हिन्दी कविता

उचाइमा पुगेपछि
आफैंँ बज्दोरहेछ आनन्दको बाँसुरी
क्षणक्षणमा कणकणमा भेटिँदोरहेछ ईश्वर
च्यातिँदा रहेछन् अडम्बरका पर्दाहरू
भत्किँदा रहेछन् भ्रमका पर्खालहरू
उक्लिन खोज्दा जीवनको उकाली
सधैँ ओरालो झरेको मान्छे म
तिम्रो उचाइमा पुगेपछि
मेरा लागि उस्तै भएका छन्
यथार्थ र कल्पना
तिम्रो उचाइ
ईश्वरको मीठो कल्पना
जसलाई देखेर ईश्वरीय झङ्कारले
झङ्कृत भएकी छु म
मानौँ देवताहरूको बैठककोठामा छु, यतिवेला
जसको भित्तामा टाँगिएको छ
‘अतिथि देवो भव’ का रङ्गीबिरङ्गी ब्यानरहरू
छानामा कसैले
भर्खरै पोखेको छ नीलो मसी
नीलो हाँसो हाँँस्दैछ शान्त, स्निग्ध आकाश
कसले ओछ्यायो यी पाटनहरूमा
अतिथ्यका हरिया गलैँचाहरू
कहिलेदेखि प्रकृतिको रहस्य बोकेर
मुस्कुराइहरेका छन् यी रङ्गीबिरङ्गी फूलहरू
नगाएको गीत गाएजस्तो
नलाएको प्रीत लाएजस्तो
कसले मिसाउँदैछ बतासमा यति मीठो धुन
देउडा नाच्दैछन् अप्सराहरू
गाउँदैछन् देवदूतहरू
नखाएरै अघाएजस्तो
नपाएरै पाएजस्तो
यतिवेला म भन्न सक्दिनँ मेरो अवस्था
होस् हराउँदैछु वा बल्ल होसमा आउँदैछु
कुन हावाले छोयो मलाई
कुन नसा चढ्यो मलाई
म लठ्ठिएकी छु
सायद स्वर्गको आगो लिएर
पहिलोपटक यहीँ आएको हुनुपर्छ देवताहरू
र पढेको हुनुपर्छ उज्यालोको मन्त्र
उज्यालोउज्यालो वाचाल उज्यालो
यही उज्यालोमा भर्खरै
सम्पन्न भएको छ एउटा भव्य समारोह
जसमा सरिक भएका छन्
जिजस, अल्लाह, नानक, कृष्ण सबैसबै
धर्मग्रन्थहरू भएको लामो बहसपछि
निस्किएको छ घोषणा- पत्र
जसमा उल्लेख गरिएको छ
सबैको साझा बाइबल, कुरान र गीता
लेख्नेबारे ।
(सन्दर्भ: खप्तडयात्रा)
(पहाडी स्थापित कवि हुन्)
[email protected]