• २०८१ श्रावाण ११ शुक्रबार

कोही रोयो भने

पोषण पाण्डे

पोषण पाण्डे

कोही रोयो भने
उसलाई नरोऊ नभन्नू
उसलाई रुनै दिनू
०००
किनभने रोएको बखत ऊ
ईश्वरको समीप–समीप पुगेको हुन्छ
यस्तो बखत उसलाई
ईश्वरबाट वञ्चित नगर्नू
०००
जुनी पो मान्छे को हो
टहटह जून लागेको बखत
उसलाई नबिथोल्नू
मान्छेको जुनीमा
ईश्वर उघ्रेको बखत
फूल भनेर टपक्क नटिप्नू
उसलाई उस्तै रहन दिनू
०००
उ कहीँ कतै दुखेको हुनाले
रोएको पनि त होइन
ऊ यस्सै रोएको
यस्सै रोएको बखत
कसैलाई नरोऊ नभन्नू
ईश्वर हाँसेको बखत
मान्छेलाई रोएको नभन्नू
०००
के रुने भनेको आँसु झार्नु हो र ?
के आँसु भनेको दुख्दाखेरि मात्र झर्ने
दरिद्र थोपा हो र ?
आँसु देखाएर
आँसुको मोलको अपमान नगर्नू
०००
आँसु त
जलतरङ्गको सङ्गीत हो
जिन्दगीलाई थामिरहने
मीठोमीठो गीत हो
गीत सुनेर कोही रोयो भने
त्यसलाई रोएको कसरी भन्नू ?
०००
कोही रोयो भने
उसलाई नरोऊ नभन्नू
उसलाई रुनै दिनू
………………………………………
(वरिष्ठ साहित्यकार स्व. पोषण पाण्डेको यो कविता अक्षरङ्गमा पहिलोपटक प्रकाशित हुँदैछ)