समाचार
वेलपुर र सिमलपुर नदीकिनारका गाउँ थिए । भौगोलिक रूपमा जति रमणीय थिए, सामाजिक रूपमा पनि त्यति नै मिलनसार थिए । गाउँमा गौचर, पानीघाट र सार्वजनिक क्षेत्र छुट्याइएका थिए । वन उपयोगका लागि सीमा निर्धारण गरिएको थियो । कामकाजमा अर्मपर्म र खानपिनमा ऐँचोपैँचो चल्ने गर्थ्यो । वनभोज, मेलापात र मालमधेसमा गाउँलेहरू सामूहिक रूपमा जाने–आउने गर्थे । बुढापाका, बालबालिका र महिलासमेत सबैमा सामूहिकता र सहकार्यको संस्कार थियो ।
एक समयको कुरा हो, बेलपुर गाउँका चार महिला-मैना, लछु, बिमला र निलम-घरको काम सकेर घाँस काट्न वनतिर लागे । वर्षायाम सकिएर वन हरियालीले भरिएको थियो । रूखका पातमा शीतका थोपा चम्किरहेका थिए । चराचुरुङ्गीको आवाज सुनिन्थ्यो । उनीहरू डोको, हँसिया र नाम्लो बोकेर परिचित गोरेटो बाटो हुँदै माथितिर उक्लिए ।
घाँस काट्न उपयुक्त ठाउँ खोज्दै जाँदा उनीहरू एउटा यस्तो स्थानमा पुगे, जहाँ घना रूखहरूको बीचमा खुला चौर थियो । त्यहाँको वातावरण अरू ठाउँभन्दा शान्त र अनौठो लाग्थ्यो । उमेर चढेका ती युवतीहरू अलि चञ्चल र हँसिली स्वभावका थिए । उनीहरू हाँसोमजाक गर्दा कहिलेकाहीँ सीमासमेत नाघ्थे । मैना एउटा रूखमुनि पुगेर आफ्नै धुनमा घाँस हेर्दै थिइन् । महिलाहरूबीच हुने स्वाभाविक कुराकानी र ठट्टा चलिरहेको थियो । वनमा उनीहरू ठूलो स्वरमा गीत गाउँथे, चिच्याउँथे र रमाइलो गर्थे । उनीहरूको आवाज छेउको गाउँसम्म पनि सुनिन्थ्यो ।
त्यत्तिकैमा बिमलाले अगाडि हेर्दै भनिन्, “ए दिदीहरू, त्यो को हो ?”
तीनै जनाले बिमलाले देखाएको दिशातिर हेरे । केही बेर सबै चुपचाप रहे ।
एउटी महिला केही पर उभिएकी थिइन् । उनको रूप असाधारण थियो । अनुहारमा अनौठो तेज थियो । पहिरन पनि गाउँमा देखिनेभन्दा केही फरक थियो । उनको वरिपरि हल्का उज्यालो छरिएको जस्तो देखिन्थ्यो ।
निलमले बिस्तारै भनिन्, “सायद अर्को गाउँबाट घाँस काट्न आउनुभएको होला ।”
मैना अगाडि बढिन्, “दिदी, तपाईं कुन गाउँको हो ? एक्लै यहाँ के गर्दै हुनुहुन्छ ?”
महिलाले मुस्कुराउँदै हेरिन् ।
“म यही वनकी हुँ ।”
“यही वनकी भन्नाले ?” मैना छक्क परिन् ।
“वनमा बस्ने मान्छे पनि हुन्छ र ?” बिमलाले सोधिन् ।
महिलाले उत्तर दिइनन् । उनी केवल मुस्कुराइरहिन् ।
लछु भने अरूभन्दा अलि अगाडि पुगिसकेकी थिइन् । उनले महिलाको अनुहार ध्यानपूर्वक हेरिन् । उनलाई ती महिला परिचित जस्ती पनि लागिन्, मानौँ पहिले कतै देखेकी हुन् । तर कहाँ देखेकी थिइन्, सम्झन सकिनन् ।
लछुले सोधिन्, “तपाईंको नाम के हो ? घर कहाँ हो ? यहाँ एक्लै बस्नुहुन्छ ?”
महिलाले बिस्तारै भनिन्, “नामले के गर्छौ, छोरी ? मानिसले मलाई धेरै नामले चिन्छन् । कसैले वनदेवी भन्छन्, कसैले आञ्चली, कोही प्रेतात्मा मान्छन्, त कसैले परी भन्छन् । तर मलाई धेरैले उनरुवा भनेर चिन्छन् ।”
‘उनरुवा’ भन्ने नाम सुन्नासाथ चारै जना एकअर्काको अनुहार हेर्न थाले । त्यो नाम उनीहरूले बूढापाकाबाट सुनेका थिए । तर उनरुवालाई यसरी आफ्नै अगाडि देख्नुपर्ला भन्ने कल्पना गरेका थिएनन् । बज्यैले सुनाउने उनरुवाको कथा दन्त्यकथाजस्तै लाग्थ्यो । तर त्यही कथाकी पात्रलाई सामुन्ने देख्दा उनीहरूको मनमा डर पस्यो । ‘पर्छ टर्छ’ भन्ने मान्यताका साथ मुटु दह्रो पारेर उनीहरूले कुरा अगाडि बढाए ।
मैना केही हच्किँदै सोधिन्, “तपाईं नै उनरुवा हो ?”
महिलाले शान्त स्वरमा भनिन्, “तिमीहरूले सुनेकी उनरुवा मै हुँ ।”
अब चारै महिलाको मनमा जिज्ञासा जाग्यो । डर र कौतूहल मिसिएको अवस्थामा उनीहरू उनरुवाको वरिपरि उभिए ।
बिमलाले सोधिन्, “तपाईं मानिस हो कि देवी ?”
उनरुवाले जवाफ दिइन्, “तिमीहरूले मानिस र देवी भनेर छुट्याएका छौ । तर यो संसारमा आँखाले देखिने र नदेखिने अनेक अवस्था छन् । सबै कुरा एउटै तराजुमा जोख्न सकिँदैन । म केही भ्रम, केही विश्वास र केही सत्य पनि हुँ ।”
निलमले सोधिन्, “तपाईंको घर कहाँ छ ?”
“मेरो घर तिमीहरूले देख्ने घरजस्तो छैन । यही वन, यही डाँडा, यही नदी र यही एकान्त मेरा निवास हुन् ।”
मैना अझै जिज्ञासु भइन्, “हामीले कहिलेकाहीँ पँधेरामा महिला देख्छौँ । बोलाएको आवाज सुन्छौँ, तर खोज्दा कोही भेटिँदैन । त्यो पनि तपाईं नै हो ?”
उनरुवाले भनिन्, “कहिलेकाहीँ तिमीहरूले देखेको आकृति म हुन सक्छु, कहिलेकाहीँ अरू कुनै अदृश्य शक्तिको प्रभाव हुन सक्छ । यस वनमा म एक्ली छैन ।”
लछुले तुरुन्तै सोधिन्, “अरू पनि छन् ? को छन् ?”
उनरुवाको अनुहार गम्भीर भयो । उनले भनिन्, “मजस्तै श्राप वा कर्मका कारण यस लोकमा बाँधिएका अरू शक्तिहरू पनि विभिन्न स्थानमा हुन सक्छन् । सबैको कथा एउटै छैन । सबैको उद्देश्य पनि एउटै छैन ।”
बिमलाले फेरि सोधिन्, “तपाईंले मानिसलाई दुःख दिनुहुन्छ ?”
उनरुवाले भनिन्, “मेरो सामर्थ्यको उद्देश्य निरपराधलाई दुःख दिनु होइन । सहाराविहीनलाई सहारा दिनु, असहायलाई बाटो देखाउनु र दुःखमा परेकालाई सहायता गर्नु नै मेरो चाहना हो । तर कहिलेकाहीँ सही बाटो देखाउन अलि बाङ्गो बाटो अपनाउनुपर्ने हुन्छ ।”
यी कुरा सुनेर चारै जनाको डर केही कम भयो । तर लछु भने उनरुवाको अनुहारबाट आँखा हटाउन सकिरहेकी थिइनन् । उनको मनमा अनेक प्रश्न उठिरहेका थिए । उनले फेरि केही सोध्न खोजिन्, तर अचानक उनको शरीर काँप्न थाल्यो । उनी बेहोसझैँ ढलिन् ।
“लछु ! के भयो ?” मैना चिच्याइन् ।
लछुले कुनै जवाफ दिन सकिनन् । उनका आँखा बन्द भए । भुइँमा ढलेकी लछुलाई सबैले उठाए । उनी बेहोस भएपछि तीनै जना आत्तिए ।
“लछु ! लछु ! आँखा खोल !”
“पानी ! पानी ! पानी खोजौँ !” मैना आत्तिएर बोलिन् ।
बिमलाले पातमा पानी थापेर ल्याइन् र लछुको अनुहारमा छर्किन् । निलमले उनको हात समातिन् । मैना भने यताउता हेर्दै उनरुवालाई खोज्न थालिन् । तर उनरुवा त्यहाँ थिइनन् । केही क्षणअघि चारै जनासँग कुरा गरिरहेकी महिला एकाएक अदृश्य भएकी थिइन् । न उनको पाइला सुनिएको थियो, न उनी गएको कुनै बाटो देखिएको थियो ।
मैनाले डराउँदै भनिन्, “अहिले त यतै हुनुहुन्थ्यो ! कहाँ जानुभयो ?”
बिमलाले काँपेको स्वरमा भनिन्, “हामीले देखेको कुरा साँचो थियो कि थिएन, केही बुझ्न सकिनँ ।”
निलमले लछुको टाउको आफ्नो काखमा राख्दै भनिन्, “जे भए पनि पहिले लछुलाई घर पुर्याऔँ ।”
तीनै जनाले मिलेर लछुलाई उठाए। घाँसका भारी र हँसिया त्यहीँ छोडेर उनीहरू गाउँतिर लागे । बाटोभरि लछु अर्धचेत अवस्थामा थिइन् । कहिले आँखा खोल्थिन्, कहिले फेरि बन्द गर्थिन् । घरमा पुर्याएपछि परिवारका सदस्यहरू जम्मा भए । कसैले पानी खुवाए, कसैले हावा दिए । केही बेरपछि लछुले बिस्तारै आँखा खोलिन् । तर उनको अनुहारमा सामान्य अवस्था फर्किएको थिएन ।
एक पटक उनले अस्पष्ट स्वरमा भनिन्, “उनरुवा… वनदेवी…”
यति भनेपछि उनी फेरि मौन भइन् । अरूले घटनाको बेलीबिस्तार लगाए ।
गाउँमा खबर फैलियो । एक कान, दुई कान हुँदै मैदान भनेझैँ सबैका घरमा खबर पुग्यो। साँझ नपर्दै धेरै मानिस लछुको घरमा जम्मा भए । कसैले वनमा केही देखेको होला भने, कसैले त्यो वनमा ठूलो भूत बस्ने र त्यसैले समातेको हुन सक्ने अनुमान गरे । कसैले देवी र भूतका कुरा अन्धविश्वास भएको भन्दै थकाइ र डरले बेहोस भएको तर्क गरे ।
जति मानिस आउँथे, सबैले आ–आफ्नै किसिमका सल्लाह दिन्थे । यो हाम्रो सामाजिक पद्धतिकै एउटा पक्ष पनि हो । कुनै मानिस बिरामी पर्दा भेट्न आउने सबै जना डाक्टरले जस्तै सल्लाह दिन्छन् र भन्छन्, “मलाई यसैगरी बिसेक भएको हो । यसको अचूक उपाय यही हो ।” त्यहाँ पनि त्यस्तै भयो। आउनेजति सबैले कुनै न कुनै उपाय बताउँथे र त्यही गर्न सुझाउँथे ।
सबैजना पटक–पटक घटनाबारे मैना, बिमला र निलमलाई सोधिरहेका थिए । उनीहरूले आफूले देखेको र भोगेको घटनाबारे एउटै कुरा दोहोर्याइरहे, “हामीले एउटी महिलासँग कुरा गरेका थियौँ । उहाँले आफ्नो नाम उनरुवा भन्नुभएको थियो ।”
अन्ततः गाउँका मानिसहरूले स्थानीय धामीलाई बोलाउने निर्णय गरे । धामी बोलाएर वनदेवीलाई खुसी पार्ने विधि जुटाउने र लछुलाई ठीक पार्ने योजना बन्यो। रात परिसकेको थियो । लछुको घरको आँगनमा मानिसहरू जम्मा भएका थिए । बीचमा दियो बालिएको थियो । घरका महिलाहरूले पूजाका सामग्री तयार पारेका थिए । धामीलाई बस्ने आसन राखिएको थियो । स्थानीय धामी आए । उनले आफ्नो परम्पराअनुसार पूजाका सामग्री मिलाए, धूप बाले र देवीदेवताको स्मरण गर्न थाले । घरको वातावरण क्रमशः गम्भीर बन्दै गयो ।
केही बेरपछि धामीमा कम्पन देखिन थाल्यो । उनको बोलीको स्वर बदलियो। उपस्थित मानिसहरू चुपचाप हेर्न थाले । लछुमा पनि वनदेवीको प्रभाव देखियो । लछु बोलिरहेकी थिइन्, तर त्यहाँ लछु वनदेवीको स्वरूपमा बोलिरहेकी थिइन् । धामी र वनदेवीबीच संवाद सुरु भयो ।
धामीले गम्भीर स्वरमा भने, “को हौ तिमी ? कसको आह्वानमा यहाँ आएकी छौ? लछुको शरीर र मनमा के भएको हो ?” केही क्षण मौनता छायो । त्यसपछि धामीको स्वरबाटै अर्को आवाज निस्किएझैँ सुनियो । लछुको स्वरमा पनि उनको आफ्नै आवाज थिएन । धामीले सोधेको प्रश्नको जवाफ दिँदै वनदेवीले भनिन्, “मलाई खोजेर ल्याउनुपर्ने थिएन । म आफैँ आएकी हुँ । वनमा भेटिएका ती चार महिलामध्ये लछुको मनले मेरो उपस्थितिलाई बढी ग्रहण गर्यो ।”
धामीले प्रश्न गरे, “तिम्रो परिचय देऊ ।”
उत्तर आयो, “म उनरुवा नाम गरेकी वनमा विचरण गर्ने असाधारण आत्मा हुँ । यस क्षेत्रका मानिसहरूले मलाई वनदेवी भनेर चिन्छन् । मेरो नाम उनरुवा हो ।”
आँगनमा बसेका मानिसहरू एकअर्काको अनुहार हेर्न थाले । धामीले फेरि सोधे, “तिमी कहाँबाट आएकी हौ ? तिम्रो वास्तविक कथा के हो ?” त्यसपछि सुरु भयो उनरुवाको बयान ।
“गुरुजी, तपाईंले सोध्नुभएअनुसार मेरो परिचय दिन्छु । मेरो जीवनी कुनै कथाजस्तै छ । म आफ्नै कथा भन्छु । म यस वनमा बस्ने होइन । मेरो मूल स्वरूप स्वर्गकी अप्सरा हो । स्वर्गका पुष्पवन र गन्धर्वलोकको सङ्गीतमा रमाउने म एक दिन परिस्थितिवश मृत्युलोकको सौन्दर्य हेर्न आएकी थिएँ । मृत्युलोकमा मैले एउटा ऋषिको तपस्यामा विघ्न पुर्याएँ । मेरो चञ्चलता र अविवेकका कारण ऋषि क्रोधित हुनुभयो । उहाँले मलाई वनदेवीका रूपमा यस लोकमा रहनुपर्ने श्राप दिनुभयो । त्यही श्रापका कारण म यहाँ यस अवस्थामा विचरण गरिरहेकी छु । यतै कतै मेरा साथीहरू पनि छन् । श्रापको परिणामस्वरूप म यहाँ आएँ । समय बित्दै जाँदा मानिसहरूले मलाई विभिन्न रूपमा देखे र विभिन्न नामले बोलाउन थाले। यस क्षेत्रमा भने म उनरुवाका नामले प्रसिद्ध छु ।
मेरो निवास कुनै एउटा ठाउँमा मात्र सीमित छैन। वनका एकान्त कुनाहरू, डाँडाका निर्जन भाग, नदीका किनार र पँधेराका वरिपरि म विचरण गरिरहेकी हुन्छु । कहिलेकाहीँ बटुवाले आफ्नो अगाडि महिला हिँडिरहेको देख्छ। ऊ नजिक पुग्न खोज्छ, तर आकृति हराउँछ । कहिलेकाहीँ पँधेरामा पानी भर्न गएकी महिलाले कसैको उपस्थिति अनुभव गर्छे । घाँस काट्न गएकीले वनमा अर्को महिला भेटेझैँ देख्छे। नदीमा नुहाइरहेका मानिसले टाढाबाट केही आकृति देख्छन्, तर नजिक पुग्दा त्यहाँ कोही भेटिँदैन । यी सबै घटनाको एउटै कारण म हुँ भनेर नसम्झ । यो संसारमा मानिसको ज्ञानभन्दा बाहिरका अनेक रहस्य छन्। यस वनमा मबाहेक अरू शक्तिहरू पनि हुन सक्छन् । कतिपय ठाउँमा मलाई सम्झेर मानिसहरूले कालो नेजा चढाउने गरेका छन् । कतै ध्वजा वा धाजा चढाइन्छ । कतै साँझपख वनमा दियो बालिन्छ । कतै सिँगारका सामग्री चढाएर वनदेवीका रूपमा मान्ने गरिन्छ । मानिसहरूले मलाई वन संरक्षक र वनपालकका रूपमा मान्ने गर्छन् ।
यी सबै परम्पराले मानिस र प्रकृतिबीचको सम्बन्धलाई देखाउँछन् । मानिसले वनसँग डर पनि राख्छ, श्रद्धा पनि गर्छ । वनबाट जीवन चलाउँछ र वनकै संरक्षणको कामना गर्छ। मसँग मानिसहरूले मागेका सबै कुरा पूरा गर्ने सामर्थ्य छैन । न त म सबै विपत्तिको कारण हुँ, न सबै दुःखको समाधान नै हुँ। म आफ्ना सीमाभित्र रहेर सहायता गर्न चाहन्छु र गर्छु पनि । निरपराध मानिसको दुःख देख्दा मेरो मन दुख्छ । सहाराविहीन, असहाय र अन्यायमा परेकालाई सम्भव भएसम्म सहायता गर्ने मेरो चाहना हुन्छ । कहिलेकाहीँ मानिसले सही बाटो भेटोस्, विपत्तिबाट बचोस् वा निराशाको घडीमा सहारा पाओस् भन्ने भावनाले म प्रेरित हुन्छु ।
यस मृत्युलोकमा अनेक कारणले अकालमा ज्यान गुमाएका मानिसहरूको सम्झना पनि बाँकी रहन्छ । समाजमा विभिन्न प्रताडना सहन नसकी ज्यान गुमाउनेहरू, आत्महत्या गरेका मानिसहरू र दैवी विपत्तिमा जीवन गुमाएकाहरूका कथा गाउँघरमा सुनिन्छन् । उनीहरूसँग सम्बन्धित पीडा, सम्झना र लोकविश्वासले कहिलेकाहीँ प्रेतात्मा वा अदृश्य शक्तिका कथा जन्माउँछन् । मानिसहरूले त्यस्ता आत्मालाई देवमय स्वरूप दिन हामीजस्ता शक्तिहरूको भूमिका रहेको ठान्छन् । यस्ता विश्वास र परम्परामा हामीजस्ता वनदेवीका कथाहरू जोडिँदै आएका छन् । प्रेतात्मालाई देवमय स्वरूप दिन हामी पनि सहयोगी बनेका हुन्छौँ ।
प्रत्येक मृतकलाई प्रेतात्मा ठान्नु उचित हुँदैन । प्रत्येक अनौठो घटनालाई देवीदेवताको प्रभाव भनेर निष्कर्ष निकाल्नु पनि ठीक होइन । मानिसले विवेक राख्नुपर्छ, दुःखीलाई सहारा दिनुपर्छ र मृतकप्रति सम्मान देखाउनुपर्छ । म त श्रापका कारण यहाँ पुगेकी अप्सरा हुँ । तर अब मेरो जीवनको अर्थ केवल श्राप भोग्नुमा सीमित छैन । यस वनको रहस्य, प्रकृतिको मर्यादा र मानिसको दुःख बुझ्दै आफ्नो अस्तित्व बिताउनु नै मेरो कर्म बनेको छ। विश्वासको सीमा फराकिलो छ । विश्वासले नैतिकता निर्माण गर्छ। त्यही सीमारेखाभित्र समाज बाँधिएर बसेको हुन्छ ।”
उनरुवाको आवाज केही बेर रोकियो । फेरि उनले आफ्ना कुरा सुरु गरिन्, “यहाँ अलौकिक विविधता पनि छ । जैविक विविधता देखिएको हुन्छ, भौतिक वस्तु भोगिएको हुन्छ र अलौकिक शक्तिको अनुभूति गरिएको हुन्छ । यो सबै मानिसको मानसकल्पनाभित्र पनि छ । संसार विशाल छ, अनन्त छ । म अनन्त विश्वासको परिधिभित्रको एउटा विश्वास हुँ । यति हो मेरो परिचय, यही हो मेरो बयान ।” आँगनमा बसेका सबै मानिस स्तब्ध थिए । कसैले टाउको निहुराए, कसैले हात जोडेर नमस्कार गरे । मैना, बिमला र निलमले वनमा आफूहरूले देखेको घटना सम्झिए ।
धामीले पुनः प्रश्न गरे, “हे उनरुवा ! तिमीले आफूलाई वनदेवी भन्यौ । के तिमीले यस क्षेत्रमा अरू अप्सरा वा वनदेवीहरू पनि रहेको देखेकी छौ ?”उत्तर आयो, “हो, लोकविश्वासमा मसँग मिल्दोजुल्दो कथा भएका अरू देवीहरू पनि विभिन्न स्थानमा रहेका छन् कसैको कथा नदीसँग जोडिएको छ, कसैको वनसँग, कसैको डाँडासँग । सबैको उत्पत्ति र परिचय एउटै हुँदैन । मानिसहरूले आफ्ना अनुभव, स्मृति र विश्वासका आधारमा उनीहरूका कथा सुनाउँदै आएका छन् ।” धामीले सोधे, “लछुलाई किन यस्तो भयो? उसले त तिम्रो परिचय मात्र सोधेकी थिई।”
उनरुवाको स्वर कोमल भयो, “रङ्गीचङ्गी लुगा र भड्किलो व्यवहारका साथै उच्च स्वरमा नबोल्नु नै बेस हुन्थ्यो । तर नानीहरूबाट त्यस्तो व्यवहार भयो । अरूभन्दा कमजोर मन र सरल स्वभाव भएकाले त्यसको प्रभाव लछुमा पर्न गएको हो ।” यो सुनेपछि लछुका परिवारका सदस्यहरूको मन केही शान्त भयो । लछुका बुवाले थप्दै भने, “यदि तिम्रो उद्देश्य लोककल्याण हो भने यस गाउँमा शान्ति रहोस् । मानिसहरूलाई अनावश्यक भय नहोस् । प्रकृतिको संरक्षण होस् र दुःखमा परेकाले सहायता पाऊन् ।”
उनरुवाको आवाज आयो, “तपाईंहरूले भनेझैँ म यहाँबाट अलप हुन्छु । मानिसले वनको सम्मान गरोस् । वन्यजन्तुलाई अनावश्यक दुःख नदेओस् । पानीका मुहान सफा राखोस् । सहाराविहीनलाई नहेपियोस् । अन्यायमा परेकाको आवाज सुनोस् । यही नै मेरो चाहना हो। कसैमाथि कुनै किसिमको विघ्न हुने छैन । मेरो प्रभावले लछुको आत्मबल बढ्नेछ । सबैमा सुख–शान्ति छाउनेछ ।” त्यसपछि वैदिक विधिबाट वनदेवीको पूजा गरियो । देवीका लागि भनेर ल्याइएका सामग्री देवीको प्रतीकमा चढाइए । देवीको स्तुति गरियो । भजन–कीर्तनसँगै नाचगान र रमाइलो गरियो । वनदेवीको प्रस्थानपछि उनको रहस्यमयी कथाको चर्चा सुरु भयो । साइँला बाजेले पुराणको कथा वाचन गरेझैँ बेलीबिस्तार लगाए ।
“धेरै पुरानो कुरा हो । जब वनजङ्गल घना थिए, नदीका किनारमा ऋषिमुनिका आश्रमहरू थिए र गाउँबस्तीका मानिसहरू प्रकृतिलाई देवतासरह श्रद्धा गर्थे । ऋषिमुनिहरू तपस्यारत हुन्थे। स्वर्गलोकमा रहेका अनुपम सुन्दरी अप्सराहरूको रूप, लावण्य, नृत्यकला र मधुर वाणीको चर्चा देवलोकमा मात्र होइन, गन्धर्वलोकसम्म हुन्थ्यो । अप्सराहरू स्वभावले चञ्चल थिए । उनीहरूलाई स्वर्गका नन्दनवन, पुष्पवाटिका र गन्धर्वहरूको सङ्गीतले सधैँ आकर्षित गरिरहन्थ्यो । कहिलेकाहीँ पृथ्वीमा विचरण गर्न पनि अप्सराहरू आउने गर्थे ।
एक दिन कुनै एक अप्सराले मृत्युलोकको प्राकृतिक सौन्दर्य, त्यहाँका अग्ला पहाड, कलकल बग्ने नदी, घना वन र वन्यजीवन हेर्ने इच्छा गरिन् । देवलोकबाट अनुमति लिएर उनी पृथ्वीमा ओर्लिइन् । हिमालका काख, पहाडी वन, नदीका किनार र हरियालीले भरिएका भूभाग घुम्दै उनी एउटा रमणीय वनमा पुगिन् । त्यहाँ एउटा शान्त आश्रम थियो । आश्रमको वरिपरि ठूला वृक्ष, लहराहरू, जङ्गली फूल र चराचुरुङ्गीको मधुर आवाजले वातावरणलाई तपोभूमि बनाएको थियो ।
त्यही आश्रममा एक तेजस्वी ऋषि कठोर तपस्यामा लीन थिए । अप्सराले ऋषिको तेज देखिन् । उनलाई ऋषिको तपस्या र त्यसबाट उत्पन्न आध्यात्मिक शक्तिबारे जिज्ञासा जाग्यो । तर आफ्नो चञ्चल स्वभावका कारण उनले ऋषिको एकाग्रता भङ्ग गर्ने प्रयास गरिन् । उनी कहिले मधुर गीत गाउन थालिन्, कहिले नृत्य गर्न थालिन् त कहिले आश्रमको वरिपरि आकर्षक भावभङ्गिमासहित विचरण गर्न थालिन् । ऋषि सुरुमा मौन रहे । उनले आफ्नो ध्यान विचलित हुन दिएनन् । तर अप्सराको चञ्चलता बढ्दै गएपछि अन्ततः ऋषिले आँखा खोले। ऋषिका आँखामा अग्निसमान तेज थियो। उनको अनुहारमा आक्रोश स्पष्ट देखिन्थ्यो ।
ऋषिले गम्भीर स्वरमा भने, ‘हे स्वर्गकी अप्सरा ! तपस्याको महत्त्व नबुझी तिमीले मेरो साधनामा विघ्न पुर्यायौ । रूप र सौन्दर्यको अभिमानले तिमीलाई विवेकहीन बनाएको छ । तसर्थ, तिमीले आफ्नो कर्मको परिणाम भोग्नुपर्नेछ ।’ अप्सरा भयभीत भइन् । उनले हात जोडेर क्षमा मागिन्, ‘हे महर्षि ! मबाट ठूलो भूल भयो । म आफ्नो चञ्चलतामा विवेक गुमाउन पुगेँ । कृपा गरी मलाई क्षमा गर्नुहोस् ।’ तर ऋषिको क्रोध शान्त भएको थिएन ।
‘तिमीले मृत्युलोकको वनलाई खेलभूमि ठान्यौ । अब यही मृत्युलोकमा वनदेवीका रूपमा रहनू । तिम्रो स्वर्गलोकको स्वतन्त्रता समाप्त हुनेछ । तिमी वन, नदी, पँधेरा र एकान्त बाटाहरूमा विचरण गर्नेछौ । तिमीलाई मानिसहरूले कहिले देख्नेछन्, कहिले देखेर पनि चिन्न सक्नेछैनन् । तिम्रो उपस्थिति अनुभव हुनेछ, तर तिम्रो वास्तविक स्वरूप सबैका आँखाले देख्न सक्नेछैनन् ।’ श्राप सुन्नासाथ अप्सराको अनुहार मलिन भयो । उनले पुनः विनयपूर्वक भनिन्, ‘हे ऋषिवर! मेरो अपराधको दण्ड स्वीकार गर्छु । तर यस श्रापभित्र पनि लोककल्याणको कुनै मार्ग होस् । म असहाय, दुःखी र सहाराविहीन प्राणीको सहायक बन्न पाऊँ ।’ ऋषिको क्रोध केही शान्त भयो । उनले भने, ‘तिमी वनदेवीका रूपमा विचरण गर्नेछौ । तिम्रो शक्ति अहङ्कारका लागि होइन, लोककल्याणका लागि प्रयोग हुनेछ । तिम्रो मुक्ति समय र कर्मको विधानसँग बाँधिनेछ ।’ यति भनेर ऋषि पुनः ध्यानमा लीन भए ।
अप्सराको स्वर्गीय रूप क्रमशः अदृश्य हुँदै गयो । उनको शरीरमा वनको रहस्यमय आभा प्रकट भयो । उनी अब स्वर्गकी अप्सरा मात्र रहिनन् । मृत्युलोकको वनमा विचरण गर्ने एक रहस्यमयी शक्तिका रूपमा स्थापित भइन् । उनी उनरुवा नामकी वनदेवी बनेर बस्न पुगिन् । समय बित्दै गयो । मानिसहरूले उनलाई देखेको, अनुभूति गरेको र सहायता पाएको चर्चा गर्न थाले । कतै उनी वनदेवीका रूपमा पूजिन थालिन्, कतै कुनै अनौठो नामले चिनिन थालिन् । यसै क्रममा उनी यस क्षेत्रका मानिसहरूमाझ ‘उनरुवा’ नामले प्रसिद्ध हुँदै गइन् ।”
उनरुवाको चर्चा फैलिन थालेपछि गिलासपुरको डाँडासँग जोडिएका अनेक रहस्यमय घटनाहरू गाउँघरमा सुनिन र देखिन थाले । साँझ पर्न लाग्दा डाँडाको कुनै एक ठाउँमा टाढाबाट हेर्दा राँकोजस्तो देखिने उज्यालो बिस्तारै प्रकट हुन्थ्यो । सुरुमा त्यो एउटा मात्र हुन्थ्यो । मानिसहरूले त्यसलाई कुनै गोठालोले बालेको आगो होला भन्ठान्थे । तर केही बेरमै अर्को उज्यालो देखा पर्थ्यो। त्यसपछि अर्को, अनि फेरि अर्को। हेर्दाहेर्दै सयौँ राँका बलिरहेको जस्तो दृश्य देखिन्थ्यो । डाँडाभरि उज्यालाका बिन्दुहरू छरिएका हुन्थे । कुनै राँको स्थिर देखिन्थ्यो, कुनै चलिरहेको जस्तो लाग्थ्यो, कुनै एकैछिनमा निभेझैँ हुन्थ्यो ।
गाउँका बूढापाकाहरू भन्थे, “त्यो साधारण आगो होइन । वनको कुनै रहस्य हो। साँझपख वनदेवीहरूको विचरण हुँदा यस्तो देखिन्छ ।” कसैले त्यसलाई प्रेतात्माको खेल भन्थे, कसैले वनदेवीको लीला । कसैले प्रकृतिको कुनै रहस्यमय प्रभाव होला भन्थे । तर गिलासपुरको डाँडामा साँझपख देखिने त्यो दृश्यले मानिसहरूको मनमा कौतूहल र विस्मय उत्पन्न गरिरह्यो । एक जना वृद्धले आफ्ना नातिलाई सुनाएका थिए, “बाबु, आँखाले देखेको सबै कुरा हातले छुन सकिँदैन । वनका पनि आफ्नै रहस्य हुन्छन् । तिनलाई बुझ्न श्रद्धा, धैर्य र विवेक चाहिन्छ ।” कथा सुन्दै गर्दा रात बितेको पत्तै भएन । देवीको स्तुति गरियो, भजन–कीर्तनसँगै नाचगान र रमाइलो गरियो । लछुसहित सबै जनाले देउडा खेले ।
कैलासकुमार पाण्डेय
परशुराम–१२, डडेलधुरा