माया - Aksharang
  • २०७७ फागुन १७ सोमबार

माया

रमण घिमिरे

रमण घिमिरे

धेरै लेखेँ
धेरैपटक लेखेँ
लेख्दालेख्दा अक्षरहरू नै सकिएला जस्ता भए
तर एउटा कुरा लेख्नै सकिनँ

लेख्नु धेरै पनि थिएन
जम्माजम्मी एक शब्द मात्र लेख्नु थियो
लेखिरहेँ, लगातार लेखिरहेँ
पानामाथि पाना खाप्दै
वषौँवर्ष लेखिरहेँ
आफ्ना कुराहरू लेखेँ
तिम्रा कुराहरू लेखेँ
तिम्रा र मेरा साथी–सङ्गीका
कुराहरू पनि लेखेँ
गाउँघर, छरछिमेकीका कुराहरू लेखेँ
तर लेख्न चाहेको यति एक शब्द
लेख्न सकिनँ

वषौँ बिते
कहाँ छौ अहिले तिमी
त्यो पनि थाहा छैन मलाई
म कहाँ छु
सायद त्यो पनि थाहा नहोला तिमीलाई
त्यसपछि के–के भए देश–दुनियाँमा
त्यो तिमीलाई पनि थाहा छ
त्यो मलाई पनि थाहा छ
तर तिमीले थाहा नपाएको
र, मलाई मात्र थाहा भएको एउटा कुरा
यति लालो समययात्रामा
मैले लेख्न सकिनँ

लेख्न त मैले यो शब्द
हजारौँ–लाखौँपटक लेखेँ
अरू नै पात्रका लागि
अरू नै सम्बन्ध र प्रयोजनका लागि लेखेँ
तिम्रो लागि लेख्न सकिनँ
सायद अरूका पनि होलान्
यस्ता घटना–प्रसङ्गहरू
अरूले पनि लेख्न सकेनन् होला
यो एक शब्द
तिनीहरूले
लामालामा उपन्यास, काव्य या महाकाव्यमा
यो शब्द
सयौँ, हजारौँपल्ट लेखेर
पानाहरू रित्याए होलान्
मैलेजस्तै
तर आफ्ना लागि सायद लेख्न सकेनन्
जसरी मैले लेख्न सकिनँ

अब आज फेरि म किन लेखूँ यो शब्द ?
यसको प्रयोजन
समाप्त भइसकेको छ
जसरी मैत्री–सम्झौतापछि युद्ध समाप्त हुन्छ
जसरी युद्धपछि बन्दुकको प्रयोजन समाप्त हुन्छ
जसरी नयाँ सत्ताको स्थापनापछि
विस्थापित पुरानो संविधानका
धाराहरू समाप्त हुन्छन्

त्यसरी नै यसको अर्थ
सन्दर्भहीन भइसकेको छ
यसको सामयिकता
समाप्त भइसकेको छ
त्यसैले आज पनि लेख्दिनँ म यो शब्द
जुन शब्द नपढी
यी पङ्क्तिहरू पढ्यौ भने
तिमीले पनि बझ्नेछौ
र ती ठूल्ठूला किताब लेख्नेहरूले पनि
बुझ्नेछन्
यो संसारकै सबैभन्दा प्रिय शब्द
सबैभन्दा शक्तिशाली शब्द
युद्धलाई पनि जित्नसक्ने शब्द
र, जीवनको हरेक संविधानको
प्रस्तावनामा लेखिने
यो शब्द
तिमी आफैँ बुझ
तर आज पनि म लेख्दिनँ यो शब्द ।


(घिमिरे स्थापित साहित्यकार हुन् ।)
raman.ghimire@gmail.com