• २०८१ माघ २ बुधबार

फरक– ९

सानु शर्मा

सानु शर्मा

‘केही भइहाल्योे भने ? मतलब, म मरेँ भनेँ ?’ मैले व्यङ्ग्यपूर्वक भनेँ– ‘यही सोध्न चाहन्छ्यौ होइन तिमी ? वाह ! मेरी धर्मपत्नी ! हातखुट्टा चल्न के बन्द भएथ्यो, लाग्छ तिमीहरूले त मेरो मृत्युको सपना पनि देख्न थालिसक्यौ ? तर सुप्रिया, मोटो गोरु मरोस् अनि मजाले मासु खान पाइयोस् भन्ने कामना गर्ने ती मान्छेहरूको सपना पूरा नभएझैँ तिमीहरूको यो सपना पनि पूरा हुने छैन…।’
‘यत्ति धेरै कन्फिडेन्स पनि ठीक हुँदैन बुझिस्यो ?’ एक पलका लागि उसको अनुहारमा एउटा हिंस्रक चमक उदायो, उसले मेरा आँखामा हेरी अनि अनौठो स्वरमा भनी– ‘भोकको अगाडि जोक चल्दैन । सायद कामना गर्नेहरू भोकाएका थिएनन् होला । त्यसैले सपना देखेरै मात्र चित्त बुझाए, तर यदि उनीहरूको भोकले चरम सीमा नाघेको भए सोचिस्यो केसम्म गर्थे तिनीहरूले ?’ ऊ उठी । ढोकासम्म पुगेर फर्केर मतिर हेरी अनि उस्तै स्वरमा फेरि भनी– ‘त्यसमाथि गोरु अपाहिज पनि भए त कामना गर्नेहरूलाई आफ्नो सपना वास्तविकतामा परिणत गर्न त्यति धेरै मेहनत पनि गर्नुपर्ने थिएन ।’
‘सु…सुप्रिया !’ म रिसले डढेर खरानी नै भएँ ।
‘कहिलेकाहीँ मानिसले स्वेच्छाले होइन परिस्थितिअनुसार पनि मोडिनुपर्छ । किनभने नचाहिँदो ढिपीले कहिलेकाहीँ मान्छेलाई त्यहाँ पुर्याउँछ, जहाँबाट फर्कन जिन्दगीले साथ दिँदैन ।’ उसले स्थिर भावले केही बेर मलाई हेरी अनि बाहिर निस्की । मलाई आफ्नो सर्वाङ्ग चिसिएको अनुभूति भयो ।

०००
बिनी मसँग अझै सामान्य भएकी थिइन । त्यसैले मैले ऊसँग यस विषयमा केही भन्न सकिनँ । त्यो पूरै रात छटपटाउँदै सुस्केरा हाल्दाहाल्दै बित्यो । भोलिपल्ट बिहान पनि म सामान्य हुन सकेको थिइनँ । त्यसमाथि तलको गेस्टरूममा नुहाउन भनेर गएकी बिनीले हस्याङफस्याङ गर्दै आएर भनी– ‘तिम्रो यस घररूपी चिडियाखानाका हरेक सदस्यहरू किन यति विचित्र छन् हँ ? अब तिम्रो मामा भन्ने जन्तुलाई नै हेर न, नातिपनाति खेलाएर बस्ने बेला भैसक्यो तर उनको आँखाको भोक अझै सल्किरहेकै छ । जबजब उनका आँखा कुनै स्वास्नीमानिसतिर उठ्छन्, यस्तो लाग्छ– त्यो दृष्टि लुगै छिचोलेर भित्रसम्म पुगिरहेछ ।’ ऊ एकैछिन अडिई अनि भनी– ‘हेर, मलाई त केही फरक पर्दैन, किनभने आदत छ मलाई यस्तो हेराइको, तर…तर पनि प्रत्यूष, वेश्या नै सही, परिवारको पाहुनाको रूपमा स्थापित स्वास्नीमानिस नुहाइरहेको ठाउँमा त्यसरी पस्नु…!’
‘बिनी !’ मैले आक्रोशित हुँदै भनेँ– ‘त्यो त गेस्टरुम हो, त्यहाँ मामाको के काम ? त्यो पनि यति सबेरै ? त्यसमाथि, तिमीले बाथरुमको ढोका बन्द गरेकी थिइनौ र ?’
‘मलाई थाहा छैन । जहाँसम्म ढोका बन्द गर्ने कुरा छ, त्यो एट्याज बाथरुमको चुकुल केही दिनदेखि बिग्रिएको छ । त्यसैले त्यो राम्ररी बन्द हुँदैन तर कोठाको अटोमेटिक डोर भने मैले पक्कै लगाएकी थिएँ । अब त्यो कसरी खुल्यो– मलाई थाहा छैन । लौ ठीकै छ, कोही मान्छे अनविज्ञतापूर्वक कोठाभित्र त पस्यो तर बाथरुमभित्र छिर्नुको के मतलब ? अन्जानवश कोही भित्र पसिहाले पनि अप्ठ्यारो मान्दै निस्किहाल्छ तर त्यहीँ ठिङ्ग उभिएर क्वारक्वार्ती हेरिरहनुको के मतलब ? मैले अघि नै भनेँ नि, यो सबले मलाई केही फरक पर्दैन तर मलाई लाग्छ ती निर्लज्ज आँखाहरूले तिम्री पत्नी र सालीको पनि कुनै मान…।’
‘बिनी !’ मैले अगाडि सुन्न सकिनँ । हुन त योभन्दा पहिले सुप्रियाले पनि इन्द्र मामाले अन्जान बन्दै गरेको अभद्रताहरूका बारेमा सुनाइसकेकी थिई तर मैले सधैँ यही सोचेँ– ऊ मामाको विरुद्ध भएकीले मामालाई मेरो नजरबाट तल खसाउन, मलाई उहाँको विरुद्ध बनाउन त्यो सब भन्दथी । तर खराबमा गनिएका इन्द्रमामाले आफ्नो खराब मानसिकता भरिएको आँखाले परिवारकै स्वास्नीमानिसलाई कदापी हेर्ने छैनन्– मलाई विश्वास थियो । त्यसैले उसको कुरालाई मामाप्रतिको द्वेष मानेर मैले कहिल्यै उसको कुरामा ध्यान दिइनँ । तर आज ? आज बिनीको कुरा सुनेर मलाई चौबाटोमा नङ्गिएको अनुभूति भयो । किन पहिल्यै ध्यान दिइनँ मैले ? म सायद मामासँग भन्दा आफूसँग ज्यादा रिसाएँ । लज्जित भएँ त्यतिखेर । बिनीले मामासँग यसबारेमा कुनै कुरा नगर्न आग्रह गरिरहे पनि रिसको पराकाष्ठामा मैले केही देख्न, सुन्न, बुझ्न छोडिसकेको थिएँ । त्यसैले उसले रोक्दारोक्दै पनि मैले काकालाई मामालाई बोलाएर ल्याउन अह्राएँ । त्यसपछि मामाको र मेरो घमासान वाकयुद्घ सुरू भयो । बिनी निर्विकार भावले हामीलाई हेरिरही । पहिले त उहाँले गेस्टरुमभित्र छिरेको भन्ने कुरा नै मान्नु भएन । तर पछि गेस्टरुमभित्र पसेको, बाथरुमभित्र छिरेको स्वीकार गरे पनि जानाजान नछिरेको दाबी गर्नुभयो ।
‘यति बिहानै किन गेस्टरुमभित्र पसेको त ? तपाईंलाई थाहा थिएन, बिनीले त्यो रुम युज गरिरहेकी छ भनेर ?’ म चर्को स्वरमा कराएँ ।
‘कुन नोटिसबोर्डमा ट..टाँसेको छ यो ख…खबर ?’ उहाँ मभन्दा चर्को स्वरमा कराउनु भयो– ‘त…तिम्रो यो म…महलमा कहाँ के ह…हु..हुन्छ, म के ज..जानौँ ? म…मलाई त यही लाग्या थियो क…कि तिम्री न…नर्सले तिम्रो स…साथमै हुन आवश्यक छ, त्यसैले त…तिम्रै कोठामा हुन्छे ऊ । अनि भ…भान्जाबाबु, त…तिम्रा दसौँ व…वाहियात नियमहरूमा यो न…नियम पनि सम्मिलित छ क..कि अब घ…घरभित्र अ..आउन–जान पनि ट…टाइम हेर्नु, टाइम सिट भ…भर्नु जरुरी ह..हुन्छ ?’
म उहाँको त्यो झम्टाइको प्रत्युत्तरमा एकैक्षण केही बोल्न सकिनँ तर फेरि सम्हालिँदै भनेँ– ‘तपाईं जेसुकै सोच्नोस् मामा, तर म मेरो घरमा यो सब ननसेन्स चाहन्न …।’
‘क…के गर्छौ ?’ मामाले मेरो कुरा बीचमै काटेर चुनौतीपूर्ण स्वरमा सोध्नुभयो । उहाँको स्वरको अपहेलना, बेवास्ताले मेरो मन नराम्रोसँग बिझायो । म झनै उग्र हुँदै कराएँ– ‘सोध्नोस् म के गर्दिनँ भनेर ? मामा ! कुन ैपनि कुराले हद नाघ्नु हुँदैन । मैले आजसम्म सुप्रिया, श्रेयाको गुनासोलाई तपाईंप्रतिको द्वेष मानेर बेवास्ता गरिरहेँ तर आज त तपाईंले घरमा आएको पाहुनालाई समेत छोड्नु भएन । छिः मलाई त सोच्दा पनि घिन लाग्छ– तपाईं यतिसम्म पनि गर्न सक्नुहुन्छ भनेर ? तपाईंका बाबुआमा र समय परिस्थितिले पनि सुधार्न नसकेको तपाईंलाई सुधार्न त सक्तिनँ म, तर आइन्दा यस घरबाट तपाईंको उपस्थिति भने पक्कै…।’
‘के ग…गर्छौ ? त… तिमी त य..यस स्थितिमा छौ कि तिम्रो ब..बाउले मेरी दिदीलाई म…मारेझैँ म… मलाई मा…मार्न पनि सक्दैनौ ? इ… इनफ्याक्ट, तिम्रो त म… मलाई यस घरबाट न… निकाल्ने सामथ्र्य पनि छ..छै…छैन यतिखेर ।’ मामाले तिरस्कारपूर्ण स्वरमा भन्नुभयो ।
‘मामाऽऽऽ ।’ मेरो सारा शरीरको रगत समेटिएर अनुहारमा जम्यो । म विक्षिप्तझैँ चिच्याएँ– ‘काका…काकाऽऽऽ यो कृतघ्न, दुश्चरित्र अनि लाज पचेको मान्छेलाई मेरो अगाडिबाट मात्र होइन, मेरो घरबाटै निकाल्नूस् त ! अहिलेको अहिल्यै ।’ मैले सकेसम्म मामातिर नहेर्ने प्रयासमा आफ्नो टाउको अन्तै मोडेँ । बिनी चुपचाप अघि बढी र मेरो ह्विलचेयरलाई मामाभन्दा पर लैजान खोजी । तर मामा चट्टानझैँ मेरो अघिल्तिर उभिन आउनुभयो ।
‘म…मलाई कसैले ह…हटाउनु पर्दैन । न त म…म हटाएर हट्ने म…मान्छे नै हुँ । य…यतिबेला त म ज…जाँदैछु यहाँबाट त..तर म फर्केर आउने छु । त…त्यसपछि निर्णय ग…गर्नेछु– तिमीलाई आमा भएको ठाउँमा पठाउने…।’ उहाँले पहिले छततिर चोर औँला उठाउनुभयो अनि फेरि बूढी औँलाले आफ्नो छातीतर्फ औँल्याउँदै अगाडि भन्नुभयो– ‘या मा…मामासँगै र…रा…राख्ने !’ त्यसपछि उहाँ मलाई आग्नेय नेत्रले हेर्दै खुट्टा फड्कार्दै बाहिर निस्कनुभयो । म स्तब्ध भएर उहाँ निस्केर गएको ढोकातिर हेरिरहेँ । बिनीले पनि हलचल गर्न सकिन ।

दिउँसोतिर मलाई भेट्न, मेरो हालखबर बुझ्न भनेर मेरा बुवाका अभिन्न मित्र ब्यारिस्टर कवीन्द्रराज कँडेल आउनुभयो । उहाँ मेरा बुबाका त्यस बेलाका साथी हुनुहुन्थ्यो, जब उहाँहरू सँगै बेलायतमा वकालत पढ्दै हुनुहुन्थ्यो । बुवा त पढाइ सकेर नेपाल फर्कनुभयो तर उहाँले पढाइ सकेर त्यहीँ प्राक्टिस सुरु गर्नुभयो । कैयौँ वर्ष विदेशमै बिताएर, छोराछोरीलाई उतै सेटल गराएर उहाँ आफ्नी धर्मपत्नीका साथ नेपाल फर्किनुभएको थियो । नेपालमा आएर पनि उहाँ त्यतिकै बस्नु भएन । आफ्नै ल फर्म खोलेर, भर्खर पढाइ सकेर केही सिक्ने उद्देश्य लिई उहाँसमक्ष पुगेका वकिलहरूसँग आफ्नो अनुभव बाँडिरहनुभएका ब्यारिस्टर कवीन्द्रराज कँडेल नेपालमा पनि बहुचर्चित व्यक्तित्वहरूमा गनिनुहुन्थ्यो । उहाँलाई देख्नेबित्तिकै मैले मनमनै एउटा निर्णय गरेँ र बिनीलाई कफी ल्याउने बहानामा तल पठाएर उहाँसामु आफ्नो इच्छा व्यक्त गरेँ ।
‘विल ? वारिसनामा ? तर किन ?’ उहाँले आश्चर्यपूर्वक भन्नुभयो– ‘त्यसमाथि पनि मसँग किन ? प्रत्यूष ! तिम्रो त आफ्नै वकिल छ तिमी त…।’
‘अङ्कल प्लिज !’ मैले आग्रहपूर्ण स्वरमा भनेँ– ‘म आफ्नो वारिसनामा तपाईंसँगै बनाउन चाहन्छु र त्यस बेलासम्म गोप्य राखिदिने आश्वासन चाहन्छु जबसम्म या त मलाई केही हुँदैन या फेरि म स्वयम् त्यसलाई प्रकाशमा ल्याउन चाहन्न ।’
‘के कुरा गरेको यस्तो ?’ उहाँले हप्काएझैँ गरी भन्नुभयो– ‘म तिम्रो बुबासरहको मान्छेसँग तिमीले यस्तो भन्न सुहाउँछ ? अहिले के उमेर भएको छ र तिम्रो ? बाँकी, को थला पर्दैन ? को अस्वस्थ हुँदैन ? केही दिनको अशक्ततामा यसरी हरेस खानुहुन्छ ? प्रत्यूष, आई डिन्ट एक्स्पेक्ट दिस फ्रम यु ।’
‘उमेरले के हुन्छ अङ्कल ? जब पालो आएको हुन्छ तब उमेरले त्यसलाई कहाँ छेक्छ र ?’
‘प्रत्यूष ! इज देयर एनिथिङ् द्याट आई सुड नो ? अर यु वान्ट टु टेल मी सम…!’
‘नो अङ्कल…।’ मैले उहाँको कुरा बीचैमा काटेर आफूलाई सामन्य देखाउने कोसिस गर्दै, बनावटी मुस्कानले ओठ भिजाउँदै विनीत भावमा भनेँ– ‘त्यस्तो केही छैन । एभ्रिथिङ्स फाइन । म त खालि यत्तिकै…। तर अङ्कल विल बनाउने कुराचाहिँ सिरियस हो है । म लेख्न त सक्तिनँ तर म रेकर्ड गर्नसक्छु । तपाईंले लेखेकोमा दायाँ बायाँ ल्याप्चे लगाउनसक्छु, तपाईंको सहयोगमा र म चाहन्छु– मेरो वारिसनामा अहिल्यै तयार होस्, म…।’ अचानक मेरो बेडरूमको बन्द ढोका आफसेआफ अलिकति खुल्यो, जुन बिनीले तल जाँदा बन्द गरेर गएकी थिई । मेरो ह्विलचेयर ढोकातिरै फर्केको थियो । अङ्कलको भने ढोकातिर पिठ्यूँ थियो ।
‘को हो हँ ?’ मैले उच्च स्वरमा सोधेँ । अङ्कलले पनि टाउको घुमाएर ढोकातिर हेर्नुभयो । कोही देखा परेन तर पनि एउटा छायाँजस्तो सरक्क पर सरेको मैले प्रस्टै देखेँ ।
‘को हो त्यो ?’ म फेरि कराएँ । यसपटक अङ्कलले उठेर ढोकासम्म गएर हेरेर भन्नुभयो– ‘खै यहाँ त कोही पनि छैन ।’
तर किनकिन मलाई भने यही महसुस भइरह्यो– एकपल अघिसम्म त्यहाँ कोही नकोही पक्कै थियो । को ? यौटा खुलदुलीले मेरो मन चिलायो– किन ? त्यसरी लुकेर हाम्रो कुरा सुन्ने को थियो ? कोही त पक्कै थियो !
मैले आग्रह गरिरहेपछि कवीन्द्र अङ्कलले काकालाई गाडीबाट आफ्नो ब्याग लिएर आउन अह्राउनुभयो । त्यसपछिको लगभग तीन घन्टा बन्द ढोकाबाहिर वाकाइदा बिनीलाई उभ्याएर म अङ्कलसँग मन्त्रणा गरिरहेँ । अङ्कल त्यहाँबाट जाँदा दिन लगभग घर्किसकेथ्यो ।

साँझपख मलाई ट्वाइलेट पुर्याएर, औषधी ख्वाएर, मेरो ह्विलचेयर टीभीअगाडि अड्याएर, टीभी अन गरेर मेरो दैनिक जीवनका केही जरुरी सामान किन्न भनेर बिनी घरबाट निस्की । काका वरिपरी थिएनन् । वासु पनि घरमा थिएन । यस्तो स्थिति कमै आएको थियो म ह्विलचेयरमा थन्किएपछि । म अनिच्छापूर्वक टीभी हेर्नथालेँ । थाहा छैन कति समय बितेपछि दुई सुकोमल हातले ह्विलचेयर पछाडिबाट मलाई अँगाले ।
‘आज कहाँबाट तिम्रो मनमा यो अपाहिजलाई अँगाल्ने इच्छा जाग्यो सुप्रिया ?’ मैले व्यङ्यपूर्वक सोधेँ ।
‘यो इच्छा आजको कहाँ हो र ? यो त त्यस बेलादेखि जागेको थियो, जब मैले हजुरलाई पहिलोपटक देखेथेँ, जिजु ।’
‘श्रेया ! श्रेया तिमी ?’ म आतङ्कपूर्ण स्वरमा कराएँ ।
‘एस, इट्स मी, सधैँ त हजुर मलाई लत्याएर, अपमानित गरेर अघि बढिसिन्थ्यो जिजु, आज के गरिसिन्छ ?’ उसले आफ्नो अनुहार मेरो गालासँग दल्दै, मलाई अझै कसेर अँगाल्दै भनी ।
‘श्रेया, श्रेया ! डोन्ट डु दिस प्लिज ! प्लिज श्रेया…।’ मैले काँतर स्वरमा भनेँ– ‘म हात जोड्छु बिन्ती…! मेरो बाध्यतालाई यसरी अपमानित नगर !’
‘ह्वाट्स रङ् विथ यु जिजु…?’ उसले मलाई चुम्दै भनी– ‘अरूहरू भने मरिहत्ते गर्छन् मेरो साथका लागि तर हजुर नै एकजना अनौठो होइसिन्छ जो फुत्केर भागिसिन्छ ! भनिस्यो, के छैन ममा ? के म सुप्रियाभन्दा कम राम्री छु ? ऊभन्दा जवान छैन ? त्यसमाथि म माया गर्छु हजुरलाई । सुप्रियाले त थाहा छैन किन बिहे गरी हजुरसँग तर म माया गर्छु हजुरलाई । मनले । स्वेयर ! पाउन चाहन्छु हजुरलाई । आफ्नो बनाउन चाहन्छु । हजुरलाई थाहा छैन जिजु, हजुरको मसँग तर्किने कोसिस र उपेक्षाले कति पागल बनाएको छ मलाई । कति दुखाएको छ । आई लभ यु जिजु, आई…!’
‘फर गड सेक श्रेया, बस गर…!’ मैले उसको ओठको निसास्सिने स्पर्शबाट बच्ने कोसिसमा आफ्नो टाउको दायाँ–बायाँ गर्दै चिच्याएँ–‘काकाऽऽऽ….बिनीऽऽऽ… !’
उसले अगाडि आएर दुवै हातले मेरो दायाँ–बायाँ भैरहेको टाउको दह्रोसँग थामी र आफ्ना ओठले मेरो मुख थुनिदिई । बाध्यता र अपमानको अनूभूतिले मेरा आँखामा आँसु आयो । मनले नमाने, नचाहे, आकर्षक, जवान शरीर र ऊष्ण, उत्ताउलो अँगालो, अन्तरङ्ग क्षण पनि अपमानजस्तै लाग्दोरहेछ– मैले त्यतिबेला नै जानेँ । मैले आफ्नो टाउको छुटाउन सङ्घर्ष गरिरहेँ । ऊ कुनै वहसीले झैँ मेरो अनुहारभरि जताततै चुमिरही । जब उसका हात मेरो टाउकोबाट हटेर छातीमा सलबलाउन थाले, म घाँटी फुट्ने गरी फेरि कराएँ– ‘फुपूऽऽऽ… सुदर्शनऽऽ… भानु …!’
‘होइन, हजुर नर्मल त होइसिन्छ नि होइन ? कि स्त्रीशरीरले आकर्षित नै नगर्नेहरूको श्रेणीमा पर्ने पुरुष होइसिन्छ हजुर पनि ?’ यसपटक उसले अलि चिढिएको स्वरमा भनी– ‘मैले नै अघि बढेर आफूलाई सुम्पँदा पनि हजुरलाई केही फरक पर्दैन ?’ ऊ मेरो निर्जीव हात आफ्नो हातमा लिएर आफ्नो छातीमा टाँस्दै फेरि मतिर झुकी ।
‘श्रेया, ठीक भन्यौ तिमीले । सायद म नर्मल नै छैन कि ? किनभने आमा, दिदी बहिनी अनि छोरीको शरीर जति नै आकर्षक र जवान भए पनि त्यसलाई देखेर, स्पर्श गरेर मेरो शरीर कहिल्यै तात्दैन, मेरो भावना कहिल्यै भड्किँदैन…।’ अन्तिम शब्द बोल्दाबोल्दै मेरो स्वर अवरूद्घ भयो ।
‘जि… जु !’ उसले मेरो हात छोडिदिई ।
‘तिमी सुप्रियाकी बहिनी भए पनि मैले तिमीलाई सधैँ आफ्नै बहिनीको नजरले हेरेँ । त्यसैले तिम्रा हरेक उच्छृङ्खल व्यवहारलाई ‘केटाकेटीपना’ को संज्ञा दिँदै इग्नोर गरिरहेँ । तर लाग्छ तिमी दिदी–बहिनीमै निष्ठा, सच्चरित्रता र संस्कार छँदैछैन ।’
‘जिजु…!’
‘अरू बेला त अरू बेला, म अपाहिज हुँदा पनि तिमीहरूले मेरो बाध्यताको, विवशताको फाइदा उठाउन छोडेनौ, होइन !’
‘जि..जु, प्लिज !’ ऊ केही कदम पछि सरी ।
‘के यही हो तिम्रो मायाको परिभाषा ? मूर्दा शरीरमाथि मनमानी गरेर विजयी भएको अनुभव गर्ने तिम्रो मायाप्रति तिमी चाहेजति गर्व गर्नसक्छ्यौ तर श्रेया, म केवल घृणा मात्रै गर्न सक्छु तिमीसँग । तिमीभित्रको विकृत, घिनलाग्दो सोच र चाहनासँग । त्यसैले आइन्दा मेरोसामुन्ने पर्न नआऊ प्लिज ! म तिम्रो उपस्थिति मेरो जिन्दगीमा मात्र होइन, यो घर र हुनसक्ने भए यस सहरमा पनि चाहन्नँ । प्लिज ! प्लिज गेट आउट फ्रम हेयर…!!’ मेरो स्वर चर्को त थिएन तर त्यसमा घृणाभाव छताछुल्ल थियो । मेरो आँखाबाट लगातार आँसु बगिरहेका थिए । मैले टाउको उठाएर फेरि उसलाई हेरिनँ । ऊ बिस्तारै बाहिर निस्कन अघि बढी । अलि अगाडि गएर टक्क उभिई । फर्केर मतिर हेरी अनि भनी– ‘आज जति अपमानित र लज्जित मैले आफूलाई कहिल्यै अनूभूत गरेकीे थिइनँ । यसको कारण हजुरको सोच या दृष्टिकोण हो या मेरो हजुरप्रतिको आसक्ति, बहुलट्टीपन हो, मलाई थाहा छैन । थाहा छैन, यो सबै हुनुको जिम्मेवार को हो र सजाय कसले पाउनुपर्छ । तर…तर म हजुरलाई कहिल्यै माफ गर्ने छैन । किनभने हजुरले आफूलाई सही र संस्कारवान सावित गर्नका लागि मलाई यति गलत बनाइदिसेको छ कि अब म कहिल्यै सही हुनसक्ने छैन । भिनाजु, हजुरले पनि यही साबित गरेर देखाइस्यो कि स्वास्नीमान्छे चाहे वेश्या होस्, चाहे संस्कारवान, निष्ठावान गृहिणी, यो लोग्नेमान्छेमै निर्भर हुन्छ– ऊ उनीहरूलाई कसरी र कस्तो मानसिकताका साथ जज गर्छ । किनभने पुरुष नै त्यो तराजु हो जसमा जोखिएर स्वास्नीमान्छेको मूल्याङ्कन हुनेगर्दछ हाम्रो समाजमा । त्यसैले त सायद पुरुष नै माथि पर्छ सधैँ । कुरा चाहे सांसारिक होस् या शारीरिक, पुरुषमुनि दबिनु नै पर्छ स्वास्नीमान्छेहरूले । अब यहीँ हेरिस्योस् न– यदि यो चाहना मेरो नभएर हजुरको भएको भए म सयौँपटक हजुर तल ओच्छिइसक्थेँ । तर चाहना मेरो, याने भिनाजुको नभएर सालीको हो, त्यसैले हजुरले यसलाई एउटा गाली बनाइदिस्यो । नत्र के हजुरलाई थाहा छैन र ? सबै भन्दिनँ, तर प्रायःजसो भिनाजुहरूको आफ्नो घरमा आश्रित जवान सालीहरूप्रति कस्तो दृष्टिकोण हुन्छ भनेर ? तर जान दिस्यो, लोग्नमान्छेले कहिले पर्वाह गरेको छ र अब गर्छ ? तर बुझिस्यो, मचाहिँ कहिल्यै बिर्सने छैन आजको दिन हजुरले गरिसेको मेरो बेइज्जती, अपमान । भिनाजु ! म चाहन्छु हजुरको यो हिप्पोक्रेसीको सजाय हजुरलाई छिट्टै मिलोस् र त्यो सजाय तोक्ने, दिनेहरूमा म पनि सम्मिलित हुनपाऊँ– यतिबेला म योभन्दा धेरै अरू केही चाहनै सक्दिनँ, यो अपमानको बदलामा !’ ऊ फनफनाउँदै बाहिर निस्की । म स्तब्ध भएर त्यतिकै बसिरहेँ ।
बिनी फर्कंदासम्म पनि म उस्तै हालतमा थिएँ । मेरो उजाडिएको अवस्था देखेर उसले अत्तालिँदै सोधी– ‘के भयो हँ ? भन त के भयो तिमीलाई ?’
तर मैले केही भन्न सकिनँ । डबडबाएका आँखाले चुपचाप उसलाई हेरि मात्र रहेँ । उसले अघि बढेर मेरो आँसु पुछिदिई । छरिएको केश मिलाइदिई अनि बिस्तारै भनी– ‘सरी ! मैले छोड्नहुने थिएन तिमीलाई यसरी एक्लै । अब आइन्दा ख्याल राख्नेछु ।’
त्यसबेला मलाई आफ्नो हात नचलेकोमा एकदमै दुःख लाग्यो । यदि म सक्दो हुँ, सक्षम हुँदो हुँ त उसलाई गम्लङ्ग अँगालेर डाँको छोडेर रोई दिन्थेँ सायद । तर म लाचार थिएँ । त्यसैले पनि होला मेरा आँखा फेरि डबडबाए । के श्रेयाले भनेझैँ गल्ती मेरै हो त ? या परिस्थिति गलत थियो ? मैले त कहिल्यै उसलाई नराम्रो नजरले हेरिनँ । चाहे जतिसुकै राम्री होस् ऊ– मेरो मनमा उसप्रति कुनै आकर्षण जागेन । मेरो मनमा यौटा कुरा र व्यवहारमा अर्को कहिल्यै भएन । उसो भए म हिप्पोक्रेट कसरी भएँ त ? सरी श्रेया ! तर मेरो तिमीप्रतिको धारणा, स्नेहमा कदापि कुनै बनावटी थिएन ! म मनमनै बोलिरहेँ ।
खाना खाने बेलामा पनि मैले विरोध गर्दागर्दै बिनीले मलाई जबर्जस्ती चार गाँस खाना ख्वाई । बाथरुम लगेर क्याथेटर खाली गरी । लुगा फेराई । उसले मलाई बिछ्यौनामा सुताएर ओढ्ने ओढाएपछि मैले उसँग सोधेँ– ‘बिनी, मेरो घडी भेटियो ?’
त्यो घडी मेरो बुबाको अन्तिम चिनो थियो मेरा लागि । हार्टअट्याक हुनुभन्दा केही हप्ताअघि मात्र बेलायतबाट फर्कंदा उहाँले मेरा लागि त्यो घडी लिएर आउनुभएको थियो, जसमा उहाँले आफ्नो नाम समेत लेखाउनुभएको थियो । डायमन्डजडित त्यो घडी मूल्यको हिसाबले होइन, बुवाको अन्तिम उपहारको रूपमा अमूल्य थियो मेरा लागि । त्यसैले जतनपूर्वक बुवाको चिनोको रूपमा त्यसलाई सम्हालेर आफूसँग राखेको थिएँ । तर तीन–चार दिनदेखि त्यो घडी गायब थियो । सायद त्यसैले पनि म अलि बढी नै अप्रसन्न थिएँ ।
कदापि कहाँबाट भेट्नु ?’ बिनी भन्दै थिई– ‘सबै ठाउँमा खोजिसकेँ मैले । इभन तिम्रो बेडरुमको झ्याल तल गार्डेनमा समेत खोजेँ तर थाहा छैन कहाँ गायब भयो त्यो घडी अचानक ?’
‘कुन्नि के भइरहेछ यस घरमा ।’ मैले चिन्तित स्वरमा भनेँ– ‘काकाले पनि एक–दुईपटक सामान हराएको कुरा सुनाउँदै थिए । सुप्रिया स्वयम्बरको औँठी नभेटिएको गुनासो गर्दैथिई । श्रेयाको वालेट पनि त भेटिएको छैन नि, होइन ?’
उसले केवल टाउको हल्लाएर ‘हो’ भन्ने जनाई ।
‘यस्तो त पहिले कहिल्यै भएको थाहा छैन मलाई । हैन के हुँदैछ यस घरमा आचकाल…?’ म बडबडाएँ । बिनी केही बोलिन ।
‘घरकाहरू पनि कोही सोझो कुरा…।’
अचानक ढप्काएको ढोका धकेलेर भित्र पस्दै गरेको सुमन्तलाई देखेर म बोल्दाबोल्दै चुप लागेर अप्रिय भावले उसलाई हेर्नथालेँ । अर्काको कोठामा पस्दा ढोका ढकढकाएर पस्नेजति सोहमत पनि यिनका परिवारमा कसैलाई छैन ! अरू त के अपेक्षा राख्नु यिनीहरूसँग ? मैले मन अमिलो बनाउँदै सोचेँ । सुमन्त आएर मेरो ओछ्याननजिकै उभियो अनि बिनीलाई लक्ष्य गर्दै भन्यो– ‘तपाईं एकैक्षण बाहिर गैदिनूस् त, मलाई जिजुसँग कुरा गर्न छ ।’
‘तिमी यहीँ बस…!’ मैले उठेर बाहिर जान ठिक्क परेकी बिनीसँग भनेँ अनि टाउको घुमाएर सुमन्तलाई हेर्दै अलि कडा स्वरमा भनेँ– ‘तिमीलाई जे भन्नु छ उसकै अघिल्तिर भन । छिटो भन !’
‘तर…तर जिजु, मलाई हजुरसँग पर्सनल कुरा गर्नु छ ।’
‘जो कैयौँ दिनदेखि आफ्ना दिन अनि रात मेरो बेडरुममा, मेरो वरिपरि बिताइरहेकी छ, जो मेरोअगाडि ऐना बनेर उभिएकी छ, ऊसँग लुकाउनलायक मसँग केही छैन सुमन्त ! यदि तिमीसँग छ भने म त्यो सुन्न चाहन्नँ ।’
‘तर..तर जिजु…।’
‘कमअन ! से इट अर लिभ इट ।’ मैले दिक्दारीपूर्ण स्वरमा भनेँ ।
उसले असमञ्जसपूर्ण भावले मेरो बेडछेउको कुर्सीमा बसेकी बिनीतर्फ हेर्यो केहीबेर, त्यसपछि अलि हिचकिचाउँदै भन्यो– ‘जिजु, मलाई केही पैसा चाहिएको थियो, म…।’
‘किन, केका लागि ?’ मैले उसको कुरा बीचमै काट्दै सोधेँ । ऊ फेरि हिचकिचायो । बिनीतर्फ हेर्यो । अन्त्यमा साहस बटुलेर भन्यो– ‘जिजु मलाई १०–१२ लाख रुपियाँ चाहिएको छ । एउटा एजेन्ट भेटेको छु, जसले अस्ट्रेलियाको भिसा मिलाइदिन सक्छ रे । तर पैसा पहिल्यै चाहिन्छ भन्छ । त्यसैले…।’
‘दलालहरूलाई ख्वाउनका लागि मसँग सुको दाम छैन ।’
‘तर जिजु, बाहिर जानलाई त हजुरले नै पैसा दिन्छु भनिसेको थियो फेरि…।’
‘मैले पढ्न जानका लागि दिन्छु भनेको थिएँ, जुन तिम्रो बुताभन्दा बाहिरको कुरा देख्दैछु म । पढ्न जानलाई, आफ्नै प्रयासले भिसाका लागि कोसिस गर, जति लागेको पैसा म बेर्होछु । तर यसरी होइन । जाबो आइइएलटीएस त पढेर पास गर्न सक्दैनौ तिमी, त्यहाँ गएर के गर्छौ ?’ मैले भनेँ ।
‘तर जिज…।’
‘भिनाजु भन…!’ मैले फेरि उसलाई उछिन्दै भनेँ– ‘त्यो भन्न मन लाग्दैन भने मेरो नाम लिएर बोलाऊ । तर त्यो नभन जुन तिमीहरू सधैँ भन्छौ मलाई ।’
‘जि..ज..आई मिन, भिनाजु यसपटक म साँच्चै कोसिस गर्छु । प्लिज यत्ति पैसा…।’
‘दलाललाई पैसा ख्वाएर तिमीलाई विदेश पठाउने त प्रश्नै आउँदैन सुमन्त । यहाँबाट त्यसरी गएका तिमीले त्यहाँ गएर के गर्छौ ? त्यहाँ गैसकेपछि अपहत्ते गर्यौ भने पैसा खर्च गरेर तिमीलाई त्यता धान्नु वा फिर्ता यता ल्याउनुभन्दा त बरू तिमी जाँदैनगएको बेस । त्यसैले त्यो कुरा छोड । यतै पढ । आफ्नै बिजनेसमा कतै इन्भल्भ भएर काम गर । दलाललाई पैसा ख्वाएर अस्ट्रेलिया जाने कुराबाहेक अरू केही भन्नु छ भने भन…!’ मैले प्रसङ्ग पटाक्षेप गर्दै भनेँ । उसको अनुहारमा एकै क्षण निराशा छायो तर फेरि तुरुन्तै उसले रोषपूर्ण स्वरमा भन्यो– ‘हजुरले यस्तो गर्न पाइसिन्न, यो मेरो भविष्यको कुरा हो !’
‘कसले रोक्छ ?’ मैले पनि उस्तै कडा स्वरमा भनेँ– ‘मेरो मर्जी । पैसा मेरो, इच्छा पनि मेरो । कसले रोक्छ ?’
‘के थाहा कसले रोक्छ ?’ उसको स्वरमा एक प्रकारको विचित्र भाव अभिव्यक्त भइरहेको थियो– ‘तर हजुरले यस्तै मर्जी देखाइरहिस्यो भने कसैलाई न कसैलाई त रोक्न करै लाग्छ । अब हजुर नै भनिस्योस् न, हजुर नै नभएपछि हजुरको मर्जीको के अर्थ ? हजुरको इच्छाको के मतलब ?’
‘सुमन्त…!’ म कराएँ । बिनी पनि बसेको ठाउँबाट उठी । तर सुमन्तले बिनीतिर हात उठाएर उसलाई त्यहीँ अडिने इसारा गर्दै मतिर हेरेर भन्यो– ‘जिज, जब आफूमा सामथ्र्य हुँदैन तब कमसेकम मान्छेले निहुँ खोज्नु हुँदैन । ग्लास उठाएर पानी पिउनलाई त हजुरले अरूको मुख ताक्नुपर्छ । तर फूर्ति यस्तो देखाइसिन्छ कि मानौँ यस घरको मात्र नभएर यस सहरको पनि मालिक हजुर नै हो । त्यसैले त यो दुई कौडीकी नर्सको अगाडि हामी सबैको अपमान गरिसिन्छ ।’
‘सुमन्तऽऽऽ….!’ म चिच्याएँ ।
‘बिस्तारै बोलिस्यो जिज, हातखुट्टा त यसै चल्दैन, चर्को बोलिस्यो भने आवाजले पनि साथ छोड्देला फेरि !’
‘गेट आउटऽऽऽ !’ म पागलजस्तै कराएँ । बिनी मेरो बेडकै छेउमा बस्न आई अनि सुमन्तलाई लक्ष्य गर्दै भनी– ‘कतैबाट नसा चढाएर आएका त छैनौ ? यसरी कुरा गरिन्छ आफूभन्दा ठूलो मान्छेसँग ? ठूलो मान्छे पनि त्यो, जसले तिमीलाई आश्रय दिएको छ ।’
‘सट अप !’ ऊ चिच्यायो– ‘फोकटमा आश्रय दिएको हो र ? मेरी दिदीसँग बिहे गरेको छ, त्यसैले पो । यी नाता न गोताका साथी भनी टोपलिएकाहरूको भन्दा त हाम्रो हक लाग्छ नि, यो सम्पत्तिमा ।’
‘हक ?’ म फेरि कराएँ– ‘हक लाग्छ ? मेरो बाउ, बाजेको सम्पत्तिमा तिमीहरूको हक लाग्छ ? साबित गरेर देखाओ, म…।’
‘आवश्यकता के छ ?’ उसले उपेक्षापूर्वक भन्यो– ‘दिदीको हातमा आएपछि हामीलाई के साबित गर्नुपर्छ र…?’
‘अनि दिदीको हातमा आउँछ कसरी ?’ म गर्जिएँ ।
‘किन, अपाहिजलाई हार्टअट्याक हुँदैन ?’ उसले रहस्यपूर्ण स्वरमा भन्यो– ‘जिज, सद्दे, सग्लो मान्छे हजुर, एकपटक ढलेर अहिलेसम्म उठ्न सकिसेको छैन । के थाहा अहिले फेरि लडेर ह्विलचेयरको पनि लायक रहिसिन्न कि ?’ उसले पालैपालो मलाई अनि बिनीलाई हेरेर हातका दुई औँलाले स्यालुटको पारामा निधार छुँदै बाहिर निस्कियो । म र बिनी अवाक्, ऊ निस्किएर गएको ढोकातिर हेरिरह्यौँ ।
क्रमशः

(विगत डेढ दशकदेखि उपन्यास र कथाका विधामा निरन्तर कलम चलाउँदै आएकी स्रष्टा हुन् सानु शर्मा । हालसम्म उनका पाँच कृति प्रकाशित छन् । उनको आख्यान–शृङ्खला– ‘फरक’ हरेक सोमबार र शुक्रबार नियमितरूपमा प्रकाशित हुनेछ । )

[email protected]