भन्दैन आगोले
कुन जातको चुलोमा बलूँ
सोध्दैन पानीले
कुन संस्कारको खोलामा बगूँ
गर्दैन प्रश्न हावाले
कुन धर्मको दिशा हुँदै
कुन भाषालाई स्पर्श गरूँ
माटो बाँड्ने कुरा गर्दैनन्
कमिलाहरू
बाटो तेरो मेरो भन्दैनन्
यात्रीहरू
जङ्गल विभाजन गर्दैनन्
रूखहरू
बगैँचामा स्तम्भ राख्दैनन्
फूलहरू
र मेट्दैनन् फूलको अस्तित्व
पुतली र भवँराहरू
घाम खोज्दैन
आकाशको लालपुर्जा
न त खोज्छ जूनले
न त खोज्छन् ताराहरूले
जातले छोएको छैन
घाम, जून र ताराहरूलाई
एक अर्काको सामीप्यमा मुस्कुराइरहन्छन्
कुनै प्रश्न चिन्ह छैन तिनीहरूमा
जातको, धर्मको, संस्कारको
यहाँ मान्छेहरूको
आँखामा मात्र छापिन्छन्
विभेदको अक्षर
पुग्ने गन्तव्य एउटै भएपनि
हिँड्ने बाटोमा विभेदकै साँध छ
धड्किने मुटु एउटै तर
सोच्ने मस्तिष्कमा लेखिन्छन्
विभेदकै शब्द
संरचना उस्तै देखिन्छ मानवको
रगतको रङ उस्तै रातो
फेरि पनि
हरेक विचारमा सुनिन्छ विभेद
पढ्नुपर्छ विभेदकै पाठ
प्रत्येक गतिविधिमा देखिन्छ विभेद
त्यसैले,
आग्लो हटाउँदै जातको
पर्खाल भत्काउँदै विभेदको
पाना च्यात्दै सङ्कीर्ण सोचको
जोडेर विभाजित मनहरू
बटुलेर विश्वासका शब्दहरू
मान्छे हुँदै बाँच्नुको अर्थमा
मान्छे भएर
आकाशको अनन्तता जस्तै
लेख्नुछ
एउटा सिङ्गो र पूर्ण किताब ।
(हसिना विगत डेढ दशकदेखि कविता, कथा, गजल, मुक्तक विधामा कलम चलाउँदै आएकी स्रष्टा हुन्)
[email protected]