• २०८३ आश्विन १७, शनिबार

नित्यराज पाण्डेको ‘महाकवि देवकोटा’ पुनः बजारमा

काठमाडौं ।

नित्यराज पाण्डेद्वारा लिखित मदन पुरस्कारप्राप्त कृति ‘महाकवि देवकोटा’ पुनः बजारमा आएको छ । २०१६ सालको मदन पुरस्कार प्राप्त यस कृतिलाई गहिरो खोज तथा अन्वेषणका आधारमा तयार पारिएको देवकोटासम्बन्धी महत्त्वपूर्ण जीवनीपरक कृतिका रूपमा लिइन्छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाका पुत्र प्रा.डा. पद्मप्रसाद देवकोटाका अनुसार देवकोटाको जीवनीमा आधारित कृतिहरूमध्ये ‘महाकवि देवकोटा’ सबैभन्दा आधिकारिक र सत्यतथ्यमा आधारित कृति हो ।

कृतिमा देवकोटाको जीवनका विविध पक्षसँगै उहाँका साहित्यिक कृतिको समेत गहन अध्ययन गरिएको छ। त्यसैले देवकोटासम्बन्धी अध्ययन, अनुसन्धान र साहित्यिक खोजका लागि यो कृति उपयोगी मानिन्छ । स्तरीय मुद्रण र सहज उपलब्धताको अभावमा लामो समयदेखि पाठकको पहुँचबाट टाढिँदै आएको पुस्तकलाई इम्प्रिन्ट पब्लिशर्सले पुनः प्रकाशन गरी बजारमा ल्याएको हो ।

तीन सय चार पृष्ठको पुस्तकको मूल्य ७ सय ३९ रुपैयाँ तोकिएको छ। प्रकाशकका अनुसार ‘महाकवि देवकोटा’ नेपाली साहित्य, देवकोटा अध्ययन तथा समालोचनाका अध्येताका लागि सङ्ग्रहणीय कृति हो ।