• २०८१ असोज २४ बिहीबार

पेसेवर कवि

मणि भट्टराई

मणि भट्टराई

तिमी रुँदा
म वियोगको कविता लेखिरहेको हुन्छु
तिमी हाँस्दा
म संयोगको कविता लेखिरहेको हुन्छु
तिमीलाई म निरन्तर प्रेम गरिरहन्छु यसरी नै
मानौँ,
म कुनै पेसेवर कवि हुँ ।

तिम्रा खुसीहरू पिएर नै हो,
म सबैभन्दा धेर मात्तिने
तिम्रा दुःखहरू देखेर नै हो,
म सबैभन्दा धेर आत्तिने
तिम्रो हरेक बदलिँदो अनुहारले बदल्छ मलाई
तिमीलाई गुनगुनाइरहन्छु निरन्तर
अनेक भावमा
अनेक राग–अनुरागमा
मानौँ,
म कुनै पेसेवर गीतकार हुँ ।

तिमीलाई मनमा राख्छु
मनबाट निकाल्छु
तिमीसँगै खेल्छु, जिस्कन्छु
गुनासो गर्छु, रिसाउँछु, झगडा गर्छु
तिललाई पहाड बनाउँछु
त्यसैमा उक्लन्छु
खस्छु
थेचारिन्छु
मानौंँ,
म कुनै पेसेवर कवि हुँ !


(भट्टराई विगत एक दशकदेखि कविता, गीत र गजल विधमा कलम चलाउँदै आएका स्रष्टा हुन्।)
[email protected]