• २०८३ मंसिर १०, बुधबार

डिगो १२ खरी कथा प्रतियोगिता, २०८३’ को नतिजा सार्वजनिक

काठमाडौँ ।

बाह्रखरी मिडियाले आयोजना गरेको ‘डिगो १२खरी कथा प्रतियोगिता, २०८३’ को आठौँ संस्करणको नतिजा सार्वजनिक भएको छ । प्रतियोगितामा चेतनाथ आचार्यको कथा ‘भोटेकोशीको सुसाहट’ प्रथम भएको छ । आइतबार काठमाडौँमा आयोजित विशेष समारोहमा प्रतियोगिताको नतिजा सार्वजनिक गरिएको हो । प्रथम भएका आचार्यले नगद दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । त्यस्तै, मधुर भट्टराईको ‘सपनाको अर्को रङ्ग’ दोस्रो हुँदै एक लाख रुपैयाँ र सरस्वती सरसको ‘अस्तित्वको अल्गोरिदम’ तेस्रो हुँदै ६० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।

प्रतियोगितामा नेपालसहित विश्वका विभिन्न मुलुकबाट प्राप्त एक हजार २२९ कथामध्ये उत्कृष्ट २५ कथा छनोट गरिएको थियो। सोही अवसरमा उत्कृष्ट २५ कथाको सङ्ग्रह ‘बाह्रखरी उत्कृष्ट कथा, २०८३’ पनि लोकार्पण गरिएको छ । प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने कथाकारबाहेक उत्कृष्ट २५ मा परेका अन्य २२ कथाकारलाई जनही सात हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो ।

प्रतियोगिताको उत्कृष्ट २५ मा अनिता कोइराला, अपेक्षा कार्की, आशीष श्रेष्ठ, कान्ति न्यौपाने, कुशल गौतम, गरिमा आचार्य, चेतनाथ आचार्य, चेबन शर्मा, दीपेन्द्र विष्ट, निर्मल ढुंगाना, प्रकाश राई, प्रवीण याम्फु, बद्री अधिकारी, मधुर भट्टराई, ममता राई, मसान उपासक, युवराज भट्टराई, रजनी ढुंगाना, राकेशकुमार वर्णवाल, राजेन्द्र तारकिणी, श्रेयज सुवेदी, सपना अधिकारी, सरस्वती सरस, सुधन सुवेदी र डा. सुरेन्द्र गैरे परेका छन् । आख्यानकार नयनराज पाण्डेद्वारा सम्पादित ‘बाह्रखरी उत्कृष्ट कथा, २०८३’ लाई पब्लिसिङ पार्टनर फाइनप्रिन्टले बजारमा ल्याएको हो ।

कथा छनोटका लागि बाह्रखरी मिडियाले आन्तरिक र बाह्य गरी दुई मूल्यांकन समिति गठन गरेको थियो। बाह्य निर्णायक समितिको संयोजक कथाकार भुवन ढुंगाना थिइन् । समितिका सदस्यमा समालोचक साहित्यकार डा. ज्ञानु अधिकारी र लेखक तथा चलचित्रकर्मी खगेन्द्र लामिछाने थिए । आन्तरिक मूल्यांकन समितिको संयोजन बाह्रखरीका विचार सम्पादक गोविन्द अधिकारीले गरेका थिए ।