समाचार
काठमाडौं ।
महिलावादी अनुसन्धानमा आधारित पुस्तक ८८‘महिला आन्दोलनको सहखोजी: सन्धान सङ्ग्रह’८८को दोस्रो संस्करण सार्वजनिक गरिएको छ । मंगलबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा आयोजित कार्यक्रममा पुस्तक सार्वजनिक गरिएको हो । द स्टोरी किचेन र त्रिभुवन विश्वविद्यालय (त्रिवि) लैङ्गिक अध्ययन केन्द्रीय विभागको सहकार्यमा प्रकाशित पुस्तकमा नेपालका महिला तथा महिलाभित्रका विविध समुदायका अनुभव, भोगाइ, संघर्ष र सामाजिक–राजनीतिक आन्दोलनमा उनीहरूको योगदान समेटिएको छ ।
पुस्तकमा २५ जना फेलो तथा लेखकका आलेख समावेश छन्। आलेखमा महिलाभित्रको विविधतासँगै दलित तथा आदिवासी जनजाति समुदायका अपाङ्गता भएका महिलाले भोगिरहेका बहुस्तरीय विभेद तथा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका सवाललाई समेत समेटिएको छ । पुस्तकको विमोचन त्रिवि मानविकी तथा सामाजिक शास्त्र सङ्कायका डिन प्रा.डा. दुबीनन्द ढकाल, द स्टोरी किचेनकी अध्यक्ष डा. जया लुईंटेल, कार्यकारी सदस्य निर्मला ज्ञवाली, विमोचन सम्पादक तथा मेन्टर डा. हरिकला अधिकारी, त्रिवि लैङ्गिक अध्ययन केन्द्रीय विभागकी प्रमुख जमुना शिवाकोटी, सिनासका कार्यकारी निर्देशक डा. मृगेन्द्रबहादुर कार्की तथा फेलो/लेखकहरूले संयुक्त रूपमा गरेका थिए ।
‘महिला आन्दोलनको वैकल्पिक इतिहास लेखन’
पुस्तकको समीक्षा गर्दै त्रिवि पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका प्रमुख प्रा.डा. कुन्दन अर्यालले पुस्तक नेपाली महिला आन्दोलनका लागि महत्त्वपूर्ण रहेको बताए। नेपाली समाजभित्रका वैकल्पिक विषय पहिचान गरी पुस्तकमा उठान गरिएको उनको भनाइ थियो । केही आलेख निकै सशक्त रहेको उल्लेख गर्दै उनले पुस्तक महिला आन्दोलन तथा समाजका अध्येताका लागि सन्दर्भ सामग्री बन्न सक्ने बताए । समाजशास्त्री डा. मीना पौडेलले एउटै वर्ग र उस्तै इतिहास लेखन भइरहेको सन्दर्भमा पुस्तकले इतिहास लेखनको वैकल्पिक यात्रा सुरु गरेको बताइन् । परम्परागत अनुसन्धान तथ्याङ्कमा केन्द्रित हुने भए पनि महिलावादी अनुसन्धान विधि त्यसभन्दा फरक रहेको उनको भनाइ थियो । महिलावादी अनुसन्धानमार्फत सामाजिक न्यायको लेखन पुस्तकमा समेटिएको बताउँदै पौडेलले सन्धान फेलोहरूले गरेका अनुसन्धान प्राज्ञिक उद्देश्यले वा प्राज्ञहरूले गरेका नभए पनि प्राज्ञिक ज्ञान निर्माणका लागि महत्त्वपूर्ण आधार बन्ने बताइन् ।
कार्यक्रममा ‘पुस्तान्तरण, विविधता र समावेशिताको दृष्टिकोणबाट पुस्तकको महत्त्व’ विषयमा युवा अधिवक्ता तथा अभियन्ता कुन्जनी परियार, महिला मानवअधिकारकर्मी श्यामकुमारी साह र जेनजी अभियन्ता मोनिको निरौलाले धारणा राखेका थिए। उनीहरूले पुस्तकले विविधताका सवाललाई महत्त्वका साथ समेटेको बताए । प्रमुख अतिथि डिन प्रा.डा. दुबीनन्द ढकालले पुस्तकमा उल्लेखित विषयमार्फत समाजमा बाहिर नआएका धेरै विषय खोतलिएको बताए। महिलाका वास्तविक अनुभव र भोगाइलाई समेटेर त्यसको सैद्धान्तीकरण गर्न पुस्तक आधार बन्न सक्ने उनको भनाइ थियो । सिनासका कार्यकारी निर्देशक डा. मृगेन्द्रबहादुर कार्कीले पुस्तकको आवरणमा प्रयोग गरिएको औँठाछापको अर्थ महत्त्वपूर्ण रहेको बताए। हरेक व्यक्तिको औँठाछाप फरक हुने भएकाले त्यसले आफ्नै पहिचानको सन्देश दिने र पुस्तकले पनि हरेक महिलाको आफ्नै पहिचान हुनुपर्ने आशय प्रस्तुत गरेको उनले बताए ।
‘महिलाको योगदानलाई इतिहासमा केन्द्रमा ल्याउने प्रयास’
द स्टोरी किचेनकी अध्यक्ष डा. जया लुईंटेलले ‘सन्धान’ले इतिहास पत्रकारिता लेखनको काम सुरु गरेको बताइन्। इतिहासको खोजी गर्न ‘आँखीझ्याल खोल्ने’ काम सुरु भएको उनको भनाइ थियो । नेपाली महिला तथा आमा–हजुरआमाका जीवनभोगाइ, संघर्ष र अनुभवबाट प्राप्त ज्ञानलाई प्राज्ञिक ज्ञानका रूपमा स्थापित गर्ने उद्देश्यले विश्वविद्यालयसँग सहकार्य गरिएको उनले बताइन् । द स्टोरी किचेनले ‘ज्भच–कतयचथ’ लेखनको काम गरिरहेको उल्लेख गर्दै लुईंटेलले यसको उद्देश्य इतिहासबाट पुरुषलाई हटाउनु नभई महिलाको योगदान, संघर्ष र भोगाइलाई पनि इतिहासको केन्द्रमा ल्याउनु रहेको स्पष्ट पारिन् । द स्टोरी किचेनकी कार्यकारी सदस्य निर्मला ज्ञवालीले फेलोसिपको सुरुवातदेखि पुस्तक प्रकाशनसम्म सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरिन्। आगामी दिनमा पनि ‘ज्भच–कतयचथ’ लेखनलाई निरन्तरता दिँदै विभिन्न विश्वविद्यालयका विभाग तथा संघसंस्थासँग सहकार्य गरिने उनले बताइन् ।
त्रिवि लैङ्गिक अध्ययन केन्द्रीय विभागकी प्रमुख जमुना शिवाकोटीले विभागले विगत ७–८ वर्षदेखि यस्ता काममा सहकार्य गर्दै आएको बताउँदै आगामी दिनमा पनि सहकार्यलाई निरन्तरता दिने बताइन् । द स्टोरी किचेनका कार्यक्रम तथा कार्यालय प्रमुख गार्डिका बज्राचार्यले नेपाली महिलाका वास्तविक भोगाइ तथा सामाजिक–राजनीतिक परिवर्तनमा उनीहरूको योगदान र भूमिका महत्त्वपूर्ण भए पनि औपचारिक इतिहासमा महिलालाई सहायक भूमिकामा मात्र उल्लेख गरिएको बताइन् ।
अनदेखा गरिएका महिलाका भोगाइ, संघर्ष र ज्ञानलाई अभिलेख गर्ने उद्देश्यले पुस्तक प्रकाशन गरिएको उनले बताइन्। पुस्तक सार्वजनिक कार्यक्रम मात्र नभई नेपालका विविध महिला आन्दोलन, संघर्ष, नेतृत्व, योगदान, अनुभव र ज्ञानलाई सहखोजी तथा सहलेखनमार्फत दस्तावेजीकरण गर्ने सामूहिक प्रयासको उत्सव भएको उनको भनाइ थियो ।
‘सन्धान’ द स्टोरी किचेनले सुरु गरेको महिलावादी अनलाइन पोर्टल हो। द स्टोरी किचेनले सन् २०२२ देखि हरेक वर्ष पत्रकार, लेखक तथा विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीका लागि ‘सन्धान फेलोसिप’ प्रदान गर्दै आएको छ ।
फेलोसिपअन्तर्गत पहिलो र दोस्रो ब्याचका २१ जना फेलो लेखकले लेखेका आलेखको संग्रह ‘महिला आन्दोलनको सहखोजी: सन्धान सङ्ग्रह शृङ्खला–१’ सन् २०२४ मा प्रकाशन भइसकेको छ ।
