• २०८१ चैत २ आइतबार

मुक्तक

नवराज पहाडी

नवराज पहाडी

नहुनु पर्ने कामहरू धेरै धेरै भा’छ मेरो देश
जे गर्दा नि नहुने, पक्कै नजर ला’छ मेरो देश
भूमिगत गिरोह थियो हिजो, आज शक्तिकेन्द्र
सधैं अदृश्य शक्तिले चलाउँदै आ’छ मेरो देश !

पिरतीमा मान्छे हिजो आज जुट्छ छिट्टै
बनावटी त्यस्को शिखरमा पुग्छ छिट्टै
जुराइन्छ मागी विवाहमा शुभ-अशुभ
तर आज हुन्छ भागी विवाह, टुट्छ छिट्टै ।

छ सानो हियार यो, प्रेमको मुठा के गरुँ
छु म सत्य मै तर संसार झुठा के गरुँ ?
हर क्षण छ चाहना सङ्सँगै बिताइरहने
तर भई दिन्छ परिवेश उल्टा के गरुँ ?

देश नेपाल यो विश्व भर अनुपम मानिन्छ मेरो
प्रकृति, संस्कृति, सम्पदामा उच्च मानिन्छ मेरो
बनाई ढाल राष्ट्रलाई थरीथरी चल्दै आ’छन् धन्दा
त्यसैले देशभक्ति नशा नशामा पन्पनिन्छ मेरो ।

उदाई रहे सहस्र कला साहित्यका रवि तिमीमा
शिल्प सुधाले पूर्ण रह्यो सदा उच्च छवि तिमीमा
थियो शिखरमा तिम्रो कला, मानवता र देशभक्ति
गर्छु म समर्पण श्रद्धा सुमन राष्ट्रकवि तिमीमा !

बग्दैै भावनामा डुब्दा मायाको दिलमा
के सक्छ्यौ नाप्न माया यो प्रेमीको दिलमा
छदै छैन सानो मसँग मायाको पर्वत
छ र सजाउने सामर्थ त्यो दिलमा ?

लाग्दैन मलाई अन्य, देश भन्दा प्यारो
छैन केही अरू समाजसेवा भन्दा प्यारो
कोरोना महामारीको यो बेलामा पनि
तर कतिलाई छ कमाउ धन्दा प्यारो ।

कहर, कष्ट, पीडा, दुःख सहे धेरै आफ्नै हात साथ
मेरो दृढ संकल्प र संघर्षले मै भा’छु नाथ नाथ
पटक पटक जिते मृत्यु, बोनसमा छ यो जीवन
भो न दे कोभिड उन्नाईस ध्वाँस तैले धाक साथ ।


नवराज पहाडी (लमजुङ )
[email protected]