भुँवरीमा इन्द्र ! - Aksharang
  • २०७७ मंसिर १९ शुक्रबार

भुँवरीमा इन्द्र !

युवराज नयाँघरे

युवराज नयाँघरे

नबुझ्नेदेखि बुझ्ने उमेरसम्म मैले इन्द्रबहादुर राईलाई पढेँ ।
चार–पाँच कक्षामा पढ्ने उमेर भनेको के बुझ्झकी उमेर हो र ! तैपनि यतिखेर समेत इन्द्रबहादुरका सिर्जना पढेको मीठो सुवास मनभरि छ । हिजोआज बरु उनीसँग म नजिकिन सकिनँ । उनका पुराना पात्रले हृदयमा पारेको खलबल उस्तै छ अहिलेसम्म ।
‘आज रमिता छ’– चार पास गरे लगत्तै मैले गाई हेर्दा पढेँ । पढेँ, सबै पढेँ । के, कसरी, कुन र कहाँसम्म आफूलाई थामेर पढेँ याद छैन । तर गाई चराउँदै त्यस किताबमा डुबेको थिएँ ।
रमिता शब्दले तानिएर पनि यो पुस्तक मैले छिचोलेँ । निकै वर्षपछि दार्जिलिङको चोकबजार पुगेर त्यही उपन्यासको चोकबजारमा आत्मस्थ भएँ ।
राई चिन्तक हुन् । मानवताको सूक्ष्म चिन्तन उनका कथामा मैले अनुभूत गरेँ । उनका तीन कथा मैले औधी मन पराएँ । रातभरि हुरी चल्यो, हामीजस्तै मैनाकी आमा, जयमाया आफू मात्र लेखापानी आइपुगी । यी तीन कथाले मलाई सधैँ तानेको तानेकै गरे ।
कथाको पात्र, उसको भोगाइ, वातावरण, संरचना, संवाद, प्रवाह र भाषाको रुपौलो चरित्रसँग म औधी तानिएँ । भावुकता र सरलताका समान गतिमा राईका कथामा म डुब्थेँ ।
दुःखसँग नजिकिएर उनले पात्र उभ्याए– पाठकलाई ती पात्रको हरेक चरित्र र भावनाले एकनासले स्पर्श गरिरहे । म एउटा त्यस्तो पाठक थिएँ– तिनै सन्तप्त पात्रबाहेक अरूप्रति मोह, स्नेह र आदर कहिल्यै उम्रिएन ।
जयमायालाई सम्बोधन गर्न म नि चुकिनँ । ‘एक हातको ताली’ मा एउटा निबन्ध छ जयमाया अर्थात् नेपालीहरू । स्पर्श वा स्नेहको त्यही चरित्र हो– एक लेखकले अर्को लेखकसँग भावनागत वातावरण जोड्न खोज्नु ।
लीलाको एउटा चिन्तन, बहस, विमर्शमा उनको धेरै समय बित्यो । यस दर्शनलाई समाजको सापेक्ष परिवेशमा छलफल गराएर स्थापित गर्नतिर उनको ठूलो अभ्यास र चेष्टा भयो । कुनै बेलाको आयाम नयाँ भयो वा अझ भिन्न परिचयमा राईले ल्याए– एउटा फरक बहस हुँदै हो । तर लीलाको उद्बोधन र मन्थन आफैँमा उल्लेख्य ज्ञानसागर हुन् ।
पछिल्लो धेरै समय राईले यही सेरोफेरोमा आफ्ना हातपाउ खर्चे, मन र चेतना सुम्पे । भावनाले निचोड खोज्दा दर्शनमा गएर टुङ्गिँदो हो । इन्द्रसँग त्यही मार्गले डोर्याएर हिँडायो लामै समय ।
इन्द्रबहादुर राईलाई सधैँ मानक दृष्टिले हेरेँ मैले । उनका आलोचना र विचारसँग मेरो मत छेउछाउसम्म गएन । उनका कथाहरूको सुकोमल घामछायाँले मलाई सधैँ आलोकित पारे । रचनाको मूल्यमा पाठक कहाँनिर आनन्दित वा हर्षित हुन्छ– लेखकको अमरत्व त्यहीँनिर हुन पुग्छ । राईका कथाले पटकपटक डाकेर मलाई घोत्लिने बनाउनु, फकाउनु, बुझाउनु र पाठ पढाउनु भनेकै मेरो रुचिले त्यो संसारमा रमाउने परिवेश खोज्नु हो । राईको सम्मान मेरो हृदयले त्यही कोणबाट गरेको हो ।
इन्द्रबहादुर राईसँगका तीन प्रसङ्ग विशेष छन् मेरा लागि ।
२०५१ सालको असोजमा दार्जिलिङ गएर उनको वार्ता ल्याउने योजना थियो । हामीले निकै प्रयास गरेर उनको वार्ता लियौँ लोचनगरमा । झन्डै तीन घन्टा लगाएर त्यो वार्ता तयार भएपछि हिँड्ने बेला टेपरिकर्डरमा फेरि सुन्न खोज्दा, रित्तै पो ! त्यति धेरै कोसिस गरी तयार भएको वार्ता रेकर्ड नहुँदा मन निकै खिन्न भएथ्यो ।
‘यो एउटा लीलै हो !’ आइबीले भनेथे ।
त्यो लीला निकै नमज्जा भयो । रेडियो नेपालमा वार्ता बजाउँला भनेर गरेको कोसिस खेरै गयो । राईले त्यो दिन बोलेका कुरा निकै सघन, सुगठित र तार्किक थिए । तेजिला कुराका रापले हाम्रा हृदय सेकिए पनि जगत्का लागि ती चिन्तन प्रवाह गर्न सकिएन ।
मैले सर्वदा सम्मान प्राप्त गरेँ । इन्द्रसँगै वैरागी काइँला, ईश्वरवल्लभका हातबाट त्यो सम्मान पाएको थिएँ ।
त्यस दिन प्रज्ञाभवनको पुस्तकालय कक्षमा इन्द्रले दिएको प्रवचन एउटा सारगर्वित, प्राज्ञिक र अनन्यतम् थियो । समकालीन साहित्य र स्रष्टाको गतिबारे उनको प्राज्ञिक चिन्तन निकै शालीन थियो, ऊर्जाशील थियो र मननीय थियो ।
राईसँग भएको समाज, राजनीति, अर्थ समाज र संस्कृतिको अद्भुत अध्ययन थियो । उनले ती सबैलाई पर्गेलेर साहित्यिक कसीमा उभ्याए । जीवन र दर्शनको पाइलासँगसँगै डोरिएकै जाती । यै मनोगत चेतमा राई हिँडे । उनले हिँडाएको रचनात्मक राग पनि यही नै थियो ।
प्रज्ञाभवनको अविश्रान्त उद्घोषणा पनि त्यही थियो राईको ।
२०६३ सालतिर राधेश्याम लेकाली र म दार्जिलिङ पुगेका थियौँ । एक अपरान्ह लामै गफगाफ भयो, आइबी राईसँग । बाहिरपट्टि बरान्डामा बसेर उनीसँग साहित्य, कला, राजनीति र संस्कृतिमा अनेक मन्थन भएथे ।
पुरानो पीडा उनले त्यतिखेर नि पोखेथे– ‘नेपाली हैन गोर्खा भाषा भन्छन् । त्यो निकै साँघुरो हेराइ हो ।’
गोर्खाल्यान्ड आन्दोलनका वेलामा आदिकवि भानुभक्तको शालिक भत्काइएको थियो । त्यसको वेदना उनीभित्र निकै नै रहेछ । राजनीतिले भाँडभैलो मच्चाइरहेको वेला नेपाली भाषा, जाति र संस्कृतिका पक्षमा अडिग भएर उभिने सम्भवतः राई मात्र थिए त्यतिखेर ।
नेपाल त राष्ट्र हो । नेपाली त समूल जाति हो । गोर्खा वा गोर्खाली सम्बोधन र विश्लेषणले समग्रता नजोडिने उनको तर्क त्यो साँझ लेकाली दाइ र मैले सुनेका थियौँ ।
इन्द्रबहादुर राईलाई सरल वा कठोर जुनै विवेचनाले मन्थन गर्दा नि हुन्छ । उनले तेस्र्याएका तर्क, सोचेका सिद्धान्त र बोलेका बोलीमा भाषिक र चेतनागत उडानको विशिष्ट स्वाद र सिर्जना भेटिन्छ । शब्द वा भावलाई कलाकारिताकै कोटीमा पुर्याउने शैली अद्भुत लाग्छ ।
राईसँग दर्शनले घेरेको समाज रह्यो । निकै अघि नेपाल टेलिभिजनमा समाजवाद र माक्र्सवादबीचको अन्तर्सम्बन्धबारे उनको धारणा एउटा उल्लेख्य लागेथ्यो । माक्र्सवादीले घुमाइफिराई उनलाई तल पार्न तुल्याएको भावना फितलो लाग्यो । उनी पहाडसमान उभिएर समाज र परिवर्तनलाई जड्ताबाट जोगाएका लाग्थे ।
इन्द्रसँग नेपालको नातो धेरै अर्थले अपार, हार्दिक र आत्मिक भयो । ज्ञानगरिमाको एउटा माथिल्लो उचाइ र परिचयसँग नेपाली समाजले उनलाई सम्मान गर्यो । उनी पनि अध्ययन र विमर्शको असीमित तरङ्गमा स्थापित भइरहे । यसैले पनि हाम्रो समाज राईसँग निरपेक्ष रहन सकेन । उनी मान्य, स्मरणीय र मननीय भए ।
जयमायाका परिच्छेद यथावत छन् । ती फरक ढङ्गले समाजमा पाइला चालिरहेका छन् । जयमायाका मन र दृष्टि धेरैअघि नै निहाल्ने राईको छटपटी आजसम्म पनि निराकरण हुनसकेको छैन ।
समाज र मानवसंचेतनालाई उथलपुथल पार्ने राईजस्तो तपस्वी लेखक लगत्तै हामी कहाँ पाऊँला र ? एउटा गहिरो भुँवरीमा छु म ।
…………………………………
(नयाँघरे स्थापित निबन्धकार हुन्)

yrnayaghare@gmail.com