• २०८३ आश्विन २६, सोमबार

देवीप्रसाद वनवासीलाई पहिलो पोतपवित्रा–प्रवीण स्मृति राष्ट्रिय प्रतिभा पुरस्कार

स्याङ्जा ।

अग्रज साहित्यकार देवीप्रसाद वनवासीलाई पहिलो ‘पोतपवित्रा–प्रवीण स्मृति राष्ट्रिय प्रतिभा पुरस्कार–२०८३’ प्रदान गरिएको छ । स्याङ्जाको करादीखोलास्थित उपाध्याय निवासमा आयोजित अनौपचारिक समारोहमा वनवासीलाई पुरस्कार समर्पण गरिएको हो । कमला–ज्ञानप्रसाद उपाध्याय परिवारले आफ्ना स्वर्गीय बुबा–आमा पोतप्रसाद उपाध्याय र पवित्रादेवी उपाध्याय तथा छोरा चेतनारायण उपाध्याय ‘प्रवीण’को स्मृतिमा स्थापना गरेको पुरस्कारको राशि ११ हजार १ सय ११ रुपैयाँ रहेको छ ।

स्याङ्जाको वालिङ–त्रियासी, शङ्खरेडाँडामा १९९७ कात्तिक २७ गते जन्मिएका वनवासीले वि.सं. २०२० जेठमा माछापुच्छ्रेको काख नामक आफ्नो पहिलो साहित्यिक कृति प्रकाशित गरेका थिए। झ्याउरे लयमा लेखिएका कविताको उक्त कृतिबाट साहित्यिक यात्रा सुरु गरेका वनवासी नेपाली भाषा, साहित्य तथा लोकसंस्कृतिको क्षेत्रमा लामो समयदेखि सक्रिय छन् । नेपाली भाषा, वाङ्मय र लोकसंस्कृतिको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने राष्ट्रियस्तरका अग्रज तथा युवा स्रष्टालाई आलोपालो गरी प्रत्येक वर्ष सम्मान गर्ने उद्देश्यले ‘पोतपवित्रा–प्रवीण स्मृति पुरस्कार कोष’ स्थापना गरिएको हो। कमला–ज्ञानप्रसाद उपाध्याय परिवारले २०८१ सालमा कोष स्थापना गरेको हो ।

परिवारका तर्फबाट पुरस्कार कोषका संस्थापक रामचन्द्र उपाध्यायका अनुसार पुरस्कारको नगद राशि प्रत्येक वर्ष क्रमशः वृद्धि गरिनेछ। पहिलो वर्ष ११ हजार १ सय ११ रुपैयाँ, दोस्रो वर्ष १२ हजार २ सय १२ रुपैयाँ र तेस्रो वर्ष १३ हजार ३ सय १३ रुपैयाँ प्रदान गरिनेछ । त्यसपछि पनि यही क्रमअनुसार पुरस्कार राशि बढाउँदै लगिनेछ । पुरस्कारमार्फत अग्रज तथा युवा स्रष्टालाई सम्मान गर्दै नेपाली भाषा, वाङ्मय र लोकसंस्कृतिको संरक्षण तथा प्रवद्र्धनमा योगदान पु¥याउने उद्देश्य राखिएको परिवारले जनाएको छ ।