प्रिय समय - Aksharang
  • २०७७ श्रावाण २७ मङ्गलबार

प्रिय समय

सुस्मिता नेपाल

सुस्मिता नेपाल

तिमी मेरो जीवनमा यति नजिक हुँदाहुँदै पनि म तिमीभन्दा कति टाढा हुन पुगेछु । मेरो सिर्जनामा खेलिरहने तिमी यतिखेर मभित्र रहेका सिर्जनशील क्षमता नै हराएपछि तिमी पनि हराउनु स्वाभाविकै रहेछ । अहिले मलाई तिमीसँग हुन मन छ । तिमीसँग हुने रहरले आफैँबाट हराएको सिर्जनशील क्षमतालाई खोज्न मन लागेको छ । तिम्रै सिर्जनात्मक मनभित्र रमाउन मन लागेको छ । भन, समय यही कुरामा आफूलाई कसरी अगाडि लैजाऊँ ?
मेरो जीवनमा सिर्जनाको कुलो निरन्तर कुलकुल बगिरहेको थियो । यसरी बग्नुमा पनि तिम्रै ठूलो साथ पाएकी थिएँ । तिमीले मलाई आफैसँग बग्न पनि दिएका थियौ, निर्धक्कसँग बग्न दिएका थियौ । खुसी थिएँ यस कुरामा । तिमीले मेरो सिर्जनाको फाँटलाई अझ फराकिलो पार्न चाह्यौ । तिम्रो चाहनासित मेरो चाहना पनि मिसियो । यस चाहनाले ठूलो आकार लिँदै जानथाल्यो । यही चाहनामा अरू चाहनाहरू पनि आएर मिसिन थाले । तिमीले मेरो चाहनासँगसँगै अरू चाहनाहरूलाई पनि आफ्नै मनभित्र समेट्यौ । यसले सबैलाई काम गर्ने आँट अनि हौसला अझै थपिदियो ।
समय, तिमीले हामीलाई यसरी समात्यौ, जसले गर्दा हामीले धेरै कामहरू गर्दै अगाडि बढ्ने अवसरहरू प्राप्त गर्दै जानथाल्यौँ । यसले समाजमा धेरैले धेरै किसिमका सिर्जनात्मक आकारहरूको निर्माण गर्दै अगाडि बढ्नथाले । यी आकारहरूले अझै अरू धेरैलाई अगाडि बढ्ने प्रेरणा पनि दिए । त्यसैले त अरू चाहनाहरू तिमी नजिक हुनथाले । तिमीसँग नजिक हुनुको अर्थ पनि बुझ्न थाले । तिमीले काम गर्ने तरिकासँग आकर्षित हुनथाले । राम्रा कामहरू गर्नथाले । तिमीले पनि ती चाहनाहरूलाई सिर्जनाको कुलोसँग कसरी बग्ने भन्ने कुराहरूको जानकारी दिएरै यी राम्रा कुराहरूको निर्माण भएको थियो । तिम्रो साथ पाएर धेरै मनहरूले तिम्रो मनलाई पनि सजिलै जिते । तिम्रै सिर्जनाको कुलोसँग बगे । यसरी बग्दा उनीहरूले पनि सामाजमा आफ्नो बलियो स्थान बनाउँदै लगे । उनीहरूले समाजमा बनाउँदै लगेका बलियो स्थानमा दुस्ख पाएका मानिसहरूका सपनाहरूले पनि स्थान पाउँदै गएको अनुभव गर्नथाल्यौ तिमीले । उनीहरूले गरेका सिर्जनात्मक कार्य समाजमा विस्तारित हुँदै जानथाल्यो । यस कुरामा तिमीले आफैँ विस्तारित भएको अनुभव ग¥यौँ । त्यतिवेला तिम्रो खुसी सीमाहीन आकाश बनेको अनुभव मैले पनि गरेकी थिएँ । मलाई के कुरामा अचम्म लाग्छ भने तिमीले आफू मात्रै खुसी हुन कहिले पनि जानेनौ । तिमी आफ्नो खुसीमा अरूको खुसी राखेर मात्रै खुसी हुनसक्थ्यौ ।
कस्तो अनौठो तिम्रो स्वभाव । तिम्रो यही स्वभावले गर्दा तिमीसँग हुँदा धेरैले आफ्नो दुःखपीरलाई पर पन्छाएर खुसी हुन्थे । उनीहरूको दुुःखपीर परपर भाग्दा तिमी कति खुसी हुन्थ्यौ । उनीहरूको जीवनमा भएका असजिला बाटाहरूमा कसरी हिँड्ने भन्ने कुरा सिकाइदिन्थ्यौ । नबुझेकाहरूलाई पे्रमैप्रेमले अँगालेर मजासँग बुझाउने तिम्रो खुबी देखेर म पनि तिमीसित नजिक आइपुगेँ । मलाई पनि तिमीले आफ्नै मनको आकाशभित्र अटाउने ठाउँ दियौ । कति आनन्दको कुरा थियो त्यो मेरो । मलाई मात्र कहाँ हो र, तिमीले अरू धेरैलाई पनि आफ्नै मनको आकाशभित्र समेट्यौ । तिम्रो यही स्वभावका कारणले धेरैले आफ्ना असजिला बाटाहरूलाई सजिला बाटाहरूमा बदले पनि । समाजमा आफ्नो बलियो स्थान बनउन सफल भए । आफ्नो प्रतिष्ठाले गर्दा उनीहरू धेरै माथि पुगे । आफ्ना भविष्यलाई पनि सुरक्षित पारे । तर तिमीले आफ्नो बलियो स्थान, आफ्नो प्रतिष्ठा सधैँ अरूको साथमा रमाएको देख्यौ साथै आफ्नो सुरक्षित भविष्यलाई सधैँ अरूका भविष्यहरूमा लगेर जोड्यौ । तिमीले यो मेरो हो भन्नै जानेनौ, तिमीले त आफूसँग जे छ त्यो सबै हाम्रो मात्र भन्न जान्यौ । तिमीले अरूलाई गर्ने माया कति सुन्दर !
समय, तिम्रै गतिसँगै बग्दा मैले धेरै कुराहरू सिक्ने मौका पाएँ । जीवनको बारेमा बुझाउने क्रममा तिमीले मलाई धेरै राम्रा कुराहरू सम्झाएका थियौ । जीवनका उकाली–ओरालीहरूमा तिमीले मलाई कहिल्यै पनि हिम्मत नहार्नू है ! भनेका थियौ । तर तिमी नै मबाट टाढा भयौ । तिमी टाढा भएर नै मेरो मन विचलित हुनपुग्यो । मलाई मेरै परिस्थितिले अत्याउनसम्म अत्याए । मेरोअगाडि सिर्जनात्मक कुलो बग्नुको साटो आँसुका कुलाहरूले विभिन्न बाटाहरू बनाए । ती बाटाहरूले मलाई अप्ठ्यारा परिस्थितिहरूमा लगेर छाडिदिए । कहाँबाट हिँडौ भन्ने कुरामा रुमलिरहेकी थिएँ । मलाई कुनचाहिँ बाटो हिँड्ने भन्ने कुरा थाहै भएन । अन्योलमा परेकी थिएँ, केही सोच्नै नसक्ने भएकी थिएँ त्यतिवेला ।
थाहा छ समय, एक दिन तिमीले मलाई भनेका थियौ– जीवनमा समस्या आयो भनेर कहिले पनि नआत्तिनू, समस्या आयो भने समाधान पनि हुन्छ । समाधान नै नभएको समस्या हुँदैन । समस्या परेकै वेलामा त दुुःखले निम्त्याएका कुराहरूको हेक्कासमेत नहुने रहेछ । समस्या परेको वेलामा जसले जे भन्दा पनि मेरो मन हल्का नहुने रहेछ । मन हल्का बनाउन खोजेँ तर सकिनँ । मन आखिर मन नै रहेछ, जति सम्झाउँदा पनि नमान्ने । खै, किन हो तिमी मबाट टाढाटाढा भएर गएजस्तो लागेर म निकै दुुःखी हुनपुगेछु । तिम्रै स्नेहका हातहरूले हुर्किएका मनहरू मेरै छेउ आइपुगे । तिनीहरूले ममाथि जेलिएका समस्याका बाटाहरूलाई फुकाउँदै लगे । मैले हिँड्ने बाटाहरूको निर्माण गर्दै लगे । तिमी र मेरोबीच परिस्थितले भत्काएका बाटाहरूलाई जोडिदिए । जोडिएको बाटोको किनारामा बसेर म तिमीलाई महसुस गर्न खोजिरहेकी छु ।
भन, समय के तिमीले पनि मलाई महसुस गर्न खोजिरहेका छौ ? यदि तिमीले मलाई महसुस गरेका छौ भने तिमी तिम्रै मनको समस्याबाट बाहिर आउनैपर्छ । म मात्र होइन, तिमीलाई माया गर्ने हजारौँ मनहरूले तिमीसँग यही कुरा मागिरहेका छन् । के तिमीले यी मनहरूको कामनालाई स्वीकार्दैनौ ? मलाई थाहा छ, हामीले तिमीसँग मन दुखाएका छैनौ । तिम्रो विरामीपनसँग भने दुुःखी भएका छौँ ।
मानिसको जीवनमा सधैँ एकैनास हुँदैनरहेछ । कहिले कुन समस्याले सताउँछ कहिले कुन । यी समस्याहरूको माझ नै जीवन अगाडि बढिरहेको हुन्छ । यस्ता कुराहरू भनेका अरूलाई सम्झाउने बहाना मात्रै हुँदारहेछन् । अरूले सम्झाएका कुराहरू थाहा हुँदाहुँदै पनि मानिसले आफैँमाथि परेको समस्यालाई जीवनको आँधिबेरी सम्झिँदोरहेछ । यस्तो वेलामा जसले जे भन्दा पनि मन भने शान्त नहुने रहेछ । सायद मानवीय गुण भनेकै यही होला । मलाई विश्वास छ, आउने दिनहरूमा समय, तिमीले मेरो सिर्जनात्मक मनलाई बलियो गरी समाउने छौँ ।
……………………………….
(नेपाल चर्चित आख्यानकार हुन्)
susmita.nepal@gmail.com