारिला कलमहरूका निबले मिर्मतापूर्वक दागेको
र सहानुभूतिका शब्दहरूले सुस्तरी सुमसुमाएको
एक ‘ब्ल्याक एन्ड ह्वाइट’ जिन्दगी थमाएर;
जो आज
सार्वजनिकस्थलमा
नाङ्गो भई प्रदर्शित भइरहेको छ
दुःखी गरिबको
गोपनीयताको
कुनै अधिकार हुन्छ कि हुँदैन सरकार ?
(चौबिसे, धनकुटानिवासी विस्मृत चर्चित स्रष्टा हुन् । उनका कविता, गीत, सम्पादन, अनुवाद गरी आधा दर्जनभन्दा बढी कृति प्रकाशित छन्)
[email protected]