• २०८३ भाद्र १८, बिहीबार

स्वर्गीय रविनदास श्रेष्ठद्वारा लिखित ‘राग मञ्जरी’ सार्वजनिक

काठमाडौँ ।

सङ्गीतज्ञ स्वर्गीय रविनदास श्रेष्ठद्वारा लिखित रागहरूको सङ्ग्रह ‘राग मञ्जरी’ सार्वजनिक भएको छ । नेपाल शास्त्रीय सङ्गीत समाजको आयोजनामा सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) मा आयोजित कार्यक्रममा विभिन्न सङ्गीतज्ञ तथा स्रष्टाले कृति लोकार्पण सङ्गीता प्रधानको सभापतित्वमा भएको कार्यक्रममा सङ्गीतज्ञ ज्ञानुराधा गोर्खाली, शास्त्रीय गायक धनबहादुर गोपाली, प्रा. दीपक जङ्गम, प्रा.डा. ध्रुवेशचन्द्र रेग्मी, प्रा.डा. रमेश पोखरेल, डा. अञ्जु उप्रेती, प्रा.डा. वेणी रावल र सुशीला आमात्यलगायतले संयुक्त रूपमा कृति सार्वजनिक गर्नुभएको थियो ।

स्वर्गीय श्रेष्ठको दोस्रो वार्षिक पुण्यतिथिका अवसरमा सार्वजनिक गरिएको कृतिमा उहाँले स्नातक तथा स्नातकोत्तर तहका विद्यार्थीलाई अध्यापन गराउने क्रममा सिर्जना गरेका रागका बन्दिसहरू समावेश छन् । कृतिमाथि धारणा राख्दै सङ्गीतज्ञ धनबहादुर गोपालीले ‘राग मञ्जरी’ सङ्गीतका स्नातक तथा स्नातकोत्तर तहका विद्यार्थीका लागि उपयुक्त ढङ्गले तयार पारिएको पहिलो पुस्तक भएको बताउनुभयो । उहाँका अनुसार कृतिमा १६० भन्दा बढी रागका बन्दिस समावेश छन्, जसमा प्रचलित तथा कम प्रचलनमा रहेका रागसमेत समेटिएका छन् ।

सङ्गीतकार प्रा. दीपक जङ्गमले स्वर्गीय श्रेष्ठले छोटो समयमै धेरै महत्त्वपूर्ण काम गरेको स्मरण गर्दै उहाँको अभाव अहिले पनि खड्किरहेको बताउनुभयो । त्यस्तै, प्रा.डा. रमेश पोखरेलले आफूले सङ्गीतका धुरन्धर विद्वान् तथा असल मित्र गुमाएको उल्लेख गर्दै ‘राग मञ्जरी’ ले स्वर्गीय श्रेष्ठलाई जीवन्त राख्ने बताउनुभयो । डा. ध्रुवेशचन्द्र रेग्मीले ‘राग मञ्जरी’ नेपाली सङ्गीतको भण्डार समृद्ध बनाउन सक्षम रहेको बताउँदै यसबाट नेपाली शास्त्रीय सङ्गीतका विद्यार्थी लाभान्वित हुने धारणा राख्नुभयो ।

कार्यक्रममा अञ्जु उप्रेती, ज्ञानुराधा गोर्खाली र चन्द्ररवि श्रेष्ठले पनि मन्तव्य राख्नुभएको थियो । समाजका महासचिव गोकुल लिम्बूले सञ्चालन गरेको कार्यक्रममा स्वर्गीय श्रेष्ठका विद्यार्थी निशा देशार, गायत्री रानामगर, सपना थापामगर, सानु तामाङ, अनिता महर्जन र सरस्वती अधिकारीले गायन प्रस्तुत गर्नुभएको थियो । उनीहरूलाई हार्मोनियममा श्री केसी र तबलामा अजय चौधरीले साथ दिनुभएको थियो । ‘राग मञ्जरी’ पुस्तक पेज टर्नर प्रा.लि.ले प्रकाशन गरी बजारमा ल्याएको हो ।