• २०८१ असोज २४ बिहीबार

बद्री अधिकारी

राजेन्द्र शलभ

राजेन्द्र शलभ

छ दशकअघि
मोरङ, विराटनगरमा जन्मेको हुँ
त्यहीँ जनता माध्यमिक विद्यालयमा पढेँ
सहपाठीहरूमा मीनेन्द्र रिजाल र
जङ्गबहादुर चौहान सम्झिन्छु
२०३० सालमा एसएलसी पास भएँ
र त्यहीँ महेन्द्र मोरङ क्याम्पसमा
दुई वर्षसम्म साइन्स पढेँ
तर पढेँ मात्रै, पास हुन सकिनँ
पास हुन वाराणसी पुगेँ
र त्यही वाराणसी बोर्डबाट
मानविकीमा इन्टरमिडिएटको डिग्री लिएर फर्कें
त्यसपछि काठमाडौँको सरस्वती क्याम्पसबाट
इकोनोमिक्समा डिप्लोमा अर्थात बीए
पढाइको कुरो यति हो ।


नाटकमा सुरुमा अभिनेता बनेको हूँ
०२४ सालमा नौ कक्षामा पढ्ने बेलामै
स्कुलको प्रहसनमा अभिनय गरेँ
प्रहसन धेरै ठाउँमा देखाइयो–
त्यो बेला राजा–रानीको जन्मोत्सवमा
रस पस्दै गयो र रगतको साटो
नाटक नै बग्न थाले नशाहरूमा
२०३१ सालमा पहिलो नाटक लेखेँ
‘यहाँ मरे बाचिन्छ’
नाटकमा मेरो अशेष मल्लसँग
एक किसिमको अदृश्य प्रतिस्पर्धा
भइरह्यो सधैँजसो
उहाँले धनकुटाबाट ‘तुँवालोले ढाकेको बस्ती’
विराटनगर लिएर आएपछि लेख्या हूँ–
त्यस्तै अभिनय र निर्देशन पनि ।


२०३७ मा काठमाडौँ आइयो
काठमाडौँ आउनुअघि पनि
१०÷११ वटा नाटक लेख्ने र खेल्ने
काम गरिसकिएको थियो
यहाँ आएपछि– रमेश बुढाथोकी,
सुनील पोखरेल, मुकुन्द ढुङ्गाना
दीपक आलोकजस्ता पुराना साथीहरूको
सङ्गतले एउटा नयाँ ऊर्जा दियो
र तयार भयो– ‘भीडमा हराएको मान्छे’
यही नाटककै बेलामा हामीले
‘आरोहण’ को गठन गर्यौं
म संस्थापक अध्यक्ष भएँ
पछि सबै आ–आफ्नो धुनमा लाग्यौँ
त्यत्ति बेला नाटक गर्न गाह्रो थियो
हात–मुख जोर्ने समस्या
म १० रुपियाँको दैनिक ज्यालादारीमा
नाचघरमा काम गर्थें
नारायणगोपाल हुनुहुन्थ्यो– महाप्रबन्धक ।


पछि म टेलिसिरियलहरूतिर लागेँ,
‘अविरल बग्दछ इन्द्रावती’,
‘सिर्जनाका आँखाहरू’,
‘मौन आकाश’,‘कोरस’
‘मधुमालतीको कथा’,‘सहयात्री’
‘साल्वीको बलात्कृत आँसु’,
र पछिल्लो समय ‘मानव’
यी सबै सिरियलहरू
अहिले पनि सम्झिन्छु र आनन्द आउँछ
सिरियल गर्दागर्दै फिल्म पनि गरेँ
‘दुश्मन’, ‘लडाइँ’, ‘चक्रव्यूह’, ‘इन्द्रावती’,
‘आवाज’ र ‘ज्यान हाजिर छ’ आदि ।


मैले अभिनयबाट सुरु गरेको
मेरो रङ्गमञ्च–यात्रामा
अभिनय कम र लेखन–निर्देशन बढी रह्यो
‘मूलसडककी आमा’,
‘…र यसकारण रिसाउँछ कुमार’,
‘जिजीविषा’, ‘मान्छेभित्रको मान्छे’,
‘शान्ति क्षेत्रको बालक’ (बालनाटक)
यसरी पछिपछि क्यामेरातिर
बढी आकर्षित भए पनि
हरेक वर्ष कुनै न कुनै रूपमा
म नाटकमा संलग्न हुँदैआएको छु ।
मैले छुट्ट्याउनै पर्यो भने
नाटकमा मेरो पहिलो रोजाइ– लेखन नै हो
त्यसपछि मात्र अभिनय र निर्देशन
तर मलाई सबैभन्दा बढी
टेलिसिरियल निर्देशन–निर्माण गर्न मनपर्छ
सिनेमा तेस्रो रोजाइ हो ।


अहिले दुईवटा आलेखमा व्यस्त छु
एउटा महाकवि र मोतीरामको शकुन्तलालाई
टेलिसिरियल बनाउन स्क्रिप्ट लेख्दैछु
अर्काे रमेश विकलको–
‘विक्रम’ र ‘नौलो ग्रह’ लाई
टेलिसिरियलमा रूपान्तरित गर्दैछु
अझ योभन्दा पनि बायोपिकहरूमा
सिरियल बनाउने चाह छ
नेपालका विभूतिहरूमाथि आधारित
टेलिसिरियल बनाउन चाहन्छु
‘अविरल बग्दछ इन्द्रावती’ लाई विर्साउने गरी
काम गर्ने मन छ
सत्यमोहन जोशीको ‘महर्षि याज्ञवल्क्य’
जस्तै अर्को नाटक गर्ने मन छ
मन त खै धेरै थोक गर्नेछ
तर पैसाले रोक्छ
तै आशावादी छु– जसरी
एकपटक ठगेको मान्छेबाट म
फेरिफेरि पनि ठगिएको छु
त्यस्तै फेरिफेरि लागिरहन्छु
र मुस्कुराइरहन्छु ।


अनि अचेल छोरी केकीको नामले चिनिन्छु
दङ्ग पर्छु
संसारका थोरै भाग्यमानी बाबुहरूमध्ये
एक हूँ म !