• २०८१ पौष २९ सोमबार

प्रशान्तको डिलबाट क्रमशः

उदय निरौला

उदय निरौला

अँ प्रशान्त  ! आइपुगियो तिमीसम्म । ऐले त कोरोनाको दुष्ट बान्कीले थच्चिन, थन्किन र गुम्सिन बाध्य भएको क्षण तिम्रा जादु नगरीहरू पर्थ, ब्रिसबोन, मेलबोर्नहरू कतै त हेर्न, छाम्न अनि पर्घेल्न जुरेन भूतले खाजा दन्काउने साइतमा आइएछ । कोरोनाको यस कहरले रहरहरू सबै थन्क्याएर बस्नु, सुत्नु, उठ्नु, थच्चिनु, कक्रिनु अनि घाम लाग्छन् कि भनी बादलको दुलोबाट चियाउँनु, छिमेकी मारियाको बगैँचामा फुलेका फूलहरू, फलेर लटरम्म भएका कागतीहरू, सुनजस्तै बनेर बोटमै झुन्डिएका सुन्तलादानाहरू आँखामा पिइरहनु अनि हामी सँगसँगै घाम ताप्ने निर्दोष सलेमन्डरको खेललाई नियालिरहनु, गनगनाउनुका शब्दहरू भण्डारण गर्नु  यिनै दिनचर्या बनेकाछन् । नानीहरूले बालुवाको घर उठाउँदै र लडाउँदै गरेजस्तो मोबाइलका पाखाहरू हेर्नु, खोस्रनु अनि फेरि छाड्नु, फेरि समाउनु ठ्याक्कै नानीहरूको खेलजस्तो छ ऐलेको वर्तमान मेरालागि । हुन त रैथानेहरू काममा लागेकै देखिन्छन्, रेल चलिरहेकै छ, बस र ट्रामहरू पनि चलेकै छन्, स्कुलहरू, कलेजहरू र पपहरू उल्सवर्थहरू, महलहरू खुलेकै छन्, चलेकैछन्, अनि सडकमा प्रशस्तै गाडीहरू गुडेकैछन् । तर पनि हामी पाहुना तिम्रा नगरीका कसैले बोलाउन पनि कोरोना टाँसएकैछ, कतै हिँड्न पनि कोरोना नै टाँसिएको छ, यस्तैयस्तै छ यहाँको हाल र साहित्यकारलाई पनि कोरोना छ, सङ्घ- संस्थालाई पनि कोरोना मात्र छैन यहाँका रैथानेहरूलाई,  फरेनरहरू अनि पाहुनाहरूलाई कोरोनाको भय छ ।
सुन्छु, तिम्रो यो जादुइ नगरीलाई कोरोना मुक्त गरिसक्यो राज्यले तर बाहिरकाहरूलाई प्रवेश निषेध नै छ किनभने प्लेनहरूलाई आकाश खुलिसकेको अवस्था छैन र छैनन् बाहिरबाट आउनेहरू पनि । यस्तैयस्तै समाचारमा अनि भातभान्छा र अचारमा गुज्रिएको छ समय, ढलिरहेछ समय, अनि पलपल आयु थपेर भागिरहेछ समय ।
अँ प्रशान्त ! तिम्रो नगरी टेक्दा गर्मी अनि तातो हावाले पिसोल्टिएका थियौँ हामीहरू । उता यहाँको जङ्गलमा लागेको आगोले अरू बढी हैरानी झेल्नुपरेको थियोे । हामीलाई त त्यस्तो भयो भने ती जङ्गली जीवजन्तु, चराचुरुङ्गीहरूलाई अझ कस्तो भयो होला  । धेरैको इहलीला समाप्तै भयो, बाँचेकाहरू पनि कति छटपटीमा बाँचे हुनन् । आखिर उनीहरू पनि मान्छेजस्तै जीव हुन् । मान्छेमा चेतना बढी छ, उनीहरूमा कम । फरक त्यति त हो नि  !
हामी आएको एक हप्तापछि आगो निभेको थियो । बिस्तारी पानी पर्न सुरु भयो । वर्षा लाग्यो र निभ्यो आगो । हामीले वर्षा पनि देख्यौँ प्रशान्त तिम्रो फाँटमा अनि झेलिरहेछौँ  ऐले यो कोरोनाको कैदमा जाडो पनि । अँ प्रशान्त ! अझ कति समय झेल्नुपर्ने हो यो कोरोना कहर र तिम्रो मुटु नै कपाउँने हावा ! तिमी उसरी नै शान्त छचल्किरहिछौ, जसरी घामको प्रचण्ड रापमा अनि ऐलेको यो चिसो याममा पनि मात्र फरक छ ।  ऐले तिम्रा वरिपरि न पाहुनाहरू धेरै छन्, न रैथानेहरू धेरै  ।  तिमीसँग खेल्न आइरहेका छन् ।
अँ प्रशान्त ! तिम्रो यस भूमिबाटै चियाइरहेछु, म मेरो माटोको ऐले मौसम अनुसार पग्लिरहेको हिमाल अनि उही २०४५ तिरको नयाँसडक र स्वर्गीय कवि नकुल सिलवाल । जसलाई म सित कवि, सम्पादक विष्णुविभुले चिनाइदिनु भएको थियो । विष्णुविभुले मलाई अशेष मल्लसँग पनि चिनाएको सम्झना आउँछ सायद २०३९ को पौषको जाडोमा हो- म खग नेपाल दाजुको घर डिल्लीबजार गइरहन्थेँ, त्यो घर हामी इलामे र मलाई लाग्छ, हामी नाम सालिङ्गेहरूका लागि कुनै तीर्थस्थल नै लाग्छ । मलाई लागिदिन्छ अरूलाई नलाग्न पनि सक्छ । त्यो घर नजिकै बिष्णुविभु, रमण घिमिरे र अशेष मल्लहरू बस्नुहुन्थ्यो डेराडन्डा गरेर । मलाई पार्वती नेपाल दिदी र भगवती नेपाल दिदीले देखाइ दिनुभएको सम्झन्छु म ऐले यो सुदूर दक्षिणी भूभागबाट । त्यो वेला भर्खरै उमेरले बाइसे, म केकेन गरिएला जीवनमा भन्ने सोच बोकेको मान्छे । अनेकौँ सपनाहरूको भारी पछारिदिन्थेँ म एकैसाथ त्यो डिल्लीबजारको नेपाल परिवारको आँगनमा- लोकसेवा, कविता, भातचामल सबै । हैरानी दिन्थेँ म ती दाजु खेमराज र दिदीहरूलाई । स्नेह पनि पाएकै थिएँ र सम्बन्धका गाँठाहरू पनि ऐलेका र हिजोका मुख्य सचिव, अख्तियार प्रमुख र तिनताकाका कति सिडिओहरूसँग गाँसेको सम्झना पनि ऐले ३९ वर्षपछि पनि ताजै भइरहेको छ र कतिसँग अझ पनि हाई- हेलो चलिराखेको छ । माया गर्नेहरू मैले त्यो आँगनमा धेरै भेटेँ । सबै स्वार्थी थिएनन् उ वेला ऐलेजस्तो । सायद व्यस्त जीवनका कारण होला अनि अलिकति प्रविधिको युग र ग्लोबलाइजेसनका कारण ऐले मानिस बढी नै एक्लिँदै गएको महसुुस हुन्छ । कुन्नि मलाई मात्र हो वा अरूलाई पनि हुन्छ । मैले त्यही आँगनमा हाम्रा आँखामा राख्दा नबिझाउने नेपाली साहित्यका धरोहर दाजु डा. तारानाथ शर्माका भाइ माहिला पुष्पनाथ शर्मालाई पनि चिनेको र भेटेको । उहाँको डेरा दाइ खेमराज नेपाल र बिष्णु विभु दाइहरूसँगसँगै टाँसिएको थियो भनेहुन्छ । यस्तै डाक्टर दाजुका भाइ साँहिला लक्ष्मीनाथ शर्मा चलचित्र विभागतिर कतै काम गर्नुहुन्थ्यो । उहाँलाई पनि त्यहीँ  चिनेको थिएँ भने अर्का भाइ तेजनाथ तिनताका मसँगै जागिरे थिए । यसरी प्रायः सबै तारानाथ दाजुका भाइहरूलाई नजिकैबाट छाम्ने मौका मिलेको थियो । नामसालिङ इलामका संभ्रान्त ढकाल बन्धुहरू पछि आफ्नालाई स्नेह दिने, सहयोगी भावनाले ओतप्रोत अनि शिक्षाले सजिएका नेपालहरूनै होलान्  । यसो भनिरहँदा अरूलाई अपमान गर्न भने मैले चाहेको किमार्थ होइन । थिन त भट्टराई, निरौला, अधिकारी, सुवेदी र देवानहरू पनि थिए र छन् पनि तर बन्धुबान्धवमा अतिनै प्रेम भएका नमुनाहरूको रूपमा भने ढकालहरू जेठा र  माहिला नेपालहरू नै हुन् जस्तो मलाई लाग्छ ।  पछिपछि भट्टराईहरू पनि हुन् ।
अँ प्रशान्त ! यी गनगनलाई शब्दमा उन्ने अवसर नै मैले तिम्रै किनारामा पाएँ । झर्को नमान यो कोरोनाको घडी नै त्यो फर्सदिलो अवसर बनिदियो । प्रशान्त माफ गरिदिनू  !
ऊ हेर त घाम ताप्नेहरू ऐले तिम्रा किनाराको रेस्टुरेन्टहरूमा भरिएछन्, कोही कफीमा छन् त कोही बियरमा अलमस्त छन् । आफ्नो पारामा रमाउने कला सिकेकाछन् उनीहरूले ।
मेरै छेउमा रहेछन्, यी ट्रोम्प हन्डरसन नामका एक अङ्ग्रेज रैथाने अस्ट्रेलियन । यिनको कद र बान्की भने ठ्याक्कै हाम्रा नाटककार, समालोचक र प्राध्यापक दाइ मोहनराज शर्माको जस्तो । अघिसम्म यिनी केही लेख्दैथिए, के लेखे कतै कवि- साहित्यकार नै हुन् कि भन्ठानेर मैले परिचय गर्ने विचारले नाम सोधेँ । हुनत यसअघि नै मलाई उनले हाई भनेर मुसुक्क हाँसेका थिए । यो प्रायः सबै फरेनरहरूको शैली नै रहेछ हाई, थ्याङ्यु भनिदिने । उनले ‘हा’व आ यु भनेर सोधे । मैले हावा आयो भन्या सुने । अलिअलि हावा पनि चल्दै थियो । ‘फाइन’ भन्नपर्ने ठाँउमा ‘यस’ भने । यसरी बुझिन्छ अङ्ग्रेजीको उच्चारण हामी बानी नपरेकाहरूले विदेशमा खास गरेर मोदरटोङ नै अङ्ग्रेजी हुनेको । अरूको बुझिन्छ- चिनियाँ, टुर्की र खासमा एसियनहरूको । इटलियनहरू र नेपाली हामीहरू उस्तै देखिन्छौँ क्यारे प्रायः इटलियन हो, भनेर सोधको पाएँ मैले । नहुन पनि सक्छ । कहिलेकाहीँ बुझ्दाबुझ्दै अलि अर्थ नबर्थको बढ्ता पनि बुझ्ने हुन सकिन्छ, कहिलेकाहीँ नछाड्ने पनि छोडिन्छ र कहिलेकाहीँ त छाड्नै नहुने पनि छाडिन्छ । यस्तै पो हो कि ? के थाहा उसले किन सोध्छ,देख्छ उसका आँखाबाट पढिएको पनि हुइन्न । नत पस्नै मिल्छ उसका आँखामा ।
घामका पाइलाहरू पश्चिमी क्षितिजतिर पुग्दानपुग्दा जाडो निकै बढिसक्छ । छाडिसक्छन् मानिसहरू तिम्रो बालुवा चिसिन थालेपछि, पहेँला घामका रङहरूसँगै पर टल्कन थाल्छन् अभ्रकका खम्बाहरू, अग्लाअग्ला गगनचुम्बी महलहरू अनि टल्कन्छन् चिल्लाचिप्ला सडकहरू । म पनि तेर्सिन्छु बिस्तारैबिस्तारै गुँडतिर थप्पथप्प पाइलाहरू घिसार्दैघिसार्दै बालुवामा- ‘बाई !’ भन्दै । सिस्टमले चल्ने बस चड्छु । कार्ड मसिनमा टाँसेर कार्डबाटै पुग्ने ठाँउसम्मको भाडा असुल्छ । नेपालमा जस्तो ‘है कोटेश्वर,है सिंहदरवार छ छ’ भनेर कराउने कोही हुन्न  ।  बस् एक चालक, अनि भीड हुन्न कसैको पकेट मारिँदैन । शान्त । कति राम्रो सिस्टम छ । हामीकहाँ कल्पना पनि गर्न सकिँदैन ऐलेकै अवस्थामा त  ?
माथिको साहित्यकारहरूसँगको भेटघाट जोड्न अवनमा देखिरहेको मुस्लिमको साहित्य र मस्जिदले सम्झायो । मुस्लिमहरूको गजल बेजोड हुने । बहुत सुन्दर गजल बजिरहेको थियोे । मैले नेपालका गजल लेख्ने र गाउनेलाई पनि सम्झे तर हामी यस विधामा पनि पछि नै छौँ जस्तो लाग्यो । सङ्गीतको मिठास र शब्दहरू धेरै माथिल्लो उर्दुको ।
म बिष्णुविभु दाइलाई र गरिमा पत्रिका सम्झन पुग्छु । एकदिन २०४० को फागुनको वेला जैनेन्द्रजीवन र अर्का एक साहित्यकारसँग गजल नेपाली भाषामा मोतीरामपछि लेख्ने मानिस नै भएन भन्ने एवं भाषाको मिठास पनि उर्दुमा बढी छ भन्ने चर्चा चलेको थियोे । गम्भीर र नम्र स्वभावका विभुले गरिमाको सम्पादक हुँदा कविका कविता हेरेर यो यसकारणले छापिन्न भनेर साहित्यमा रुचि राख्नेलाई सम्झाएको एवं लेख्ने तरिका सिकाएको पनि सम्झन्छु म । त्यतिवेलाको गरिमाको स्तरीयताको कुरै नगरौँ । ऐलेसम्म पनि त्यस स्तरमा साहित्यका कुनै पत्रिका छैनन्  । सम्पादन, समालोचनात्मक कला र खास गरेर कविताचैँ अति बुझ्नसक्ने खुबी थियोे उनमा ।उनका निबन्धात्मक रचनाहरू पनि काव्यिक हुने गर्छन्  ।
रेल ब्ल्याकटाउन पुगिसकेको रहेछ सम्झनाका डोबहरूसँगै म पनि बाहिर निस्केँ र फेरि बासस्थानतिर लाग्ने बसमा चढेँ । बस् ऐलेलाई विश्राम ।


(निरौला स्थापित साहित्यकार हुन्)
[email protected]