• २०८३ आश्विन ९, शुक्रबार

जयदेव भट्टराईलाई भर्जिनियामा स्वागत तथा सम्मान

भर्जिनिया, अमेरिका ।

अमेरिका भ्रमणमा रहेका साहित्यकार तथा साहित्यिक पत्रकार जयदेव भट्टराईको स्वागत तथा सम्मानमा भर्जिनियामा एक कार्यक्रम आयोजना गरिएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) डिसी मेट्रो च्याप्टर, विश्व हिन्दू महासङ्घ अमेरिका तथा अमेरिका नेपाल साहित्य प्रतिष्ठानको संयुक्त आयोजनामा भएको कार्यक्रममा अनेसास डिसी मेट्रो च्याप्टरका अध्यक्ष नीलकण्ठ सुवेदी, विश्व हिन्दू महासङ्घ अमेरिकाका संस्थापक अरूण रुपाखेती र अमेरिका नेपाल साहित्य प्रतिष्ठानका अध्यक्ष गोविन्द गिरी ‘प्रेरणा’ले आ–आफ्नो संस्थाको तर्फबाट भट्टराईलाई खादा लगाएर स्वागत गरेका थिए ।

कार्यक्रममा तीनवटै संस्थाको तर्फबाट तयार पारिएको संयुक्त सम्मानपत्र अनेसासका संस्थापक अध्यक्ष तथा साहित्यकार होमनाथ सुवेदीले भट्टराईलाई प्रदान गरेका थिए। सम्मानपत्रको व्यहोरा गोविन्द गिरी ‘प्रेरणा’ले वाचन गरेका थिए । सम्मानपछि बोल्दै जयदेव भट्टराईले आफू पारिवारिक भ्रमणका क्रममा अमेरिका आएको भए पनि आफ्नो स्वागत तथा सम्मानमा साहित्यिक कार्यक्रम आयोजना गरिएकोमा आयोजकप्रति आभार व्यक्त गरे। उनले आफ्नो लेखनको पृष्ठभूमि, साहित्यिक लेखन तथा सम्पादन यात्राका अनुभवसमेत सहभागीमाझ साझा गरेका थिए ।

अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदीले अमेरिकामा, विशेषगरी वासिङ्टन डिसी क्षेत्रमा नेपाली साहित्यिक गतिविधिको प्रारम्भिक अवस्थाबारे चर्चा गरेका थिए। कार्यक्रममा उपस्थित साहित्यकार तथा सहभागीहरूले भट्टराईसँग विभिन्न विषयमा जिज्ञासा राखेका थिए भने उनले जिज्ञासाको जवाफ दिएका थिए । कार्यक्रमका आयोजकमध्येका एक तथा विश्व हिन्दू महासङ्घ अमेरिकाका संस्थापक अरूण रुपाखेतीले जयदेव भट्टराई आफ्नो सखा भएको उल्लेख गर्दै बाल्यकालका संस्मरणसमेत सुनाएका थिए। उनले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गरे । कार्यक्रमको प्रत्यक्ष प्रसारण डिसी मेट्रो क्षेत्रबाट सञ्चालित लोकप्रिय अनलाइन पत्रिका ईनेप्लिजले गरेको थियो ।